गृह » डा. केसीलाई मर्न नदेऊ
सम्पादकीय

डा. केसीलाई मर्न नदेऊ

आमनेपालीको पहुँचमा गुणस्तरीय चिकित्सा शिक्षा र सेवा पु¥याउने सपना बोकेर पाँच वर्षदेखि श्रृंखलाबद्ध रुपमा अनशन बस्न बाध्य डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भइसकेको छ । डा. केसीको आमरण अनशन आज शनिबार २० औँ दिनमा प्रवेश गरेको छ । उनका माग सम्बोधन गर्नुभन्दा पनि सरकार व्यापारी, नेता, सांसद्कै चङ्गुलमा फसेको अनुभूति गर्न थालिएको छ । डा. केसीले मेडिकल क्षेत्र ‘माफिया’ले चलाएको आरोप लगाएका छन् । उनको आरोपलाई असत्य सावित गर्न सक्ने क्षमता न त सरकारसँग छ, न त राजनीतिक दलहरुसँग । चिकित्सा शिक्षा र स्वास्थ्य अधिकारका लागि आफ्नो लडाइँ माफियासँग रहेको पटकपटक दोहो¥याउँदै आएका डा. केसीले तिनै माफियातन्त्रमा शक्तिकेन्द्रहरुको मिलेमतो रहेको आरोप प्रमाणित भइसकेको छ । चिकित्सा शिक्षा क्षेत्रका विकृति हटाउन माग गर्दै पटकपटकको अनशनपश्चात् त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाको संयोजकत्वमा चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न उच्चस्तरीय कार्यदल गठन भएको थियो । माथेमा आयोगको प्रतिवेदनअनुसार कानुन निर्माण गर्न प्रस्ताव गरिएको विधेयक संसद्को महिला बालबालिका तथा समाजकल्याण समितिमा पारित हुने क्रममा छ ।
डा. केसीको ११ औँ अनशनको माग पनि माथेमा आयोगको प्रतिवेदनअनुरुप चिकित्सा शिक्षा ऐन तुरून्त पारित गरियोस् भन्ने नै रहेको छ । तर, डा. केसीको मागमा सहमति खोज्न बनेको संसदीय कार्यदलले विधेयकलाई अझै लचिलो बनाउँदै आसयपत्र पूर्वाधार निर्माण गरेका कलेजलाई सम्बन्धन दिने व्यवस्था गर्न प्रस्ताव गरेको छ । डा. केसीले पूर्वाधार निर्माणका नाममा सम्बन्धन दिन नहुने अडानमा छन् । विभिन्न राजनेताका नाममा निजी एवम् नाफामूलक संस्थान खोलेर उनीहरुको सम्मान होइन, अपमान हुने ठहर डा. केसीको छ । राजनेताका नाममा सहरी क्षेत्रमा निजी तथा नाफामूलक संस्था खोल्नुभन्दा प्रदेशका गाउँबस्तीमा सरकारी संस्था खोल्न सकिए गाउँगाउँका सर्वसाधारण, रोगी र पीडितका लागि सेवा पुग्ने सपना उनले देखेका छन् । डा. केसीको अनशनलाई राजनीतिक रङ्गमा मिसाउने दुस्साहस तिनै माफियाबाट भइरहेको छ । किनभने, चिकित्सा शिक्षा र सेवालाई व्यवसायसँग जोड्न नहुने तर्क प्रस्तुत गरेर डा. केसीले तीन करोड नेपालीको भावना बोलिरहेका छन् ।
चिकित्सा शिक्षा र सेवामा व्यापारीकरण बढ्दै जाँदा गुणस्तरीयतामा ह्रास आउने दृष्टान्त त भर्खरै मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा देखिइसकेको छ । मुलुककै मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेकाहरुको लाइसेन्स परीक्षाको परिणाम हेर्दा डा. केसी किन सत्याग्रहको कठिन परीक्षामा उत्रिएका छन् भन्ने छर्लङ्ग हुन्छ । उत्कृष्ट भनिएका मेडिकल कलेजहरुमा अध्ययन गरेका एमबीबीएस उत्तीर्ण विद्यार्थीले सामान्य स्तरको लाइसेन्स परीक्षामा ३५ प्रतिशत फेल हुन्छन् भने चिकित्सा शिक्षामा गुणस्तरीयता छ भनेर कसरी भन्न सकिन्छ । च्याउसरी खुलेका मेडिकल कलेजले उत्पादन गर्ने यस्ता (अ)सफल डाक्टरहरुले कसरी सर्वसाधारणलाई स्तरीय सेवा प्रदान गर्न सक्छन् ? चिकित्सा क्षेत्रमा देखिएका तमाम विकृति चिर्नकै लागि डा. केसीले अनशनको अस्त्र प्रयोग गरेका हुन् । उनको अभियानमा विद्यार्थीदेखि पेसाकर्मी, चिकित्सकदेखि नागरिक समाज सबैले डा. केसीको नैतिकताको लडाइँमा साथ दिँदै उनको जीवनरक्षाका लागि दबाब दिन आवश्यक छ । डा. केसी बाँच्नु भनेको देशको नीति–नियम, निष्ठा–नैतिकता, स्वाभिमान–सदाचार र नैतिकतासमेत बाँच्नु हो । तसर्थ, देशलाई माफियातन्त्रबाट जोगाउन सबै मिलेर डा. केसीलाई मर्न दिनुहुँदैन । डा. केसीप्रति हाम्रो पनि प्रतिबद्धता !

Comments

About the author

चितवन पोष्ट