गृह » प्रशासनले बाड्यो १३ करोड राहत
प्रमुख समाचार

प्रशासनले बाड्यो १३ करोड राहत

दिपेन्द्र अधिकारी
भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले गत आर्थिक वर्षमा विभिन्न चार शीर्षकमा १३ करोड बढी राहत रकम वितरण गरेको छ ।
सबैभन्दा बढी वैदेशिक रोजगारतर्फ चार करोड २६ लाख वितरण भएको छ । त्यस्तै द्वन्द्वपीडितलाई आठ करोड ७६ लाख ६६ हजार रूपैयाँ वितरण गरिएको छ । सवारी दुर्घटनाबाट पीडितका लागि कूल एक करोड ४३ लाख ८० हजार रूपैयाँ वितरण गरिएको छ । सबै भन्दा कम प्राकृतिक प्रकोपतर्फ तीन लाख ४७ हजार ५९० रूपैयाँ राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो छ । जिल्ला प्रशासन कार्यालयमा राहदानी बनेको आधारमा पनि वैदेशिक रोजगारीमा जानेको अनुमान लगाउन सकिन्छ । वैदेशिक रोजगारीमा जानेहरु बढ्दै गर्दा वैदेशिक रोजगारीको क्षतिपूर्ति रकम पनि बढेको छ । प्रशासन कार्यालय चितवनबाट गत आर्थिक वर्षको अवधिमा वैदेशिक रोजगारी क्षतिपूर्तितर्फ कूल चार करोड २६ लाख ३६ हजार १९८ रूपैयाँ वितरण गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
गत आर्थिक वर्षको अवधिमा चितवनमा १७ हजार २४ जनाले राहदानी बनाएका छन् । १४ हजार ७ जनाले साधारण तरिकाबाट र तीन हजार १७ जनाले दु्रत तरिकाबाट राहदानी बनाएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए । मंगलबार भरतपुरमा जिल्ला प्रशासन कार्यालय चितवनले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा प्रशासन कार्यालयबाट भए गरेका कामहरु र योजनाहरुको बारेमा जानकारी गराइएको थियो ।
प्रशासनबाट १६ हजार १६६ नागरिकता लिएको, प्रतिलिपी आठ हजार ७१५ नागरिकता लिएको प्रशासनले जनाएको छ । ७५५ जनाले नाबालक परिचयपत्र लिएको जनाइएको छ । त्यस्तै ९५ जनाको विवाह दर्ता भएको छ । प्रशासनमा एक वर्षको अवधिमा एक हजार ११६ जनको ठाडो उजुरी परेको प्रशासनले जनाएको छ । बजार अनुगमनका क्रममा यस अवधिमा १२४ वटा खाद्य नमूना संकलन गरिएको छ । ६९ पटक बजार अनुगमन गरिएको प्रजिअ भट्टले जानकारी दिए ।
भविष्यमा गृह प्रशासन सुधार मार्ग चित्रको कार्यान्वयन गर्ने, चितवन सेवा सुधार मार्ग चित्रको कार्यान्वयन गर्ने, कार्यालय परिसरमा बगैंचा विकास, बजार अनुगमन कार्य प्रभावकारी बनाउने, प्रविधिको प्रयोग बढाउने, घुम्ती सेवालाई निरन्तरता दिने र सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम कार्यान्वयन गर्ने उनले बताए ।
कार्यक्रममा राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, अन्य सरकारी कार्यालय प्रमुख, जिल्लाका सुरक्षा निकायका प्रमुख, भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीलगायतको उपस्थिति रहेको थियो ।

 

Comments

About the author

चितवन पोष्ट