गृह » विदेशीको सहयोगमा चेपाङ केन्द्रमा भवन
अर्थ समाचार समाज

विदेशीको सहयोगमा चेपाङ केन्द्रमा भवन

रत्ननगर । गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालबालिकाहरुको आवासका लागि पोर्चुगलको एक संस्थाले भवन निर्माण गरिदिएको छ ।
पोर्चुगल स्थित सोनार नामक संस्थाले करिब पाँच लाख लागतमा एक कोठे भवन निर्माण गरेको हो । सो संस्थाका स्वयम् सेवकहरुले १० दिनमा निर्माण गरेको सो भवन मंगलबार एक कार्यक्रमका बीच गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई हस्तान्तरण गरेको छ । सोनार संस्थाका प्रतिनिधि आना फेरेरासहित पाँच जनाले केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई सो भवन हस्तान्तरण गरे ।
भवन अभावका कारण केन्द्रमा आश्रित बालबालिकालाई असुविधा हुँदै आएको थियो । सौराहाका होटल व्यवसायी श्रीरलाल परियारमार्फत सो संस्थाले पोर्चुगलमा संकलन गरेको रकमले भवन निर्माण गरेको सो अवसरमा बताइयो । केन्द्रमा हाल १०२ जना चेपाङ बालबालिका आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् । यसैबीच खाद्यान्न अभावबाट गुज्रिरहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रमा रहेका बालबालिकाका लागि मंगलबारनै लत्ता कपडा र आर्थिक सहयोगसमेत भएको छ । रत्ननगर–१३ जयमंगला स्थायी घर भई हाल वैदेशिक रोजगारी लागि इजरायलमा रहेकी निर्मला पौडेलले लत्ता कपडा र नगद ३४ हजार रूपैयाँ केन्द्रलाई सहयोग गरेकी हुन् ।
आर्थिक स्रोत नहुँदा सो केन्द्रमा बिजुलीको लाइन काटिएको छ । पौडेलले सहयोग गरेको रकम मध्येबाट तिर्नुपर्ने बिजुलीको २६ हजार रकम भुक्तानी गरिने र बाँकी ८ हजार बिहान बेलुकाको खानामा खर्च गरिने केन्द्रका अध्यक्ष केपीकिरण शर्माले बताए । पौडेल र उनकी सासू विष्णु माया पौडेलले लत्ता कपडा र सो रकम केन्द्रका अध्यक्ष शर्मालाई हस्तान्तरण गरेकी थिइन् ।

Comments

About the author

चितवन पोष्ट