गृह » शकुनिको चाल
विचार

शकुनिको चाल

डा. मतिप्रसाद ढकाल
युधिष्ठिरका राज्यमा इन्द्रसभा, वरूणसभा, कुबेरसभा, ब्रह्मसभा आदि दिव्यसभाहरुको निर्माण सुसम्पन्न भइसकेपछि पितृलोकबाट पाण्डुले युधिष्ठिरलाई राजसूय यज्ञ गर्ने सन्देश पठाउँछन् । राजसूय यज्ञ गर्ने सङ्कल्प लिएर युधिष्ठिरले त्यसका लागि सबै भाइ, मन्त्री, मुनि र श्रीकृष्णसँग सल्लाह गर्छन् । त्यस क्रममा यज्ञको सफलताका लागि श्रीकृष्णले बन्दी बनाइएका राजाहरुलाई मुक्त गर्न र जरासन्ध राक्षसको वध गर्नु अपरिहार्य रहेको सल्लाह दिन्छन् । जरासन्धलाई जित्ने विषयमा युधिष्ठिर उत्साहहीन भएपछि अर्जुन युद्धका लागि उत्साहका साथ अग्रसर हुन्छन् । जरासन्ध र श्रीकृष्णका बीचमा कुराकानी भएपछि जरासन्ध भीमसेनसँग युद्ध गर्नका लागि तयार हुन्छ । भीमसेनद्वारा जरासन्ध मारिएपछि बन्दी राजाहरु मुक्त हुन्छन् भने युधिष्ठिरबाहेकका अर्जुन आदि चारै भाइले दिग्विजयका लागि चार दिशातर्पm यात्रा प्रारम्भ गर्छन् र चारै भाइले चारै दिशामा दिग्विजय हासिल गर्छन् । त्यस क्रममा उत्तरदिशामा खटिएका अर्जुन हिमवान् प्रदेशलाई जितेर धवलागिरिमा आएर बसेका थिए भने पूर्वदिशामा खटिएका भीमसेनले पाशुपतभूमि नेपाललाई चारैतिरबाट जितेका थिए ।
बन्दी राजालाई मुक्त गरी जरासन्धको समेत वध गरेर दिग्विजय हासिल गरेपछि युधिष्ठिर निर्धक्कसाथ राजसूय यज्ञ गर्न अग्रसर हुन्छन् । राजसूय यज्ञमा सबै देशका राजाहरु, कौरवहरु र यादवहरु पनि आएका थिए र तिनको भोजन, विश्राम आदिको राम्रो व्यवस्था मिलाइएको थियो । यज्ञमा उपस्थित भएका नारदजीले श्रीकृष्णको महिमाको वर्णन गरेपछि भीष्मजीको अनुमति पाएर श्रीकृष्णको पहिला पूजा गरियो तर त्यसरी श्रीकृष्णको पहिला पूजा गरिनु शिशुपालका लागि सह्य हुन सकेन । युधिष्ठिरले आप्mनै फुपूका छोरा शिशुपाललाई सम्झाउने प्रयत्न गरे भने भीष्मले शिशुपालका आक्षेपहरुको उत्तर दिने प्रयास गरे । सहदेवले उपस्थित राजाहरुलाई चुनौती दिए भने अत्यन्त क्षुब्ध भएका शिशुपाल आदि राजाहरु युद्धका लागि प्रवृत्त भए । त्यस्तो वातावरण देखेर युधिष्ठिर चिन्तित भए भने भीष्मले उनलाई सान्त्वना दिने प्रयास गरे । जसको अन्न खाएको छ र जसको आश्रय लिएको छ उसकै विरोध गर्ने व्यक्ति नपुंसक हो भनेर शिशुपालले भीष्मको निन्दा ग¥यो । शिशुपालको कुरा सुनेर भीमसेन क्रुद्ध भए भने भीष्मले उनलाई शान्त गर्ने प्रयास गरे । भीष्मले शिशुपालको जन्मवृत्तान्त बताउने क्रममा श्रीकृष्णले आप्mना फुपूका छोरा शिशुपालका सयवटा अपराधहरु क्षम्य हुनेछन् भनेर फुपूलाई सान्त्वना दिएको रहस्य बताए । भीष्मको कुरा सुनेर चिढिएको शिशुपालले भीष्मलाई फट्कार्यो भने भीष्मले श्रीकृष्णसँग युद्ध गर्नका लागि सम्पूर्ण राजाहरुलाई चुनौती दिए । फलस्वरुप युद्धमा श्रीकृष्णद्वारा शिशुपाल मारियो र युधिष्ठिरले राजसूय यज्ञको पनि समापन गरे ।
‘तिमीलाई नै निमित्त बनाएर सबैराजा आपसमा लडेर नष्ट हुनेछन्’ भन्ने व्यासजीको भविष्यवाणी सुनेर युधिष्ठिर चिन्तित हुन्छन् र सबैसँग समत्वपूर्ण व्यवहार गर्ने प्रतिज्ञा गर्छन् । प्रत्येक पाइला पाइलामा भ्रमका कारण आपूm उपहासको पात्र बनेको र युधिष्ठिरसँग आप्mनो वैरभाव देखेर दुर्योधन चिन्तित हुन्छ । शत्रुस्वरुपमा पाण्डवहरुको बुद्धि र आप्mनो हीन अवस्था देखेर चुपचाप रहनु उचित हुँदैन भन्ने सोच दुर्योधनमा पलाउँछ । पाण्डवहरुमाथि कसरी विजय प्राप्त गर्न सकिन्छ ? भन्ने विषयमा मामा शकुनि र भान्जा दुर्योधनका बीचमा सरसल्लाह हुन्छ । त्यस क्रममा शकुनिले युधिष्ठिर जुवा खेल्न मन पराउँछन् तर उनलाई राम्रोसँग जुवा खेल्न आउँदैन, उनलाई जुवा खेल्न बोलाउने हो भने उनी पछि हट्तैनन्, जुवामा मलाई तीनै लोकमा कसैले पनि परास्त गर्न सक्तैन भनी युधिष्ठिरलाई जुवा खेल्न आमन्त्रण गर्ने सल्लाह दिन्छ ।
