गृह » नदीलाई हराउने झारपातको कथा
विचार

नदीलाई हराउने झारपातको कथा

—लक्ष्मण भण्डारी

प्रकृति अपार सौन्दर्यको निधि हो । यसले आपूmमा अनेकन ज्ञानविज्ञानको भण्डारण पनि गरेको छ । प्रकृति जति आवरणमा सुन्दर छ, त्यति नै आन्तरिक रहस्य र शक्तिले पनि पूर्ण छ । नदीनाला, वनजङ्गल, पशुप्राणी, हिमालपहाड, छहराछाँगा र अनेकन बोटबिरूवाको समन्वयले प्रकृतिको शोभा यति शोभनीय बनेको हुन्छ । नदीहरु जीवनका प्रतिबिम्ब हुन् । हिमालको फेदबाट सागरको अतल गहिराइसम्मको यात्रा नै नदीको जीवनकहानी हो । नदीहरुले यसबीचमा जेजस्ता अनुभूतिहरु सँगाल्छन्, ती सबै अनुभूतिहरु सागरमा समर्पण गर्नु सबै नदीहरुको नियति हो ।
कतै एउटा नदी बगिरहेको थियो । उसको बगाइमा सबै ऋतुहरु क्रमशः पोखिन आइपुग्थे । वर्षात्देखि लिएर वसन्तसम्मका अनुभूतिहरुका भिन्नभिन्न रङ लिएर ऊ वर्षौंदेखि यसरी नै बगिरहेको थियो । वसन्तको समयमा नदी सुशीतल शान्त बगिरहेको हुन्थ्यो । वरपर भीरपहरा र वनजङ्गलमा पलाएका पालुवाको दर्शन गर्दै गन्तव्यतिर एकनासले ऊ हिँडिरहेको देखिन्थ्यो । सायद नदीहरु वसन्तमा सर्वाधिक शान्त हुने गर्दछन् । नदीको पानी यति सङ्लो थियो कि भित्रका ढुङ्गा र बालुवा पनि प्रस्ट देखिन्थे ।

गृष्म ऋतु सुरू भयो । मानिसहरु गर्मीका कारण त्यही नदीमा आएर स्नान गर्न सुरू गरे । मानिसका जमेका मयलका पत्रपत्र पखाल्न पाउँदा उसले आपूmलाई कुनै बुद्ध पुरूष भएको अनुभूति गर्दथ्यो । साँच्चै नै नदीको चिसो मानिसको तातो र गर्मी भगाउने संजीवनी बनेको थियो । आफ्नो जीवन परोपकारमा बित्दै छ भन्ने सम्झँदा नदीलाई पनि विशेष आनन्द हुने गर्दथ्यो ।

वर्षाको समय आयो । आकाश गड्गडाएर मुसलधारे पानी पर्न थाल्यो । बिस्तारै आसपासका खहरेहरु पनि पानी लिएर आउन थाले । वरपरका खोलानाला र अनेकन खहरेहरुको पानी लिएर बग्दाबग्दै नदी विशाल देखिन थाल्यो । धेरैको सम्पर्कमा नदीले आफ्नो आयाम त फराकिलो पारेको थियो तर जुन स्वच्छता र पवित्रता हिजोका दिनमा थियो, आज त्यो हराएर गयो । नदीलाई लाग्न थाल्यो— ‘वाह, म कति विशाल भएँ । सबै खोलानाला र खहरेहरुको पानी मेरो गर्भमा आएका छन् । म आज अपार जलसम्पदाको मालिक भएको छु । सायद मभन्दा धनी नदी संसारमा छैन ।’

