गृह » डा. केसीप्रति उर्लिंदो ऐक्यबद्धता
सम्पादकीय

डा. केसीप्रति उर्लिंदो ऐक्यबद्धता

चिकित्सा क्षेत्रमा देखिएको विकृति र बेथिति नियन्त्रण गर्न विगत अठार दिनदेखि अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीप्रति देशभर ऐक्यबद्धता जनाउनेहरु बढेका छन् । तर विडम्बना ! सरकारी ओहोदामा बसेका प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले डा. केसीको मागप्रति संवेदनशीलता प्रदर्शन नगरेर मुलुकमा सरकारको उपस्थिति नै नरहेको अनुभूति दिलाएका छन् । झन्डै तीन करोड जनताको स्वास्थ्य सेवा र सर्वसाधारणको चिकित्सा शिक्षाका लागि ज्यानको बाजी थापेर अनशन बसेका डा. केसीको जायज मागप्रति सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत हुनु दुर्भाग्य हो । विगतमा पनि दसपटकसम्म अनशन बसिसकेका केसीको माग पूरा गर्ने सहमति गरेको सरकारले मेडिकल माफियाको प्रभावमा परेर लाचारीपन देखाएको छ । लोभीपापी र मेडिकल माफियाको दबाब चिर्न सक्ने क्षमता प्रधानमन्त्री देउवाले देखाउन सकेका छैनन् । डा. केसीको स्वास्थ्यस्थिति झनै जटिल बन्दै गएको छ । एकपछि अर्को समस्या देखिँदा पनि सरकार जिम्मेवार ढंगले प्रस्तुत हुन सकेको छैन ।
डा. केसीको स्वास्थ्यस्थिति दयनीय बन्दै जाँदा उनको जीवनरक्षाको अपिल गर्दै देशभरका सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक बुधबारदेखि आन्दोलनमा उत्रिएका छन् । सरकारी उदासीनताको विरोधस्वरुप चिकित्सकहरुले कालोपट्टी बाँधेर काम गरिरहेका छन् । सरकारी चिकित्सक संघ (गोडान)ले सरकारले डा. केसीका माग पूरा गर्न अटेर गरे सरकारी संस्थामा आकस्मिकबाहेक सबै सेवा ठप्प पार्नेसम्मको चेतावनी दिएको छ । अनशनको लामो समयसम्म पनि सरकारले वास्ता नगरेको भन्दै स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेर गोडानले प्रतिकारमा जाने उद्घोष गरेको छ । देशभर प्राथमिक स्वास्थ्यकेन्द्रदेखि केन्द्रीय तहका अस्पतालमा गरी १६ सयभन्दा बढी चिकित्सक कार्यरत छन् । डा. केसीको समर्थनमा देशव्यापी रुपमा ऐक्यबद्धता जाहेर गर्नु स्वागतयोग्य कुरा हो । तर, सर्वसाधारणको स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारबाट वञ्चित गरेर होइन, आफ्नो जिम्मेवारी र संवेदनशीलतालाई ध्यान दिँदै चिकित्सकहरुले आन्दोलनका कार्यक्रम गर्नु उचित हुनेछ ।
डा. केसीको मागबारे सरकार मौन भइरहँदा यतिखेर स्वास्थ्य क्षेत्रमात्रै होइन नागरिक समाज तथा विभिन्न संघसंस्थाहरुले ऐक्यबद्धता जनाउँदै साथ र समर्थन दिइरहेका छन् । देशभरका चिकित्सकहरु सरकारको विरोधस्वरुप हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । चिकित्सकको आन्दोलनबाट सरकारी अस्पतालहरुमा बिरामी प्रभावित हुने सम्भावना बढ्दै गएको छ । स्वच्छ छवि र अविवाहित ६१ वर्षीय डा. केसी कुनै लोभलालच नभएका एउटा सत्य र निष्ठाका प्रतिमूर्ति हुन् । विगत पाँच वर्षदेखि अनशनरत लड्दै आएका उनले शान्तिपूर्ण तवरले आफ्ना माग राख्दै आएका छन् । स्वास्थ्य क्षेत्रमा देखिएको संवेदनशील विषयमा सामाजिक उत्तरदायित्वको भावनाले अनशन बसेका केसीको माग पूरा गर्न जति ढिलाइ भयो, सरकारको साख पनि त्यत्ति नै गिर्नेछ । डा. केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील रहँदै उनका माग समयमै सम्बोधन गर्नु मुलुक र सरकार दुवैका लागि हितकर हुने देखिएको छ ।

 

Comments

About the author

चितवन पोष्ट