गृह » आत्मवृत्तान्तको एक टुक्रा
विचार

आत्मवृत्तान्तको एक टुक्रा

–वीरेन्द्रमणि पौडेल
आफू बाँचेर देशका लागि जेजति गर्न सकिन्छ, इमानदारीपूर्वक गर्नुपर्छ भन्ने चिन्तनका साथ आफूलाई प्रस्तुत गर्दै आएको मलाई नेपालमा राजसंस्था रहुन्जेल राजावादी पत्रकारका रुपमा प्रचार गरिन्थ्यो । घरैपिच्छे राजा, दलैपिच्छे राजा, हरेक संघसंगठनका प्रमुखहरु राजा हुनुभन्दा राष्ट्रियताको पहरेदारका रुपमा पनि रहन सक्ने हिसाबले म नेपालमा नाममात्रको राजा भए पनि ठीकै हुन्छ भन्ने पक्षमा भएको हुँदा मलाई स्वाभाविक रुपमा राजावादी पत्रकार भन्थे । अरु धेरै पत्रकार साथीहरु कांग्रेस, एमाले, माओवादीलगायतका दलहरुमा बाँडिएका छन् । मैले समर्थन गरेको राजसंस्था इतिहासको पानामा थन्कियो । यतिबेला मैले कुनै राजनीतिक दलको पछि लाग्नुभन्दा सबै राजनीतिक दलसँग उत्तिकै राम्रो सम्बन्ध राख्दा ठीक हुन्छ भन्ने सोचका साथ सबै दलहरुलाई एकनासले सम्मान गर्दै आएको छु । यो हिसाबले अब मैले लेख्नैपर्छ कि मेरा लागि कुनै एकदल मात्रै नजिक वा टाढा छैन ।

मुद्दाका आधारमा समर्थन र विरोध जनाउँदा मुलुकको हित हुने हुँदा आफूलाई सोहीबमोजिम प्रस्तुत गर्दा मान्छेहरुले मलाई कहिले माओवादी समर्थक भन्छन्, कहिले कांग्रेस त कहिले एमाले । पहिलो संविधानसभा निर्वाचनमा मैले माओवादीलाई भोट दिएँ । एकपटक एमालेकी पार्वती रावललाई र एकपटक सुशील कोइरालालाई जिताउन नेपाली कांग्रेसको रुख चिन्हमा छाप लगाइदिएँ । पेसाले पत्रकार र कर्तव्य राजनीतिक विश्लेषण भएको हुँदा कहिले एउटा पार्टीको त कहिले अर्को पार्टीको नेता, कार्यकर्ताको अन्तर्वार्ता मेरो नेतृत्वमा चल्ने नारायणी टुडे राष्ट्रिय मासिकमा छाप्ने गर्छु । विगत १८ वर्षदेखि चितवनबाट प्रकाशन भइरहेको यो मासिकलाई निरन्तर अध्ययन गर्नेहरुलाई थाहा छ, मेरो भूमिका लाखापाखा गर्ने खालको छैन । तर, कहिलेकाहीँ मात्रै नारायणी टुडे पढ्नेलाई भने कतैको समर्थक हो जस्तो लाग्न सक्छ । यसमा मेरो कुनै आपत्ति छैन, तर यसपटकको स्थानीय तहको निर्वाचनमा मतदाता हुनुका नाताले मतदान गर्नैप¥यो । मेरो वडा भरतपुर ७ मा मैले अति नै सम्मान गर्ने दाइ शिवप्रसाद भट्टराई माओवादीबाट, अर्का आदरणीय दाइ श्यामप्रसाद लामिछाने नेपाली कांग्रेसबाट र नेकपा एमालेबाट मेरो बाल्यकालको साथी राजेन्द्रमणि काफ्ले वडाध्यक्ष उम्मेदवार थिए । जिन्दगीमा मलाई बडो अप्ठ्यारो स्थिति पहिलोपटक सामुन्ने आयो । सबै उम्मेदवार मेरा लागि उत्तिकै प्रिय । फेरि आफू भूतपूर्व राजावादी हुनुको नाताले राप्रपाका उम्मेदवार रामचन्द्र ओस्तीलाई भोट दिनुपर्ने । यसका अतिरिक्त वडाको विकास निर्माणलाई पनि मध्यनजर गरेर भोट दिनुपर्ने । यस्तो अप्ठ्यारो अवस्थाका बीच अन्तिममा शिवदाइले नजित्ने सम्भावना बुझेपछि मैले बाल्यकालको मित्र राजेन्द्रमणि काफ्लेलाई मद्दत गरेँ । उनले जिते ।