उसले आफ्नो हैसियत बिस्र्यो, मूल्य र मर्यादा सबै बिस्र्यो । उससँग हिजो धेरै पानी थिएन, तर शान्त थियो, स्थिर र पवित्र थियो । सानै भए पनि उसका सबै थिए । मानिसहरु उसको निर्मल जल पान गर्न, शिरमा छर्कन, स्नान गर्न र स्पर्श गर्न पाउँदा जीवन नै धन्य भएको महसुस गर्दथे तापनि वर्षात्को भेललाई नै उसले सत्य ठान्यो ।
नदीको पानी धमिलो भइसकेको थियो । ऊ वसन्त र शिशिरमा जस्तो शान्त, स्थिर र गम्भीर थिएन आज । उसको आवाज पनि चर्को भएको थियो । उसका आँखा बन्द भए । ऊ विशाल भएको घमण्डमा केही नदेख्ने भयो, केही नसुन्ने भयो । हिजोभन्दा आज ऊ बलशाली भएको थियो । किनारमा ठडिएका ठूलाठूला बोटबिरूवा उखेल्दै भयङ्कर गर्जनका साथ नदी बग्न थाल्यो ।
मानिसहरु बरू पङ्खा लगाएर घरभित्रै बस्न थाले तर त्यो नदीमा स्नान गर्न गएनन् । अरु समयमा पानी पिउन जाने पशुचौपायाहरु पनि नजिक जान छाडे तर बाढी बनेर बगिरहेको नदीलाई यसको कुनै चिन्ता थिएन । अरु समयमा खाली भएर बसेका खहरेहरु वर्षात्को भेल लिएर आएका मात्र हुन्, भोलि फेरि यी गुफा पस्नेछन् भन्ने भेऊ नदीले पाउन सकेन । वर्षात्को भेलबाढी केही समयको मात्र हो भन्ने सत्यबोध गर्ने समय यतिखेर नदीले कहाँ पाउनु !?
केही समयको भेल र बाढीको आवेशमा नदीले किनारका धेरै घर र टहराहरु भत्काउन थाल्यो । बोटबिरूवाहरुलाई जरैदेखि उखेल्नुमा उसले गौरवबोध ग¥यो । कति उर्वर जमिन कटान गरेर नदीले त्यहाँ बगर बनाइदिएको थियो, सबैलाई बढारेको थियो, केही बाँकी रहन दिएन ।

नदीकिनारमा भएका घर, मानिस, पशु, बोटबिरूवा सबैलाई लिएर नदी समुद्र्रसम्म पुग्यो । ऊ अचम्मसँग उत्साहित भएको थियो । यति ठूलाठूला रुखहरुलाई पनि सजिलै जरैदेखि उखेलेर समुद्रसम्म ल्याइपु¥याएकोमा ऊ कम्ती खुसी थिएन । आउनासाथ समुद्रलाई सम्बोधन गर्दै नदीले भन्यो— ‘हेर समुद्र, म कति बलशाली रहेछु । यति ठूलाठूला बोटबिरूवा, पशुप्राणी, ढुङ्गामुढा र मानिससमेत सबैलाई सजिलै बगाएर ल्याएको छु । भन तिमीलाई के चाहियो ? केही छ, जुन मैले तिमीलाई लिएर आइदिऊँ ? तिमी मैले के लिएर आइदिए हुन्थ्यो भन्ने ठानेका छौ ?’

शान्त समुद्रले गम्भीर स्वरमा भन्यो, ‘मलाई केही चाहिएको छैन । तिमीलेजस्तै धेरै नदीहरुले बगाएर ल्याएका पशुप्राणी, बोटबिरूवा र ढुङ््गामुढा प्रशस्त छन् तर पनि यदि तिमी मेरा निम्ति केही नल्याई नछोड्ने मनस्थितिमा छौ भने म तिमीसँग कोमल र मुलायम घाँसको अपेक्षा गर्दछु । यदि ल्याउने नै भए जाऊ मलाई कोमल घाँसका केही त्यान्द्रा लिएर आऊ ।’
समुद्रको इच्छा पूरा गरिदिने निहुँमा समुद्रमा मिसिएको नदी तत्कालै आकाशको बाटो हुँदै वाफ, बादल र पानी बनेर हिमालयका फेदबाट पुन बग्न थाल्यो । उसले किनारमा रहेका घाँसहरुतिर दृष्टि दियो । सबै घाँसका त्यान्द्राहरुले ऊसतिर फर्किएर साष्टाङ्ग दण्डवत् गरिरहेका देख्यो । जति घाँस र झारपातहरुलाई नदीले हे¥यो, सबैको शिर जमिनमा लत्रिएको थियो, झुकेको थियो । नदी नजिकै गयो उनीहरुलाई बगाउन खोज्यो, तर असफल भयो । उसको प्रवाहले जमिनमा लम्पसार भएर प्रणाम गरिरहेका छन् भैmँ लाग्ने अत्यन्त कोमल र मुलायम झारपातका जराहरु कहाँ छन्, कुनै सुइँको पाउन सकेन ।

