गृह » बुर्जुवा शिक्षामा औद्योगिकीकरण तथा व्यापारीकरणको पराकाष्ठा !
विचार

बुर्जुवा शिक्षामा औद्योगिकीकरण तथा व्यापारीकरणको पराकाष्ठा !

एच. के. श्रेष्ठ
चरम नाफामुखी बन्दै गएको शिक्षा नेपालमा औद्योगिकीकरणको मार्ग अवलम्बन गर्दै अघि बढ्दैछ । शैक्षिक उद्देश्य हासिल गर्न दक्ष जनशक्तिलगायत समाज र राष्ट्रलाई आवश्यक शैक्षिक सरोकारका हरेक पक्षहरु उत्पादन गर्ने उद्योग नभएर बजारमुखी, अर्थमुखी, किफायतकेन्द्रित पुँजीवाद तथा बुर्जुवा औद्योगिकीकरणमा परिणत भएको छ । शिक्षामा औद्योगिकीकरणको मतलब लगानी, उत्पादन, बजार, वितरक, डिलर, सवडिलर, होलसेल, खुद्रा हुँदै ग्राहकका प्रक्रियामा बानी परिसकेको छ । जब कि, हरेक मानिसको नैसर्गिक तथा मानवअधिकारको कुरा शिक्षामा त्यो ढंगको औद्योगिकीकरणमा परिणत हुँदा कतिसम्म व्यापारीकरण भएको रहेछ भन्ने कुरा लाटोले पनि अड्कल पाउन सक्छ ।
यही औद्योगिकीकरणको सञ्जालको कब्जामा रहेका शिक्षाविद्, विशेषज्ञ, शिक्षक वा प्राज्ञिक तथा बौद्घिक जगत्बाट अपहरित भएको छ । शिक्षाको ठेक्का पत्रकारिताले, उद्योगपतिले, साहूमहाजनले, दलालले, प्रकाशन गृहले, वैदेशिक नेपाली यात्रुले र राजनीति तथा राजनीतिक दलहरुले लिएका छन् । शिक्षामा सबैको पहुँच पुग्नुपर्ने नीतिलाई खिज्याउँदै र व्यंग्य गर्दै संख्याको हिसाबले मुठ्ठीभर र भूगोलको हिसाबले लगभग पाँच प्रतिशतको कब्जामा कैद हुन पुगेको छ शिक्षा । विदेशी स्तर र शैलीका टाईसुटमा सजिएका विदेश पढेका एकाध सहरका आकर्षक कलरका फोटा र युरोप, अमेरिकाका उत्कृष्ट कलेज, स्कुलका जिब्रो बटारेर उच्चारण गर्नुपर्ने लोकतान्त्रिक नामसहितका हाईफाई डिजाइनका नगन्य संख्याका भवनहरुका फुल पन्नाका विज्ञापन छाक टार्न नसक्ने नेपाली जनताले शिक्षा भनेर पढ्न बाध्य छन् । यी मुठ्ठीभर वर्गका जय÷विजय गराउने काम पत्रकारिता वा आमसञ्चारमाध्यमले पनि गरेको छ ।काठमाडौँ, पोखरालगायतका नगन्य प्रतिशत सहरी भूगोलमा फस्टाएको शिक्षा तिनै मिडिया स्रोतमार्फत मुलुकभर भ्रम छर्न  सफल छ र सबै वर्गको मनोविज्ञान कब्जा गरी शिक्षा बिक्री गर्न सफल छ । दस रूपैयाँ तिरेर विभिन्न सूचना लिन किनेको अखबारैभरि सहरकेन्द्रित शिक्षाको विज्ञापन जबर्जस्त लादेर अन्य सूचनाको हक अपहरण गर्ने मिडिया हाउसहरु उनीहरुका सहयोगी बन्दै आएका छन् । उद्योगपतिहरुका राम्रो कम्पनी शिक्षा भएको छ । यी न त राज्यको नीति नियमभित्र चल्दछन्, न त कम्पनी ऐन नै लागू हुन्छ । यसले गर्दा उक्त क्षेत्रको लगानीमा मनपर्दी गर्न मिल्दछ र आयस्रोतको गतिलो स्रोत बन्दछ । त्यसो त, दलाल फस्टाउन गतिलो स्रोतसमेत बन्यो शिक्षा । आज कलेज÷स्कुलको प्रचारप्रसार गरिदिएबापत्, सम्पर्क गराएबापत्,
विद्यार्थी÷अभिभावक पट्याइदिएबापत् र पर्चा तथा पम्प्लेट छरिदिएबापत् राम्रो कमाइ गर्ने गैरप्राज्ञिक दलालहरुको कमाइको स्थायी स्रोतमा परिणत भएको छ शिक्षा । उता, प्राज्ञिक जगत्ले विषय विशेषज्ञता वा दक्षताको नाममा एकमुष्ट मोटो रकमको भरमा जाँदै नजाने र कार्यरत नभएको स्कुल÷कलेजमा नामको बोर्ड झुन्ड्याउन दिएर दलालको भूमिका निभाउन लाज मानेका छैनन् ।