गृह » यी असफल चिकित्सकहरुलाई हेर्दा
सम्पादकीय

यी असफल चिकित्सकहरुलाई हेर्दा

स्वदेशकै मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेका डाक्टरहरुले मेडिकल लाइसेन्स परीक्षामा प्राप्त गरेको नतिजा हेर्दा त्रिविवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसी किन श्रृंखलाबद्ध रुपमा अनशन बसेका होलान् भन्ने कुरा प्रस्ट हुन्छ । विगतमा विदेशका विभिन्न मेडिकल कलेजहरुबाट एमबीबीएस पास गरेकाहरुले मेडिकल लाइसेन्स परीक्षा दिँदा अनुत्तीर्ण प्रतिशत बढी आउने गरेको थियो । तर, गुणस्तरीय भनिएका स्वदेशका मेडिकल कलेजबाटै एमबीबीएस पास गरेका २७६ परीक्षार्थीमा १७८ अर्थात् ३५ प्रतिशत अनुत्तीर्ण हुनुले मेडिकल कलेजहरुको परीक्षा प्रणाली कस्तो रहेछ भन्ने छर्लङ्ग भएको छ । मेडिकल काउन्सिलले यो अनुत्तीर्ण प्रतिशतलाई हालसम्मकै उच्च भनेको छ । नेपालका जुनसुकै मेडिकल कलेजमा पढाइको गुणस्तर राम्रो रहेको प्रचार गरिरहँदा ३५ प्रतिशत विद्यार्थी फेल हुनुले यो प्रचार विज्ञापनमुखीमात्रै हो भन्न करै लाग्छ । मेडिकल लाइसेन्सको सामान्य सैद्धान्तिक परीक्षामा समेत उत्तीर्ण हुन नसक्ने प्रमाणपत्रधारी डाक्टरहरुले क्लिनिकल दक्षताको परीक्षा दिनुपरे परिणाम झनै भयावह आउनेमा शंका छैन ।
चिकित्सा शिक्षा र सेवामा गुणस्तरको माग राख्दै अनशन बस्न बाध्य भएका जनताका डाक्टर डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दासमेत गम्भीर बन्न नसक्ने राजनीतिक दलहरु मेडिकल कलेजको बचावट गर्न भने उत्तिकै सक्रिय छन् । मेडिकल काउन्सिललाई कुन मेडिकल कलेजबाट कति विद्यार्थी फेल भए भन्ने तथ्य सार्वजनिक नगर्न राजनीतिक दल र लगानीकर्ताको दबाब बढिरहेबाट मेडिकल शिक्षा माफियातन्त्रकै कब्जामा रहेको बुझ्न गाह्रो पर्दैन । निजी मेडिकल कलेजहरुले चिकित्सकहरुको संख्यात्मक वृद्धि गरे पनि गुणात्मकताको ग्यारेन्टी नगर्ने भएकाले दक्ष चिकित्सकको संख्या नगन्यजस्तै देखिएका छन् । मेडिकल लाइसेन्स परीक्षामा संख्यात्मक हिसाबले चिकित्सकहरुको वृद्धि हुने गरेका कारण अनुत्तीर्ण प्रतिशत बढेको हो । गुणात्मक शिक्षा दिने मेडिकल कलेज स्थापनामा सरकारको ध्यानाकर्षण हुन सकेको भए चिकित्साशास्त्रको व्यापार मौलाउने नै थिएन । मेडिकल शिक्षामा व्यापारीकरण बढ्दै गएपछि नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने माग तीव्र रुपमा उठ्न थालेको हो ।
पछिल्लो समय मेडिकल कलेज खोल्ने क्रम झनै मौलाएर गयो । दक्ष जनशक्ति उत्पादन गर्नका लागि मेडिकल कलेज खोलिनुपर्ने थियो । तर, नितान्त व्यापारका हिसाबले खोलिने र सम्बन्धनमा आर्थिक चलखेल हुने प्रवृत्ति बढ्दै गएपछि प्रस्ताव गरिएका केही मेडिकल कलेजले सम्बन्धन पाउन सकेनन् । एउटा राम्रो मेडिकल कलेज स्थापना हुनका लागि कम्तीमा ७०० शैयाको सबै विभागयुक्त आफ्नै शिक्षण अस्पताल र प्राज्ञिक दख्खल एवम् अनुसन्धानको वृत्ति भएका कम्तीमा २४० चिकित्सकसहित आवश्यक उपकरण तथा पूर्वाधार निर्माणको आवश्यकता चाहिन्छ । तर, मेडिकल कलेज खोल्ने होडमा मापदण्डविपरीत धमाधम कलेज खुल्न थालेपछि डा. केसीले त्यस्तो प्रवृत्तिको विरोध गरेका हुन् । सरकारले आफ्नै लगानीमा सातै प्रदेशमा गुणात्मक शिक्षा दिने मेडिकल कलेज स्थापना गर्नुपर्ने माग त्यसै उठेको होइन । हामीले लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुन नसक्ने डाक्टरहरु होइन, गुणस्तरीय चिकित्सा शिक्षा अध्ययन गरी विशेषज्ञ डाक्टर उत्पादन गर्ने मेडिकल कलेजहरुको खाँचो देखिएको छ । सरकारले यस्तै विकृतिको अन्त्यका लागि अनशन बस्न बाध्य डा. केसीको माग सम्बोधन गरेर चिकित्सा क्षेत्रका बेथितिहरुको अन्त्य गर्नु आवश्यक छ ।

Comments

About the author

चितवन पोष्ट