नदी आश्चर्यचकित भयो । यति ठूलाठूला र कठोर ढुङ्गामुढाहरुलाई मुन्ट्याउँदै समुद्रसम्म पु¥याएको सम्झनाका अगाडि कोमल घाँसको त्यान्द्रालाई केही गर्न नसकेको सन्दर्भले नदीलाई लज्जित तुल्यायो । मुन्टो निहु¥याएर नदीको किनारमा बसेका घाँस र झारपातजस्तै भएर नदी समुद्रका अगाडि उभियो । उसको शिर पनि घाँसका त्यान्द्रा झुकेजस्तै तल झुकेको थियो यतिखेर ।
उसको भावभङ्गिमा र झुकेको शिरका कारण सत्य कुरा थाहा पाउन समुद्रलाई गा¥हो भएन । उनी नदीतिर फर्किएर हाँस्दै भने, ‘प्रिय नदी, यो केको आश्चर्य हो ? नदीको किनारमा ठडिएका ठूलाठूला रुख र भवनहरु ढाल्न सक्ने तिमी किन सामान्य घाँसपात र दूबोका अगाडि यसरी निरीह बनेर फक्र्यौ ?’
नदीले जवाफ फर्कायो— ‘म के गरुँ समुद्र, म जब घाँसलाई उखेल्न खोज्छु, ऊ झुकेर जमिनमा लम्पसार परिदिन्छ । जमिनसँगै मिलेपछि मेरो पानीको धार उसमाथि बग्न थाल्छ, तर ऊ बग्दैन । बोटबिरूवाहरु मेरो प्रवाहका विरूद्ध हुन्थे र पो तिनलाई उखेल्न सजिलो हुन्थ्यो ! तर घाँसपात र दूबोहरु त मेरो धारसँगै झुकिदिँदा रहेछन् । पहिल्यै झुकिदिनेहरुलाई जित्ने कुरा कहिल्यै सम्भव हुँदो रहेनछ समुद्र । सयौँ प्रयासका बाबजुद म असफल भएर फर्किएको छु ।’
समुद्रले रहस्यको पोको खोल्दै नदीतिर फर्किएर भने— ‘प्रिय नदी, प्रकृतिको नियम नै यस्तै छ । कोमलहरुलाई जित्न सकिँदैन, कोमलहरुले नै जित्दछन् । झुक्नेहरुलाई झुकाउन सकिँदैन, झुक्नेहरुले नै झुकाउँछन् नझुक्नेहरुलाई जसरी तिमी शिर झुकाएर फर्किएका छौ । तिमी यहाँबाट जाँदा कति अभिमानका साथ गएका थियौ ? सम्झ त । तिम्रो शिर ठडिएको थियो । तिम्रो अभिमानमा धेरैले प्राण गुमाउनु परेको थियो । त्यही ठडिएको अभिमानी शिर लिएर

झारपातहरुलाई उखेल्न गएका थियौ, तर तिनै झारपातले तिम्रो घमण्डको जुँगा उखेलेर पठाइदिएका छन् । झुकेका ती दूबो र झारपातहरुले तिमीलाई पनि आपूmजस्तै बनाएर पठाइदिएका छन्, अर्थात् तिमी पनि यतिखेर मेरा अगाडि झुकेका छौ । घाँसहरु विनयी थिए, नम्र थिए । जो विनयी हुन्छ, जो नम्र हुन्छ, उनीहरु नै झुक्छन् । अनि यसरी नम्र र विनयी भएर भुक्नेहरुसँग कसैको केही लाग्दैन । तिमीजस्तै लज्जित भएर फर्कन्छन्, शिर निहुराएर फर्कन्छन् ।’

