गृह » खबरदारी गर्न कविहरु सडकमा
प्रमुख समाचार

खबरदारी गर्न कविहरु सडकमा

तुलमान गुरूङ
भरतपुर । काठमाडौँमा आमरण अनशनरत डा गोविन्द केसीको समर्थनमा चितवनका कविहरू सडकमा ओर्लिएका छन् ।
चितवनका १८ वटा साहित्यिक संघसंस्थाहरूले संयुक्तरूपमा आयोजना गरेको ‘सडकमा कविता’ कार्यक्रममा ४२ जना कवि तथा गजलकारहरूले आ–आफ्ना सिर्जनामार्फत सरकारलाई खबरदारी गरेका छन् । भरतपुरको चौबिसकोठीस्थित सोलिडारिटी फर डा केसी एलायन्स चितवनले बुधबारदेखि सुरू गरेको रिले अनशनस्थलमा उनीहरूले डा केसीको पक्षमा सशक्त कविताहरूमार्फत चर्को दबाब दिएका छन् ।
कवि भूपिनले लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’ कविता सुनाएर सुरू गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् गीतकार प्रेमविनोद नन्दनले व्यङ्ग्यात्मक कविता सुनाएर कार्यक्रमको विधिवत्रूपमै उद्घाटन गरे । डा केसीका मागहरूप्रति नेपाल सरकार मुकदर्शक बनिरहेका बेला उनको समर्थनमा कविहरूले कवितामार्फत तीखो व्यङ्ग्य प्रहार गरे । डा केसीको स्वास्थ्य अवस्था पनि दिनानुदिन कमजोर बन्दै गएको भन्दै उनको जीवनरक्षाका लागि पनि सरकारसँग कवितामार्फत माग गरे ।
बाक्लो झरीको बाबजुत पनि कविहरूको बाक्लो उपस्थिति भएको कार्यक्रममा विभिन्न डा केसीका जायज मागहरू पूरा गर्नुपर्ने भन्दै ४५ भन्दा बढी कविता सुनाइएका थिए । ४२ जनाको भीडमा कवि एवम् गजलकारद्वय प्रभाकर पण्डित र रमेश प्रभातले भने गजलमार्फत सरकारलाई खबरदारी गरे । कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी, डा धनेश्वर भट्टराई, ईश्वर कँडेल, डा सुजाता पन्त, धनराज गिरी, इन्द्र रेग्मी, तीतेपातीलगायतका कविहरूले कविता सुनाएका थिए ।
सरकारले नेपालको स्वास्थ्य शिक्षालाई चाउचाउ र चटपटको व्यापार सम्झेको भन्दै यसको अन्त्य हुनुपर्ने बताएका थिए । डा केसीको समर्थनमा आज शुक्रबार साँझ ७ बजे चितवनसहित देशभरका कविहरूले एकसाथ उनको समर्थनमा सामाजिक सञ्जाल फेसबुकमा कविता पोष्ट गर्ने कार्यक्रम रहेको कवि भूपिनले बताए । देशको सकारात्मक परिवर्तनको लागि चितवनमा समयसमयमा सडकमा कविता कार्यक्रम हुँदै आएको छ । यसअघि भारतले गरेको अघोषित नाकाबन्दीविरूद्ध पनि नारायणगढमा सडकमा कविता कार्यक्रम आयोजना गरिएको थियो ।
साथै सोलिडारिटी फर डा केसी एलायन्स चितवनले भोलि शनिबार भरतपुरको चौबिसकोठीदेखि पुलचोकसम्म छाता ¥यालाीको आयोजना गर्ने भएको छ । कार्यक्रममा छातासहित उपस्थिति भइदिनका लागि एलायन्सले इच्छुक सम्पूर्णलाई आग्रहसमेत गरेको छ ।

Comments

About the author

चितवन पोष्ट