गृह » कला मन्दिरमा आदिवासी दिवसको रौनक,‘आदिवासीका मुद्दाहरु ओझेलमा ’
प्रमुख समाचार

कला मन्दिरमा आदिवासी दिवसको रौनक,‘आदिवासीका मुद्दाहरु ओझेलमा ’

–तुलमान गुरूङ
भरतपुर । नारायणगढको कला मन्दिरमा विभिन्न जातीय समूह जातीय भेषभुषाका साथ बुधबार २३ औँ विश्व आदिवासी जनजाति दिवस मनाइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवन र भरतपुर नगर परिषद्ले संयुक्तरूपमा दिवस मनाएका हुन् । कार्यक्रममा आदिवासी जनजातिका धेरै मुद्दाहरू सम्बोधन नभएकोले संविधान संशोधन गर्नुपर्ने आवाज उठेको थियो । ‘हामी आदिवासी जनजातिका पहिचानलगायतका धेरै मुद्दाहरू अझै पनि ओझेलमा छन्,’ जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष पदमबहादुर गुरूङले भने, ‘त्यसैले हामीले हिजैदेखि आफ्नो अडानलाई अझै पनि कायम राखिरहेका छौँ ।’
अध्यक्षको भनाइलाई समर्थन हुने गरी चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पनि राज्यले नेपालका आदिवासी जनजातिका मुद्दालाई सम्बोधन गर्नुपर्ने बताए । ‘नेपाललाई सुन्दर बनाएकै आदिवासी जनजातिले हो,’ उनले भने, ‘किनकी हरेक आदिवासी जनजातिको भाषा, संस्कृति फरक–फरक छ । जसले गर्दा नेपालको परिचय विश्व इतिहासमा अझ फराकिलो बन्न सकेको छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले ‘अधिकार मागेर होइन, खोसेर लिनुपर्छ’ भन्ने भनाइलाई आत्मासात् गरेर अघि बढ्न चितवनवासी जनजाति समुदायलाई आग्रह गरिन् । ‘हामीले लामो समयसम्मको संघर्षपछि संविधान ल्याउन सफल भएका छौँ,’ उनले भनिन्, ‘तर, त्यसमा कतिपय बुँदाहरूलाई संशोधन गर्नुपर्ने छ । त्यसमा आदिवासी जनजातिका मुद्दाहरू पनि पर्छन् ।’ २० वर्षपछिको स्थानीय तहमा नेपालकै इतिहासमा महानगरपालिकाले पहिलो पटक प्रमुख र उपप्रमुखमा महिलाले नेतृत्व पाएको भन्दै मेयर दाहालले भनिन्, ‘हामीलाई यहाँसम्म ल्याएको तपाईँहरूले नै हो । त्यसैले तपाईँहरूको समस्या समाधानका लागि मैले मेरो तर्फबाट हरदम प्रयास गर्नेछु र गरिरहेकी पनि छु ।’
जनजाति समुदायको मात्र नभई हरेक समुदायका जायज मागलाई पूर्णरूपमा सम्बोधन हुने गरी काम गर्दै जाने उनले प्रतिबद्धता जनाइन् । ‘हरेक सकारात्मक परिवर्तनका लागि हामीले आफ्नो लडाईँ र अडानलाई छाड्नु हुँदैन,’ उनले भनिन् । पुरूषको तुलनामा महिलालाई दोस्रो दर्जामा मूल्यांकन गर्ने प्रचलन परिवर्तन हुँदै गएकोले भरतपुरको नेतृत्व आफूहरूले पाएको उनको भनाइ छ ।
यस्तै उपमेयर पार्वती शाह ठकुरीले वर्तमान संविधानमा मुख्य दुईवटा बाहेकका बुँदाहरूलाई आवश्यक परेमा परिमार्जन गर्न सकिने बताइन् । ‘नेपालमा राजा फर्काउने र हिन्दू राष्ट्र हुनुपर्छ भन्ने माग कुनै पनि हालतमा सम्बोधन हुँदैन,’ उनले भनिन्, ‘अन्य बुँदाहरूलाई मिलेसम्म परिमार्जन गर्न सकिन्छ । त्यसैले हामीले हाम्रो स्थानबाट गर्न मिल्नेसम्मको प्रयास हामी गर्नेछौँ ।’
कार्यक्रममा थारू, तामाङ, गुरूङ, मगरलगायत विभिन्न जातीय संघसंस्थाका अध्यक्षहरूले पनि मन्तव्य राखेका थिए । सन् १९९५ सालदेखि २००७ सालसम्म विश्वका विभिन्न देशहरूले एकसाथ आदिवासी दिवसलाई दशकको रूपमा मनाएका थिए । त्यसपछि नेपालमा पनि विश्व आदिवासी दिवसको रूपमा हरेक वर्ष साउन २५ गते विशेष तरिकाले मनाउँदै आइएको छ । चितवनको जम्मा जनसंख्याको ४७ प्रतिशत जनसंख्या आदिवासी जनजाति समुदायले ओगटेको जिल्ला समन्वय परिषद्को तथ्यांक छ । चितवन जिल्लामा विभिन्न १७ वटा जातीय संघसंस्था नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद्मा आवद्ध छन् ।

Comments

About the author

चितवन पोष्ट