नदीे विनयको शक्ति देखेर दङ्ग प¥यो, नम्रताको तागत देखेर छक्क प¥यो । उसले घाँसपातहरुलाई केही पनि सोचेको थिएन । उसको दृष्टि नै माथिमाथि हेर्ने खालको थियो । ठडिएकालाई हेर्दाहेर्दै उसमा पनि ठडिने बानीको विकास भएको थियो । उनीहरुसँगको लडाइँमा ध्यान दिँदादिँदै आफ्नै पैतालामुनि कुचिएको दूबोलाई उसले पढ्न सकेको थिएन, जान्न र बुझ्न सकेको थिएन । जसै उसले झुकेकाहरुलाई हेर्न थाल्यो, तसै उसको शिर पनि पहिलोपटक झुकेको थियो ।
कसैले पनि हामीलाई आपूm कमजोर भएर नमस्कार गरेको हुँदैन र जसले नमस्कार पाएको हुन्छ, ऊ बलियो भएर नमस्कार पाएको हुँदैन । नमस्कार त सबैभन्दा शिष्ट मान्छेको स्वभाव हो, बलिया मान्छेहरुको विशिष्टता हो । जो कमजोर हुन्छन्, ती कहिल्यै झुक्दैनन् । नदीकिनारका ठूलाठूला रुखहरुजस्तै ती नित्य ठडिइरहन रूचाउँछन् । वनजङ्गलका ठडिएका ती रुखहरु हावाको प्रवाहमा झुक्न नसक्दा भाँचिन्छन्, उखेलिन्छन्, नदीको प्रवाहमा प्रवाहित हुन नसक्दा समाप्त भएर जान्छन् । आजको मानिस पनि अभिमानको शिर लिएर ठडिइरहेको छ । झुक्नु, विनयी हुनु र सरल हुनुलाई उसले कमजोरीका रुपमा बुझ्दछ । उसको यही बुझाइमा स्वयम् ऊ पनि नदीकिनारमा ठडिएका रुखहरुजस्तै जरैदेखि उखेलिन बाध्य बनेको छ ।

आज दुई हात जोडेर कसैलाई नमस्कार गर्ने मानिस अत्यन्त कम छन् । दुई हात जोडेर कसैलाई अभिवादन गर्नु प्राण निस्कनु बराबर भएको छ आजका हामीलाई । दुई हात जोडेर कसैलाई नमस्कार गर्दा हाम्रो प्राण निस्कन्छ जस्तो हुन्छ भने हामी कति कमजोर रहेछौँ ! कति निरीह रहेछौँ ! त्यसैले, नमस्कार गर्ने मानिसले कति गा¥हो काम गरिरहेको रहेछ त ! सानोतिनो शक्ति र बुझाइ नभइकन मानिस सरल बन्न सक्दैन, विनयी र शिष्ट बन्न सक्दैन । यहीँनेर लेखनाथको ‘फलेको वृक्षको हाँगो ननुहेको कहाँ छ र ?’ भन्ने भनाइ सार्थक हुन्छ । अर्थात् गहिरो समझ, गहिरो बोध र सघन जागरणविना विनयी हुने कुरा गा¥हो छ, झारपात हुने कुरा गा¥हो छ, दूबोजस्तै कोमल र नरम हुने कुरा अप्ठ्यारो छ । हाम्रो अहम् र घमण्ड रहुन्जेल हामी झुक्न सक्दैनौँ । सत्य कुरा के हो भन्ने बुझाइ नभएसम्म हामीभित्रको घमण्ड पनि हट्ने अवस्था हुँदैन । तर सम्झनुपर्ने कुरा के हो भने जानकारी बोध होइन, जानकारी नै जानकारीले भरिएको व्यक्ति विनयी नहुन पनि सक्छ । तर यदि व्यक्ति विनयी छ भने अवश्य ऊ जानकारीभन्दा बोधको उज्यालोनजिक छ । आउनुस्, सरल बनौँ, सहज र विनयी बनौँ । विनयी हुनुको अर्थ नै विशिष्ट र परिपक्व हुनु पनि हो । त्यस्तै विशिष्टताले भरिएका मानिसहरु स्वयम्लाई भन्दा समाजलाई मूल्य दिन रूचाउँदछन् । त्यस्ता विशिष्ट पुरूषहरु मात्र दुई हात जोडेर अरुलाई अभिवादन र शिष्टता व्यक्त गर्न पाउँदा धन्यानुभूति गर्दछन्, आनन्दित हुन्छन् । तर कमजोरहरु भने दुई हात जोड्दा हारेको अनुभव गर्दछन् । के हामीलाई पनि दुई हात जोड्दा आनन्द लाग्छ ? दुई हात जोडेर अरुलाई नमस्कार वा अभिवादन गर्ने काम विजय वा पराजय के हो ? के हामी अब छुट्याउन सक्छौँ ?

Comments

About the author

चितवन पोष्ट