गृह » सामुदायिक विद्यालयमा समस्याको चाङ, पूर्वाधार विकास र शिक्षक दरबन्दी मुख्य समस्या
प्रमुख समाचार

सामुदायिक विद्यालयमा समस्याको चाङ, पूर्वाधार विकास र शिक्षक दरबन्दी मुख्य समस्या

होमनाथ सापकोटा
रत्ननगर । रत्ननगर नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले पूर्वाधार विकास र शिक्षक दरबन्दीको अभावले शैक्षिक गुणस्तर विकास गर्न नसकिएको बताएका छन् ।
नगर शिक्षा समितिले मंगलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले भौतिक पूर्वाधार र शिक्षक दरबन्दीको अभावले राज्यले लिएको लक्ष्य अनुसार शैक्षिक गुणस्तर वृद्धि गर्न नसकिएको बताएका छन् । उनीहरुले विद्यालय भवनको अभाव र भएका भवनहरु पनि जीर्ण भएका कारण दैनिक पठनपाठनमा समस्या भएको औल्याएका थिए । प्रधानाध्यापकहरुले शिक्षक दरबन्दीको अभावले निमावि तहको शिक्षकले मावि तहमा पढाउनुपर्ने बाध्यकारी अवस्था रहेको बताए । अंग्रेजी माध्यमतर्फ विद्यार्थीहरुको आकर्षण बढ्दै गएको भन्दै उनीहरुले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाइ राख्न अंग्रेजी माध्यमलाई प्राथमिकता दिनुपर्ने बताएका थिए । त्यसको लागि शिक्षकको दरबन्दी थप र शिक्षकहरुको क्षमता विकासलाई राज्यले ध्यान दिनुपर्नेमा उनीहरुको जोड थियो ।
कार्यक्रममा प्रधानाध्यापक तथा विद्यालयका अध्यक्षहरुले सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार अभाव, शिक्षक दरबन्दी अभाव, खानेपानी, दिवा खाजा, शिक्षकको मासिक तलब दिन नसक्नुलगायतका समस्या रहेको बताएका थिए ।
कार्यक्रममा जनजागृति मावि पिठुवाका प्रधानाध्यापक विनोदप्रसाद अधिकारीले सामुदायिक विद्यालयमा विद्यामान अनेकौ समस्याका कारण शैक्षिक गुणस्तर वृद्धि हुन नसकेको बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न अंग्रेजी माध्यमको पढाइलाई विस्तार गर्नुपर्ने भन्दै उनले त्यसको लागि राज्यले नीति बनाएर अगाडि बढनुपर्नेमा जोड दिए । ‘सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार र शिक्षक दरबन्दीको अभाव छ’ उनले भने, ‘यो अभावलाई राज्यले पूरा गर्न सक्यो भने, ‘उसले लिएको लक्ष्य पूरा गर्न मुस्किल छैन ।’ कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति ओमप्रसाद अर्यालले सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी भन्दा पनि विषयगत शिक्षकको समस्या रहेको बताए ।
कार्यक्रममा रत्ननगर नगरपालिकाअन्तर्गत सामाजिक विकास समितिका संयोजक केशव आचार्यले रत्ननगर भित्रका सामुदायिक विद्यालयमा रहेका विद्यामान समस्याको क्रमिकरुपले हल गर्दै शैक्षिक गुणस्तर सुधार गरिने बताए । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले सरकारले शिक्षा क्षेत्रमा प्रर्याप्त बजेट विनियोजन नगरेका कारण सामुदायिक विद्यालयको समस्या सामाधान हुन नसकेको जिकिर गरे । सरकारले शिक्षा क्षेत्रमा विनियोजन गर्ने बजेट हरेक वर्ष घट्दै गएको भन्दै उनले बढाउनु पर्ने क्षेत्रमा बजेट घटाउनुले पनि शिक्षा क्षेत्रमा प्रगति हुन नसकेको बताए ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकासको लागि नगरस्तरमा नीति बनाएर अगाडि बढ्ने बताए । ‘अब प्राविधिक शिक्षाको आवश्यकता छ’, उनले भने, ‘शैक्षिक गुणस्तर विकास र शिक्षालाई परिणाममुखी बनाउन प्राविधिक शिक्षा सुरू गर्नुपर्छ ।’ विद्यालयको पूर्वाधार विकास, शिक्षक दरबन्दी सहज, शिक्षण सिकाइलाई प्रभावकारी बनाउन गर्नुपर्ने सबै कामलाई प्राथमिकता दिने उनको भनाइ छ । ग्रामीण क्षेत्रमा रहेका र बजार क्षेत्रमा रहेका विद्यालयहरुको वर्गीकरण गरी सोको आधारमा शैक्षिक नीति अवलम्बन गर्ने मेयर वनले बताए । ‘यो अन्तक्र्रियाबाट सामुदायिक विद्यालयको समस्या पहिचान भएको छ’ मेयर वनले भने, ‘अब समस्यालाई मसिनो रुपले केलाएर समस्या सामाधानतर्फ अगाडि बढ्नु पर्छ ।’
कार्यक्रममा उपमेयर विमला दुवाडी, विद्यालय निरीक्षक दीपक सिग्देल, नगर शिक्षा समितिका संयोजक रामकृष्ण सिँखडा, मोहना माविका सल्लाहकार प्रेमप्रसाद रेग्मीलगायत अन्य सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा अध्यक्षहरुले मन्तव्य राखेका थिए । रत्ननगरमा ३२ वटा सामुदायिक विद्यालय रहेका छन् । स्थानीय तहको निर्वाचनपछि सबै सामुदायिक विद्यालय स्थानीय सरकारको मातहतमा आएका छन् ।

Comments

About the author

चितवन पोष्ट