धृतराष्ट्रले दुर्योधन चिन्तित भएको देखेर चिन्तित हुनाको कारण सोध्छन् । दुर्योधनले जुवाका लागि युधिष्ठिरलाई आमन्त्रण गर्न अनुरोध गरेअनुरुप धृतराष्ट्रले विदुरलाई इन्द्रप्रस्थ पठाउँछन् भने दुर्योधनले युधिष्ठिरलाई उपहारका रुपमा प्राप्त भएका वस्तुहरु र युधिष्ठिरको अभिषेकको समेत वर्णन गर्छ । धृतराष्ट्रले युधिष्ठिरलाई बोलाउनका लागि विदुरलाई आज्ञा दिन्छन् । विदुरले युधिष्ठिरलाई भेटेर धृतराष्ट्रले जुवा खेल्नका लागि निमन्त्रणा पठाएको बताउँछन् । जुवा खेल्नु राम्रो होइन भन्ने जान्दाजान्दै पनि निमन्त्रणा गरेका ठाउँमा जान पछि नहट्नु आप्mनो सधैँको व्रत हो भन्ने ठानेर युधिष्ठिरले धृतराष्ट्रको निमन्त्रणालाई सहर्ष स्वीकार गर्छन् ।
शकुनिकै कुटिल चालले गर्दा कौरव र पाण्डव पक्षका बीचमा द्यूतक्रीडाको प्रारम्भ हुन्छ । युधिष्ठिरले रत्नले भरिएका बाकसहरु, घोडाहरु, एक लाख तरूणी दासीहरु, एक लाख तरूण दासहरु, एक हजार हात्तीहरु, आठ हजार हात्तिनीहरु, दश हजार रथहरु र साठी हजार योद्धाहरु क्रमशः बाजी राख्तै गए भने शकुनिले युधिष्ठिरबाट ती सबै वस्तुहरु जित्तै गयो । त्यसरी शकुनिको चालले गर्दा युधिष्ठिर हार्दै गएपछि धृतराष्ट्रलाई विदुरले चेतावनी दिँदै जुवाको घोर विरोध गरे । दुर्योधनले विदुरलाई फट्कार्यो भने विदुरले दुर्योधनलाई पनि चेतावनी दिए ।
जुवा खेल्दा युधिष्ठिरले सारा धन र राज्यसमेत हारे । उनले कान्छो भाइ नकुलदेखि माहिलो भाइ भीमसेनसम्म सबै दाउमा राखे । सबै भाइहरु मात्र होइन द्रौपदीसहित आपूm पनि जुवामा हारे । बाँस आप्mनो विनाश गर्न फुलेजस्तै विनाशका लागि घमन्डले फुलेको दुर्योधनलाई विदुरले फट्कार्छन् । जुवामा सर्वस्व गुमाएपछि पञ्चपाण्डव र द्रौपदी कौरवका अधीनमा हुन्छन् । दुःशासनले द्रौपदीको केश पक्रेर घिच्याउँदै सभामा ल्याउँछ ।
वृद्ध नभएको सभा हुन सक्तैन, धर्मको कुरा नगर्ने वृद्ध हुन सक्तैन, सत्यता नभएको धर्म हुन सक्तैन र छलकपटले युक्त भएको सत्य हुन सक्तैन भनेर रजस्वला अवस्थामा रहेकी एउटा मात्र वस्त्र लगाएकी म यस्तो बृहत् सभामा ल्याइन योग्य थिएँ त ? भनेर द्रौपदीले सभासद्समक्ष प्रश्न गर्छिन् । द्रौपदीको त्यस्तो अवस्था देखेर भीमसेन क्रुद्ध भई युधिष्ठिरका दुवै हातमा आगो लगाउन अग्रसर हुन्छन् तर शत्रुहरुको कामना सिद्ध गर्ने हिसाबले युधिष्ठिरको अपमान गर्नु उचित हुँदैन भनेर अर्जुनले भीमसेनलाई सम्झाउँछन् । धृतराष्ट्रका पुत्र विकर्णको धर्मसङ्गत कुरालाई कर्णले विरोध गर्छ । सभाका बीचमा द्रौपदीको चीरहरण गरिन्छ भने भगवान् कृष्णले उनको लज्जाको रक्षाका लागि जति सारी ताने पनि सारी तान्ने दुःशासन नै थाक्ने परिस्थिति सिर्जना गरिदिन्छन् । वर्तमान समयमा पाइला पाइलामा शकुनिहरु भेटिन्छन् र तिनले युधिष्ठिरजस्ता दुर्लभ इमानदार व्यक्तिको इज्जतमा दाग लगाउन अनेकौँ षड्यन्त्र गरिरहेका देखिन्छन् । शकुनिका चालहरुको धारबाट बचेर व्यक्ति, परिवार, समाज, राष्ट्र र समग्र विश्वकै समुन्नतिमा अग्रसर हुनु इमानदार व्यक्तिका लागि वर्तमानको गम्भीर चुनौती हो ।
(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैंडाकोट, नवलपरासी)

Comments

About the author

चितवन पोष्ट