गृह » बाढी प्रभावित शंकरपुरमा स्वास्थ्य शिविर
स्वास्थ्य

बाढी प्रभावित शंकरपुरमा स्वास्थ्य शिविर

कावासोती । बाढी प्रभावित नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको वडा नं १ शंकरपुरमा सोमबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
१७६ घरधुरी रहेको सो गाउँमा बिहीबार झरही खोलामा आएको बाढी पसेर अधिकांश घर डुबानमा परेका थिए । घर डुबानमा परेपछि स्थानीयवासीलाई विद्यालय तथा केही आफन्त कहाँ बसेका छन् ।
करिब ३० घरधुरी अझै पनि डुबानमा छन् । बाढीका कारण दूषित बनेको पानीले झाडापखला, हैजालगायतका रोजको प्रकोप देखिन सक्ने खतरा भएपछि रम्पुरवा स्वास्थ्य चौकीले सोमबार शंकरपुरमै पुगेर बाढी प्रभावितको स्वास्थ्य परीक्षण गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अरुणकुमार महत्तोको निर्देशन र रम्पुरवा स्वास्थ्य चौकीका इन्चार्ज श्यामसुन्दर चौधरीको पहलमा चौधरीसहित स्वास्थ्य चौकीमा कार्यरत रेनु कार्की, अरुण यादव तथा पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रका महेश्वर गुप्तलगायतको टोलीले स्थानीय १६५ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि पनि वितरण गरेको टोलीमा सहभागी स्वास्थ्यकर्मी रेनु कार्कीले बताइन् ।

Comments

About the author

चितवन पोष्ट