गृह » चुनाव जितेको ७० दिनमा शपथ, पदबहालीका लागि साइत जुराउँदै वडाध्यक्ष
प्रमुख समाचार राजनीति

चुनाव जितेको ७० दिनमा शपथ, पदबहालीका लागि साइत जुराउँदै वडाध्यक्ष

दिपेन्द्र अधिकारी
भरतपुर । एमालेका तर्फबाट निर्वाचित वडा अध्यक्षहरु मध्ये १२ जनाले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई सपथ लिएका छन् । वडा सदस्यले भने महानगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा महानगर प्रमुख रेणु दाहालसँग शपथग्रहण गरेका हुन् ।
वडा नम्बर ४ र ७ का वडाध्यक्षको सम्बन्धमा भने उच्च अदालतमा मुद्दा रहेकाले शपथ भएको छैन । आइतबार भएको शपथ ग्रहणमा मतपत्र च्यात्ने पनि सँगै रहेको भन्दै एमाले चितवनले उक्त शपथ कार्यक्रम बहिस्कार गरेको थियो । गत वैशाख ३१ गते भएको चुनावमा विजयी भएका सबै वडाध्यक्षले शपथ लिएका हुन् ।
वडाध्यक्षहरुमध्ये केहीले सोमबार नै पदबहालीसमेत गरेका छन् । पद बहालीपछि केहीले जनपक्षीय निर्णयसमेत गरेका छन् । ‘चुनाव जितेको ७० दिनपछि शपथ ग्रहण गरेका छौ’ं, भरतपुर १० नम्बर वडाका वडाध्यक्ष अरुण पीडित भण्डारीले भने, ‘जनताको काम गर्न नपाउँदा यो समय निकै लामो लागेको थियो ।’ सोमबार पदबहाली ग्रहण गर्दै अध्यक्ष भण्डारीले पहिलो निर्णयस्वरुप भरतपुरमा ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिने बताएका छन् ।
यसका लागि ठाउँको खोजीसमेत भइसकेको उनले बताए । आइतबार नै भरतपुरका मेयर उपमेयर र १५ जना वडाध्यक्षले शपथ लिएका थिए । एमालेले भरतपुर महानगरमा मात्रै ७० स्थान जितेको छ । भरतपुरमा कूल १४७ सिट रहेको छ । १२ वडाध्यक्ष कांग्रेस र ३ माओवादी केन्द्रका रहेका छन् । चितवनका ७ स्थानीय तह मध्ये एमालेले ४ नगरपालिकामा प्रमुख उपप्रमुख र माडी नगरपालिकामा उपप्रमुख जितेको छ ।
आइतबार नै वडाध्यक्षको शपथ लिएका वडा नम्बर ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले आइतबार अबेला भएको, सोमबार ग्रहण लाग्ने, मंगलबार दिन शुभ नरहेकोले बुधबार मात्र पदबहाली गर्ने जानकारी गराए ।
दुई वडाका पराजित वडा अध्यक्षले मतगणनाको नतिजामा आफ्नो चित्त नबुझेको भन्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दिएका थिए । सो पश्चात् जेठ २१ गते उच्च अदालतले हालका लागि अध्यक्षको हैसियतमा शपथग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्नु÷नगराउनु भनी बिपक्षीका नाममा आदेश दिएको थियो ।
प्रहरीको स्कर्टिङमा पैसा बाँडियो : एमाले
नेकपा एमाले चितवनले भरतपुर १९ मा भएको पुनःमतदानमा राज्य शक्तिको चरम दुरुपयोग गरेको बताएका छन् ।
विकासका नाममा करोडौं रकम रकमान्तर गरेको, जनतालाई झुटा आश्वासन दिएको, चुनावको अघिल्लो दिन प्रहरीको सहयोगमा मेयर उम्मेदवार रेणु दाहालको उपस्थितिमै पैसा बाँडिएको जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले बताए । सोमबार बिहान पार्टी कार्यालय भरतपुरमा पत्रकार सम्मेलन गरी एमाले चितवनले निर्वाचनमा भएको सबै किसिमका गतिविधि लोकतन्त्र विरोधी भएको आरोप लगाएको छ । साथै उसले अदालतले मुद्दा हाल्दा छिट्टै न्याय देला भनी अदालत गएकोमा सरकारको इशारा अनुसार सबै कुरा मिलाएर ढिला मात्र फैसला गरेर चुनाव हराउने रणनीति गरेको समेत बताए । मेयर पदका दाबेदार देवी ज्ञवालीले १९ नम्बर वडाको परिणाम स्वभाविक नभएको प्रतिक्रिया दिए ।

Comments

About the author

चितवन पोष्ट