गृह » पाँच गजल
साहित्य

पाँच गजल

—सङ्गीत आयाम

राज्य आतंक ओहो ! कति बढ्दो तान्ला जस्तो छ
गाई पुज्ने देशमा साँढे हुँदै हान्ला जस्तो छ

डा. केसी अनशनमा देश गम्भीर बिरामी
बोक्सी र धामी आफैँ परम्परा धान्ला जस्तो छ

जनताको लागि लड्ने सहिद हुन्छन् यसरी
शासक नजिरलाई नै न्याय ठान्ला जस्तो छ

देश चलाउने कस्ता माफियाका राजा जस्ता
घूसखोरीले देशलाई पूरै बान्ला जस्तो छ

‘घोर दमन बन्द गर’ हाम्रो एउटै स्वर
शोकलाई शक्ति बनायौँ भने मान्ला जस्तो छ
१.

भरतपुरले मेयर हाम्रो नै पाउनुपर्छ अब
जनमतको कदर गरौँ गीत गाउनु पर्छ अब

तमासामात्रै धेरै हे¥यौँ विलम्ब त हुनुसम्म भयो
हाम्रो सुखदुःखको साथी बनेर छाउनु पर्छ अब

दुई–चार दिनको जिन्दगीमा दुश्मनी आखिर किन ?
जेजे भयो सबै छोडौँ मायाप्रिती लाउनु पर्छ अब

सर्वोपरि हुन्छन् जनता तिनकै महिमा, शक्ति ठूलो
जनता नै तीर्थस्थल र भगवान् धाउनु पर्छ अब

प्रतिनिधि सेवक हाम्रा सेवा गर्नु नै तिनको धर्म
जितको उन्मादमा धरती छोडे दाउनु पर्छ अब
२.

ए मान्छे ! आकाशमा नउड है झरिन्छ जीवनमा
नरोप घृणा नत्र चक्रव्यूहमा परिन्छ जीवनमा

आफूअनुकूल राम्रो प्रतिकूल हुँदा शत्रु बन्छ
कहिले सोच्छ मान्छे एकदिन मरिन्छ जीवनमा

आज यहाँ भोलि कहाँ कहाँ यायावर न हो मान्छे
समयको आदेश छ बसाइँ सरिन्छ जीवनमा

केही लेखौँ शेयर गरौँ दुश्मनी किन आफ्नासँग
खाली ठाउँ भर्ने न हो अवश्य भरिन्छ जीवनमा

म आयाम हुँ समयको धुनहरुको सङ्गीत हुँ
सङ्गत गर्दै हेर मधुरता छरिन्छ जीवनमा
३.

मैले तिमीलाई जगाएर के भो ?
प्रेमिल मन छ भगाएर के भो ?

सम्झ विगतका दिनरातहरु
आफूदेखि टाढा धपाएर के भो ?

यस्तै नै हुन् पल, छिन र प्रहर
उस्तै नआऊलान् नआएर के भो ?

गुजार्नै पर्छ जिन्दगी कसैसँग
अरुको ठाउँमा मै आएर के भो ?

आयाम हुँ मीठो साथ सदा दिन्छु
अमूल्य छ आँसु बगाएर के भो ?
४.

किन होला आयो याद
मज्जासँग छायो याद

भावुक बन्यो मौसम
प्रेमिल बनायो याद

प्रिय तिमी धेरै टाढा
चौपट्टै सतायो याद

प्रेमी हुँ प्रेम जान्दछु
गीत बन्दै गायो याद

ए झरी ! तिमीजस्तै ऊ
निथ्रुक्क रूझायो याद
५.

 

Comments

About the author

चितवन पोष्ट