गृह » डा. केसीको जीवन रक्षा गर
सम्पादकीय

डा. केसीको जीवन रक्षा गर

चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै १५ दिनदेखि आमरण अनशनमा रहेका प्राडा गोविन्द केसी अहिले राष्ट्रिय समाचारको शीर्षस्थानमा रहेका छन् । मधेसवादीहरुको साझा दल राजपा संविधान संशोधनबिना तत्काल चुनावमा नजाने र तीन टुक्रामा विभाजित भएको राप्रपालाई कुनातिर पन्छाएर हेर्दा डा केसीको सत्याग्रह नै समाचारको मह¤वका हिसाबले प्राथमिकता पाएको छ । पटकपटक लगभग पुरानै मागको निरन्तरता दिएर अनशन बस्दै आएका डा केसीको यो एघारौँ अनशन हो । मेडिकल कलेजलाई जथाभावी सम्बन्धन दिने, सिट संख्या तोक्ने, निश्चित मापदण्डबिना नै विद्यार्थी भर्ना गर्ने, मनोमानी ढंगले महँगो शुल्क असुल्नेजस्ता विकृतिको अन्त्य गर्न डा केसीले पटक–पटक आमरण अनशन रोज्न पुगेका छन् । चिकित्सा क्षेत्रको विकृति चिरफार गरी सर्वसाधारणलाई सर्वसुलभ ढंगले स्वास्थ्य सेवा दिलाउन अनशनको अस्त्र प्रयोग गरेका सत्य, निष्ठा र त्यागका प्रतिमूर्ति डा. केसीको स्वास्थ्य अवस्था एकदमै जटिल बन्दै गए पनि सरकारले गम्भीरता देखाएको छैन । देश र जनताको हितका लागि आफ्नो जीवनलाई नै बाजीमा राखेर अनशन बस्दा गणतान्त्रिक भनिएको सरकारले आवश्यक मानवीय संवेदनशीलता प्रदर्शन गर्न नसक्नु विडम्बनाको विषय हो ।
सरकारले डा केसीसँग सरकारी समिति बनाए पनि हालसम्म कनै पनि निष्कर्षमा पुग्न सकेको छैन । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले डा केसीले अनशन फिर्ता लिएर संसद्को सर्वोच्चतालाई सम्मान गर्न अपिल गरिरहँदा स्वास्थ्य स्थिति नाजुक भइसक्दासमेत डा केसीको मागका सम्बन्धमा सरकार गम्भीर नहुनु अर्को दुर्भाग्य मान्न सकिन्छ । सरकारीको लाचारीपन गैरजिम्मेवारी मात्र नभएर पराजित मानसिकताको उपजका रुपमा लिन सकिन्छ । किनभने, यसअघिका अनशन तोडाउनेक्रममा सरकारले डा. केसीसँग गरेका सम्झौताहरु कार्यान्वयन गर्न सकिरहेको छैन । माथेमा आयोगको प्रतिवेदनअनुसार चिकित्सा विधेयक हाल संसद्मा विचाराधीन अवस्थामा रहेको अवस्थामा उक्त विधेयकलाई उच्च प्राथमिकताका साथ द्रुत गतिबाट पारित गराउनेतर्फ सरकारको सक्रियता अहिले आवश्यक देखिएको छ । सरकारले विधेयक चाँडै पारित गराउने आश्वासन त दिएको छ, तर डा केसीले यसलाई उधारो आश्वासन भन्दै मह¤व दिएका छैनन् । सरकारले विगतमा सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने कारण देखिने गरी ठोस प्रस्ताव र म्यान्डेटबिना अनशन जारी राख्ने डा केसीको अडान छ ।
अनशनको १५ दिनसम्म उनको स्वास्थ्यस्थिति अत्यन्त चिन्ताजनक अवस्थामा पुगेको जानकारी चिकित्सकहरुले दिएका छन् । उनको अनशनको समर्थनमा चिकित्सा तथा स्वास्थ्यकर्मीले ऐक्यबद्धता जनाउँदै आएका छन् । सोलिडारिटी फर डा केसी अलाइन्सले जारी राखेको रिले अनशनमा सयौँ व्यक्ति सम्मिलित छन् । डा केसीका माग पूरा गर्न विभिन्न देशमा रहेका स्वतन्त्र राष्ट्रप्रेमी युवाहरुले हस्ताक्षर अभियान, ज्ञापनपत्र र विज्ञप्ति जारी राखेका छन् । सामाजिक सञ्जालमा डा केसीप्रति ऐक्यबद्धता जनाउँदै सरकारलाई नैतिक दबाब दिँदै स्टाटस पोष्ट गर्नेको संख्या बढ्दो छ । डा केसीको माग पूरा गराउन दबाब दिँदै चिकित्सकहरु देशव्यापी आमहड्तालमा उत्रिने तयारी गरिरहेका छन् । यस्तो परिस्थितिमा सरकारको देख्ने आँखा र सुन्ने कान नहुनु विडम्बनापूर्ण छ । आमरण अनशनकै क्रममा डा केसीको जीवन तलमाथि भयो भने यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने हुन्छ । तसर्थ, सरकारले डा केसीको जायज माग पूरा गर्ने प्रतिबद्धतासहित उनको जीवन रक्षा गर्नु आवश्यक देखिएको छ ।

Comments

About the author

चितवन पोष्ट