गृह » बर्साद्को महिना          
साहित्य

बर्साद्को महिना          

— महेन्द्र कोइराला   
आयो है महिना वर्षाको झमझम झरी सुृरू भो लहै
वर्षा भो घनघोरसँग जलको आनन्दमा छन् सबै
गर्जी मेघ कराउँदा गगनमा ढोलक बजे झैँ भयो
चम्किन्छन् बिजुली असाध्य भवमा बर्साद्मा नै अहो ।।

देखियो धरती सफा ल हरियो तन्ना कसेको सरी
डाँडामा पनि मूल फुटे र रसिला भर्ना झरे बेसरी
सारै मोहक भो धरा पनि अहा पाखा पखेरा सब
यस्तो सुन्दर दृश्यले कविहरु गर्छन् मीठो सिर्जन ।।

काला बादल जोरले घनघटा बर्साउँदै नै
जल उर्लिन्छन् खहरे सुसाई बहुतै पानी परेका
दिन भाका हाली कराउँदै छ जलको निम्तो दिँदै
भ्यागुता मीठो ताल र सुरमा स्वर दिँदा संगीत छायो अहा ।।

रोपाहार लिँदै बीउ छुपछुपी रोप्छन् गरा खेतमा
कोदाली लिई बाउसे दबदबे खेल्छन् हिलो है त्यहाँ
रोप्छन् धान मधुर गीत सुरिला गाएर रोपाहार
गुन्जाइ सब खेत भीर पखेरा, डाँडा र पाखा सब ।।

चर्को घाम भओस् तथापि पनि क्यै अल्छी नमानीकन
दर्कियोस् जल जोरले पनि सदा रूझ्दै र भिज्दै जन
वारि खेत भिजाउँदै कृषकले नारे गोरू खेतमा
मानो खाई मुरी फलाउन सदा छन् है तयारी यहाँ ।।

Comments

About the author

चितवन पोष्ट