गृह » सुतेको सरकार, अब त ब्युँझ !
सम्पादकीय

सुतेको सरकार, अब त ब्युँझ !

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै ११ औँ पटक आमरण अनशनमा बसेका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बन्दै गएको छ । अनशनको १९ औँ दिन बितिसक्दा पनि सरकारले उनको माग सम्बोधन गर्न संवेदनशीलता देखाएको छैन । डा. केसीको स्वास्थ्यस्थिति कमजोर बन्दै जाँदा उनको मुटु, फोक्सो, पेट र रगतमा समस्या देखिएको छ । डा. केसी जुनसुकै बेला गम्भीर अवस्थामा पुग्नुका साथै जीवन नै तलमाथि हुन सक्ने भयावह अवस्था देखिइसकेको छ । तर विडम्बना के भने, संसद्मा विचाराधीन अवस्थामा रहेको चिकित्सा शिक्षा विधेयक पारित गरिन लाग्दा आधा दर्जन मेडिकल कलेजलाई सम्बन्धन दिन मिल्ने बनाइएको खबर बाहिर आएको छ । मेडिकल कलेजमा दलका नेता तथा सांसद्हरुको लगानी रहेकै कारण आफूअनुकूल कानुन बनाउन लागिपरेकोमा कुनै सन्देह छैन । चिकित्सा क्षेत्र सुधारका लागि जीवन–मरणको पर्वाह नगरी सत्याग्रहको आन्दोलनमा होमिएका डा. केसीको जीवनरक्षा गर्दै उनले उठाएका माग पूरा गराउने प्रतिबद्धतासहित सरकार अब ब्युँझनुपर्छ ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोविन्द केसीले आफूसँग विगतमा गरेका सहमतिका बुँदाहरु अझैसम्म सरकारले कार्यान्वयन नगरेकोमा आपत्ति प्रकट गरेका छन् । एघारपटक अनशन बसेर चिकित्सा क्षेत्रमा व्याप्त विकृति र विसंगतिको महाजाल च्यातेर विधिको शासन कायम गर्न डा. केसीले विगतमा सरकारलाई घचघच्याइरहे पनि सरकारी वार्ता टोली र केसी पक्षबीच पाँच दिनदेखि वार्तासमेत हुन सकिरहेको छैन । डा. केसीको माग पूरा नगरेको भन्दै सरकारी चिकित्सक संघ (गोडान) बुधबारदेखि नै आन्दोलनमा उत्रिएको छ । गोडानकै आह्वान्मा देशभरका सरकारी चिकित्सकहरु डा. केसीको समर्थनमा विरोधस्वरुप हातहातमा कालोपट्टी बाँधेर समर्थनमा उत्रिएका छन् । सांकेतिक विरोधको सुनुवाइ नभए आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिँदै केसीको समर्थनमा चिकित्सकहरुको समर्थन उर्लिएको छ । कुनै पनि व्यक्ति अनशनमा बस्नु भनेको न्यायका निम्ति अन्तिम आवाज उठाउँदै सरकारलाई न्यायको पक्षमा झुकाउनु हो । दुर्भाग्य यो छ कि, अनशनजस्तो अन्तिम अस्त्र प्रयोग नगरी न्याय स्वतःस्फूर्त प्राप्त हुन नसक्ने देखिएको छ । मुलुकमा गणतन्त्र स्थापना भएको ११ वर्ष बित्दा पनि विधिको शासन पूर्ण रुपमा लागू हुन सकेको छैन ।
चिकित्साशास्त्रको इतिहासमा प्राडा केसी इमानदार, निष्ठावान् र मुलुकमा विधिको शासन स्थापित हुनुपर्छ भन्ने मान्यताका कुशल अभियन्ताका रुपमा नेपाली समाजमा सुपरिचित छन् । उनी आफू नैतिकवान् भएकै कारण जिम्मेवार पदमा बसेका अन्य व्यक्तिहरु पनि नैतिकवान् हुनुपर्छ भन्ने मान्यता राख्नु स्वाभाविकै हो । तर, त्रिविविमा र त्यसअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थानमा व्याप्त अनियमितता भने अद्यापि चलिरहेको छ । डा. केसी कार्यरत संस्थान त्रिविवि र समग्र चिकित्सा क्षेत्रमा व्याप्त अनियमिततालाई मूकदर्शक भएर बस्न उनको आत्माले नदिएपछि पटकपटक गरी ११ औँ पटक अनशन बस्न पुनः बाध्य हुनुपरेको तीतो यथार्थ कसैसामु छिपेको छैन । सरकारका बहिरा कानुनहरुले न्यायको आर्तनाद नसुनेपछि डा. केसीका लागि अनशन नै अन्तिम विकल्प बन्न पुगेको छ । विगतमा अनशन तोड्दा सरकारले गरेका सहमतिहरु कार्यान्वयन नभएपछि पुनः अनशन बस्नु डा. केसीको एकातिर नैतिक बाध्यता हो भने अर्कोतिर विगत पाँच वर्षदेखि अनशनको श्रृंखला चलाउन विवश बनाएर सरकार आफैँले हस्ताक्षर गरेको सहमतिको कार्यान्वयन गर्न नसक्नु सरकारको ठूलो पराजय हो । तसर्थ, सरकार कुम्भकर्णे निद्राबाट ब्युँझिएर डा. केसीको जीवनरक्षा गर्दै उनले उठाएका समग्र जनताको मागलाई अविलम्ब सम्बोधन गर्नु जरूरी देखिएको छ ।

Comments

About the author

चितवन पोष्ट