‘शिक्षा’ सबै उपरी संरचना र विकासका पूर्वाधारहरुका सेतु बन्नुपर्ने हो, राजनीतिको पनि असल नीतिभित्र पर्नुपर्ने हो । तर,  त्यसो नभएर राजनीतिक संक्रमणकाल नै शैक्षिक विकृतिको मलजल बनेको छ । पँुजीवादको चपेटामा परेको बुर्जुवा शिक्षाको चरम विकासजस्तो ठानिएको छ । राजनीतिक दल शिक्षाको प्रखर निर्देशक बनेको छ । निजी शैक्षिक संस्थाहरुले राजनीतिक दलहरुलाई मोटो रकम लेवी बुझाएको भरमा मनपर्दी गर्न लाइसेन्स प्राप्त गरेका छन् भने सरकारी संस्थाहरुमा शैक्षिक नियुक्तिमा पुस्तकको ज्ञान समाउनेभन्दा दलको झन्डा समाउने र झोला बोक्नेको नाम सर्टलिस्टमा पर्दछ । यस प्रक्रियामा नियुक्ति पाएका तथाकथित राजनीतिक शिक्षकहरु विद्यालय, कलेज, क्याम्पस, कक्षा कोठा, विद्यार्थी, शिक्षण सिकाइ प्रक्रियातर्फभन्दा आआफ्नो पार्टीतर्फ बढी जिम्मेवार र लगनशील हुन्छन् । यदि सत्यतथ्य पत्ता लगाउन अनुगमन गर्ने हो भने प्रायः शैक्षिक संस्थाहरु कि त परिवार, हाडनाताको समूहको कब्जामा छ, या त एउटा विषय अध्ययन गरेको व्यक्ति अर्कै विषयको शिक्षक भई पढाइरहेको अवस्था थुप्रै छन् । यसको परिणाममा नेता शिक्षकहरुकै विद्यालयको एसएलसी नतिजा जिरो वा नगन्य छ ।
लोकतन्त्रको मन्त्र जपेर बसेको राज्य अमूक साक्षी मात्रै होइन स्पस्ट नीतिविहीन छ । शिक्षाका आधार हुन्छन्, जसअनुरुप सिंगो शिक्षा नीति तयार हुन्छ । सोहीअनुरुप शिक्षा सञ्चालन हुन्छ । तर यो मुलुकमा यस्तो छ, मानौँ शिक्षाको आधार नै छैन । पुँजीवाद, न्यून पुँजीवाद र बुर्जुवा चिन्तनले आक्रान्त बनेको शिक्षा लोकतान्त्रिक मूल्यमान्यताको शिक्षा बन्ने सवाल बिजोग छ । सरकारी नतिजा आधा प्रतिशतभन्दा पनि कम र निजी क्षेत्रको नतिजा केही बढी प्रतिशत हुने गरेको एसएलसी परिणामभित्र पनि निजी स्कुलहरुमा परीक्षामुखी सिकाइ जो मात्र ‘जब प¥यो राति तब बूढी ताती’ झैँ गरी बाह्र महिनामा दुई महिना लाठा लिएर पुरानो प्रश्न घोकाएर नतिजा राम्रो देखाउने परिपाटी आफैँमा घातक छ ।
सामन्ती नोकरशाही प्रवृत्तिसहित अगाडि बढेको शिक्षाले समाजवादीभन्दा व्यक्तिवादी चिन्तन बोकेको पाइन्छ । राज्यसत्ता, राजनीतिक दलहरु, विज्ञापन एजेन्सी, प्रकाशन गृह, मिडिया हाउस, कन्सेसन पार्टी, बौद्घिक दास, शैक्षिक दलाल आदि सबैको सहयोगमा फस्टाएको मुठ्ठीभर हुनेखाने वर्गकेन्द्रित शिक्षाले मालिकको बफादार बनाउन व्यस्त देखिन्छ । शिक्षक, विद्यार्थी र अभिभावक नै पनि उद्देश्य, नीति, सिद्घान्त र आवश्यकता आदिप्रति होइन शैक्षिक मालिकप्रति इमानदार र बफादार बनाइने वातावरण हाबी छ ।सहरबजारको पहुँचमा मात्र सीमित आधुनिक विज्ञान प्रविधि र नयाँ विषयहरुको विजय देशैभरका समाजको पहुचझैँ ठानिएको छ । शैक्षिक क्यालेन्डर चाडबाड, भोज, मनोरञ्जन, बन्द, हड्ताल र विभिन्न आन्दोलनहरुले भरिभराउ छ । पाठ्यभार राजनीतिक गतिविधिमा परिणत छ । शिक्षण सिकाइ, परीक्षा, मूल्यांकनले परम्परा धानेको छ । सिकाइ तरिका, प्रविधि, टेक्निक, सामग्रीहरु तालिम केन्द्रहरुमा केवल भत्ताका रुपमा सीमित छन् । पाठ्यक्रम धन कमाउने स्रोतको भूमिकामा थन्किएको छ । काठमाडौँका सम्भ्रान्त वर्गलाई कम्प्युटर पढाएर डँढेलधुरा, हुम्ला, मुगु आदि लगायत मुलुकभरिका विकट क्षेत्रको कुरो गरिन्छ । शैक्षिक क्षेत्रलाई समाजलाई समाजसेवा होइन पैसा कमाउन प्रेरित गरिन्छ । सिक्न र ज्ञान आर्जन गर्न होइन उच्च श्रेणीको प्रमाणपत्र प्राप्त गर्ने ढंगले घोकन्ते विद्यामा जोड गरिन्छ । सहकार्य र सहयोगी होइन दमनकारी र स्वार्थी हुन अभिप्रेरित गरिन्छ विद्यार्थीहरुलाई । अमेरिकी शिक्षाविद् तथा समीक्षक जोहन हल्टले ‘स्कुल इज ब्यान्ड फर चिल्ड्रेन’ भनेर आलोचना गरेजस्तै भइसक्यो बुर्जुवा शिक्षाका शैक्षिक स्रोतका संस्थाहरु ।

Comments

About the author

चितवन पोष्ट