म मेरो आत्मालाई कहिल्यै बन्धकी राख्दिनँ, बेच्दा पनि बेच्दिनँ । त्यस कारण, म मेरो आत्माको निर्देशन मान्ने मान्छे हुँ । बाँकी मेरो लागि गौण विषय हो । वडाको निर्वाचनमा यसपटक मैले एक इन्चमात्रै एमालेलाई सहयोग गरेको हुँ, अर्को निर्वाचनमा माओवादीले सहयोग पाउला वा कांग्रेसले, अहिल्यै भन्न सक्दिनँ । म सधैँभरि एउटै पार्टी वा एउटै व्यक्तिलाई भोट दिने मान्छे होइन । मुख्य प्रसंगचाहिँ भरतपुरको मेयरको पदसँग सम्बन्धित छ । गाइँगुइँ गाइँगुइँ हल्ला चल्दै थियो, फ्याट्ट कानमा समाचार प¥यो– “भरतपुरको मेयरको पदमा प्रचण्डपुत्री रेणु दाहालको उम्मेदवारी फाइनल ।” त्यसपछि मैले राजनीतिक हिसाबकिताब गर्न सुरू गरेँ । रेणुको उम्मेदवारी फाइनल भएको धेरैदिन बित्दासमेत कांग्रेस–एमालेले उम्मेदवारी फाइनल गर्न सकेनन् वा चाहेनन् । मैले हिसाब निकाल्दा के निष्कर्ष निस्कियो भने केन्द्रमा शेरबहादुर र प्रचण्डको घाँटी जोडिएको छ, अकस्मात् रेणुको उम्मेदवारी सबैभन्दा पहिले फाइनल भएको छ, कतै कांग्रेसले रेणुलाई समर्थन त गर्दै छैन ? सबै सूत्र प्रयोग गरेर बुझ्दा सम्भावना जे अन्दाज गरेको यिएँ, त्यही हुनसक्नेमा आफूलाई ढल्काएँ । यस्तो निष्कर्षका साथ भूतपूर्व मन्त्री लीलाराज विष्टको घरमा मिलनबाबुलाई तिमीले यसपटक मेयरको टिकट कुनै पनि हालतमा पाउने छैनौ भनिदिएँ । उनले गतिलै गफ चुटे र भने, “कुनै पनि हालतमा टिकट पाउने मैं हुँ ।” मिलनले यस्तो दाबी गर्दै गर्दा तिनको पार्टीबाट टिकटको दाबेदारका रुपमा भूतपूर्व सांसद् जगन्नाथ पौडेल, टेकप्रसाद गुरूङ, विजयराज भूषाल, दिनेश कोइराला, सूर्यकान्त घिमिरेलगायतको चर्चा थियो ।

एमालेमा केशवलाल श्रेष्ठ, देवी ज्ञवाली र विजय सुवेदी चर्चामा थिए । एमालेले देवी ज्ञवालीलाई अन्तिम घडीमा आएर टिकट दियो भने विनाहेलिकप्टर नोमिनेसन गर्न नभ्याउने पाराले कांग्रेसले दिनेश कोइरालालाई मेयरको टिकट दियो । भोलिपल्ट अकस्मात् नेपाली कांग्रेसले दिनेश कोइरालाको नाम फिर्ता लिएर रेणुलाई समर्थन ग¥यो । यो खबरले धेरै मानिसको अचम्ममा जिब्रो बाहिर निस्कियो । माओवादीलाई भोट दिनुपर्ने निर्णयको विरूद्धमा प्रारम्भमा कांग्रेसीहरु रिसले आगो भए । यस्तै बेलामा मैले नारायणगढको सहिदचोकमा साथीहरुसँग भनेँ– “चुनाव रेणु दाहालले जित्छिन् ।” कांग्रेस, एमाले समर्थक सबै साथीहरुले मलाई कुटौँलाझैँ गरे र सोधे– “माओवादीको भोटै छैन, हामी कांग्रेसीहरुले भोटै दिदैनौँ, एमालेले दिने कुरा आएन, कसरी जित्छिन् ?” मैले जवाफ दिएँ– “जसरी पनि जित्छिन् ।” मेरो जवाफ सुनेर साथीहरुले मलाई खिसिट्युरी गरे । मैले हाँसेर टारिदिएँ । एउटा भेटमा मैले भूतपूर्व मन्त्री लीलाराज विष्टलाई भनेँ– “शेरबहादुर डँडेल्धुराबाट चुनाव जित्छन्, केपी ओली झापाबाट सुरक्षित छन्, झलनाथ इलामबाट, रामचन्द्र पौडेल तनहुँबाट, नारायणमान बिजुक्छे भक्तपुरबाट, चित्रबहादुर केसी बागलुङबाट सधैँ चुनाव जित्छन्, तर राष्ट्रिय राजनीतिका प्रमुख खेलाडी प्रचण्डको सुरक्षित क्षेत्र छैन । रोल्पा नेत्रविक्रमले ओगटे, तराईतिर पनि गाह्रो भो । त्यस कारण, यिनले चितवन रोजे र शेरबहादुरको सहयोग लिएर छोरीलाई मेयरमा जिताएर त्यसको प्रभावले आउने निर्वाचनमा चितवनको क्षेत्र नम्बर ३ प्रचण्डलाई, दुई र एक नेपाली कांग्रेसलाई भागबन्डा गर्ने संकेत बुझेको छु ।” मन्त्री बूढा छक्क पर्नुभो र नपत्याएको अनुहार बनाएर त्यस्तो कहाँ सम्भव छ र ? भन्ने जिज्ञासा राख्नुभो । मैले त्यसै हुन्छ मात्रै भनिनँ, अब शेरबहादुर र प्रचण्ड रेणुलाई जिताउन एउटै मञ्चबाट भाषण गर्न चितवन आइपुग्छन् पनि भनेँ । मेरो भनाइ ठ्याक्कै मिल्यो । प्रचण्ड र शेरबहादुर चितवन आएर एउटै मञ्चबाट भाषण गरे ।

यो भाषणले पूरा कांग्रेसमध्ये करिब आधाआधी कांग्रेसीहरु माओवादीको चुनाव चिन्हमा भोट दिन राजी भए । जित र हारको जोड–घटाउ हुँदै गयो । अरु भन्थे– “चुनाव सजिलै देवी ज्ञवालीले जित्छन् ।” म भन्थेँ– “जसरी पनि चुनाव रेणुले जित्छिन् ।” मैले यस्तो दाबी गर्नुमा प्रचण्डको असाधारण चतु¥याइँलाई केन्द्रभागमा राखेको थिएँ । त्यतिबेला प्रचण्ड प्रधानमन्त्री थिए । शेरबहादुर प्रधानमन्त्रीको कुर्सीमा उक्लिन खुट्टा उचालेर बसेका थिए । त्यसका लागि प्रचण्डको सहयोग जरूरी थियो । प्रचण्डले कति ठीक गरेका छन् र कति बेठीक, त्यो हिसाबकिताब पछि हुँदै गर्ला । तर, यिनले चीन र भारतजस्तो सशक्त छिमेकी राष्ट्रको बीचमा आफूलाई सन्तुलित ढंगले प्रस्तुत गर्न भरमग्दुर प्रयास गरेका थिए । गिरिजाप्रसाद कोइरालाजस्तो खतरनाक राजनीतिज्ञसमेतलाई सजिलै “राष्ट्रपति”को ललीपप देखाएर थाङ्नामा सुताउन सक्ने प्रचण्डले अनेक खेल खेल्न सक्छन् भन्ने विश्वास थियो । यस्ता उनको क्षमतालाई मनन गरेर मैले “जसरी पनि चुनाव माओवादीले जित्छ” भन्दै गएँ ।

चुनाव भयो । मतगणना सुस्त सुरू भयो । वडा नम्बर १ देखि १२ नम्बर वडासम्म मत गन्दा देवी ज्ञवालीले लिडिङ गर्दै गए । यहाँनेर माओवादीले फेरि चतु¥याइँ ग¥यो । कांग्रेसी इलाकाबाट माओवादीलाई मत दिए नदिएको परीक्षण गर्न २९ नम्बरबाट ओराल्ने र १३ नम्बरबाट गन्ती उकाल्ने माग राखे । यसरी गन्दै गर्दा वडा नम्बर १९ को २४ सय मत गनिसक्दा देवी ज्ञवाली रेणुभन्दा ७८४ मतले अघि भए । यतिबेला दुवै पक्ष जित्ने आशा र हार्ने डरको मनोवैज्ञानिक पीडामा लपेटिए । यस्तै अवस्थाका बीच देवघाट मलामी गएका हामीहरुले जित र हारको समीक्षा गर्ने सन्दर्भमा मैले “यति थोरै मतको फरक हुँदा मनोवैज्ञानिक रुपले मानिसहरु विक्षिप्त हुन सक्छन्, मारपिट हुनसक्छ, कुनै अप्रिय घटना पनि हुन सक्छ” भनेर नारायणगढका मुक्तिलाल पियालगायतका मलामीलाई मैले भनेको यो कुरा बेलुकै ट्वाक्कै मिल्यो । माओवादीका कार्यकर्ताहरुले मतपत्र च्याते । मतपत्र च्यातेपछिको कानुनी हिसाबकिताब के हुन्छ, जे पहिले हिसाब गरिएको थियो त्यही भयो । निर्वाचन आयोगले पुनः मतदानको फैसला ग¥यो । तुरून्तै अदालतमा रिट निवेदन दर्ता हुँदा फुर्सद नमिलेको हुँदा जनताको पारो तल झरेपछि मात्रै फैसला भयो । निर्वाचन ऐनभन्दा बाहिर गएर अदालतले फैसला गर्दैन, सबैलाई थाहा थियो ।

अदालतको पुनः मतदानमा जाने निर्णयपछि फेरि भएको चुनावमा देवी ज्ञवालीलाई पहिले मत दिएका कांग्रेसीहरुले रेणुलाई मत दिए । उनलाई मत दिनुमा थुप्रै कारणहरु हुन सक्लान्, तर कांग्रेसी मतदाता ज्ञवालीबाट रेणुतर्फ फरक्कै फर्र्र्किए । अन्तिममा १९ र २० नम्बर वडा गनिसिध्याउँदा रेणुले देवी ज्ञवालीलाई २०३ मतको अन्तरमा जितिन् । यसरी माओवादीले बडो चतु¥याइँपूर्वक झेली ग¥यो । झेली गरेको थाहा हुने तर यस्तो कानुनी तौरतरिका मिलाएर, कानुनको कमजोर छिद्रहरु भित्र पसेर झेली ग¥यो कि कसैले चुँक्क बोल्न नमिल्ने तरिकाले झेली ग¥यो । नेपालमा यस्तो चतु¥याइँ गर्न उही नेकपा एमालेलाई सिपालु मानिन्छ, तर यसपटक प्रचण्डले यसरी थाङ्नामा सुताएर छोरीलाई जिताए कि एमालेलाई हेरेको हे¥यै बनाइदिए । छ, बिलकुल रेणुलाई जिताउन नेपाली कांग्रेसको योगदान छ । माओवादी कार्यकर्ताहरुको पनि बेजोड मेहनत परेको छ, तर यी सबका बाबजुद रेणुलाई जिताउन प्रचण्डको अरुलाई गाँजेमाँजे गर्न सक्ने चमत्कारिक दिमागको योगदान भने पहिलो नम्बरमै छ । यसपटक रेणुले जसरी पनि चुनाव जित्छिन् भन्ने मेरो विश्लेषण ट्वाक्कै मिलेको मात्रै हो । मैले कसैले जिते वा हारे हुन्थ्यो भन्ने कामना गरेर गणेशस्थानमा लड्डु चढाएको होइन र पूजाआराधना गरेको पनि होइन ।

Comments

About the author

चितवन पोष्ट