गृह » देवी ज्ञवालीको अबको बाटो
विचार

देवी ज्ञवालीको अबको बाटो

किशोर खनाल
४२ हजार ९२३ मत ल्याउनु भनेको ‘नट अ जोक’ ! भरतपुर महानगरका एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ल्याएको मत पक्कै जोक होइन । अत्यन्तै झिनो मत २०३ मतले उनले मेयर पदमा पराजित हुनु परेको हो । तर उनी महानगरका जनताको मुटुमा बस्न पराजित भएका छैनन् । जनताको सुःखदुःखमा बस्न पराजित भएका छैनन् ।
अति झिनो मतले पराजित भएका देवी ज्ञवालीको अबको बाटो कता ? यो प्रश्न प्रत्येक चोकचोक तथा गल्लीगल्लीमा यतिबेला व्युँतिरहेको छ । हुन त यसअघि पनि उनले पराजय नभोगेका होइनन् । जित र पराजित दुवैबाट परिचित छन् उनी । २०६४ सालको पहिलो संविधानसभामा चितवन क्षेत्र नम्बर ३ बाट उनी पराजित भएकै हुन् । २०५४ सालको स्थानीय चुनावमा एमालेबाट देवी ज्ञवाली उपमेयरमा विजयी भएका हुन् । जित–हार उनको साथी भएको छ ।
उनको लागि जित–हार एउटै सिक्काका दुई पाटाजस्ता पनि भए । माथि हावामा फाल्दा कहिले कता पल्टन्छ, कहिले कता । देवी ज्ञवालीको लागि २०६४ को हारजस्तो अहिलेका हार भएन । अत्यन्तै झिनो मतले उनले यसपटक पराजय भोग्नु प¥यो । हुन त यसमा विविध परिस्थितिहरु देखा परे । ती विविध परिस्थितिसँग नैतिक सिंगौरी खेल्दाखेल्दा उनी पराजित भए ।
देवीलाई मत दिनेहरु यसलाई देवीको जित भनिरहेका छन् । दोस्रोपटक चुनावमा देखिएका विविध परिस्थितिसँग जुध्न न देवी ज्ञवाली सके, न उनको पार्टी नै सक्यो । अन्ततः उनको पोल्टामा यसपटक हार नै प¥यो ।
चितवनको राजनीतिमा देवी महानायक बनेका छन् । उनको यो अप्रत्याशित हारलाई महानगरवासीले जितको संज्ञा दिइरहेका छन् । देवीले हारेर पनि जितेका हुन् । देवी झण्डै ४३ हजार महानगरका मतदाताका मुटुमा बसेको कुरालाई उनको मतले पुष्टि गरेको छ । उनले भरतपुरका जनताको सहानुभूति पाएका छन् । ४२ हजार ९२३ मतदाताले ‘देवी तिमी अघि बढ्, पालो फेरि आउँछ’ भनिरहेका छन् । देवीलाई महानगरको विकासमा अघि बढ्न हौसला थपिरहेका छन् ।
कतिले त अब देवीले राजनीति छोड्छ, यो हारले देवीको होसहवास उड्योसमेत भने । तर, मलाई लाग्छ, एकचोटी हार्दैमा देवी ज्ञवालीजस्ता चितवन जिल्लाको राजनीतिका महानायक बनेका जुझारु हस्ती राजनीतिबाट विश्राम लिँदैनन्, र लिनु पनि हुँदैन । देवीले पराजय भोगे पनि उनको राजनीतिको हाइट चुलीमा पुगेको छ । अब देवीलाई चितवनले मात्र होइन, राष्ट्रले मात्र होइन, अन्तर्राष्ट्रियले चिन्नेछ । उनको हाइट यति बढेको छ कि, जुन चितवनका कुनै पनि नेताले यस्तो हाइट बनाएका छैनन् ।
देवीजस्ता राजनीतिक हस्ती अब झन सक्रिय भएर लाग्न जरुरी छ । देवीले हरेक मतदातालाई पुनः भेटर मलाई भोट दिएर जितको मुखैमा पु¥याउनु भएकोमा धन्यवाद भन्न बाँकी नै छ । राजनीतिमा अवसर पटकपटक आउँछ, जनताको मन मुटुमा बसेका राजनीतिज्ञले सधैँ पराजयमात्र भोग्नुपर्ने अवस्था पक्कै आउँदैन ।
२०१९ सालमा पर्वतमा जन्मिएका देवीले सम्पूर्ण जीवन राजनीतिमा लगाएका छन् । मलाई थाहा छ, म टालाटुली बाटुली खेल्ने बेलामा मेरो गाउँको प्रत्येक घरआँगनमा पुगेर जनताको सुःखदुःख सोध्ने र समस्या हल गर्न निरन्तर लागिरहने उनको बानी आज ५५ वर्षसम्म पुग्दा पनि हटेको छैन । भोलि पनि हट्ने छैन । उनको यही बानीले एक दिन अवश्य देवीलाई महानगरवासीले चुलीमा पु¥याउनेछन् ।
मामाहरुको कमिजको फेर समाउँदै राजनीतिमा होमिएका देवी ज्ञवालीको रगत भरतपुरका जनताको लागि धेरै बगेको छ । भरतपुरका हरेक समस्यामा देवी उपस्थित हुन्थे । यो उपस्थिति अब झन् बढ्नुपर्छ । विचलित नभई, सक्रिय भएर जनताको मनमा देवी भिज्नुपर्छ । अहिलेसम्म जनताको मनमा देवी रुझेका रहेछन्, अब भिज्न जरुरी छ ।
२०४३ सालबाटै स्कुले जीवन छँदाछदै बामपन्थी राजनीतिमा जीवन समर्पित गरेका देवी कहिल्यै ओझेलमा पर्नुहुँदैन । केदार न्यौपाने, मुकुन्द न्यौपानेजस्ता व्यक्तिको संगतले बामपन्थी राजनीति सुरू गरेका देवी ज्ञवाली अहिल्यै राजनीतिबाट ओझेल पर्ने बेला आएको छैन । पार्टीले उनको उच्च मूल्याङ्कन गरेर चुलीमा पुग्ने अवसर दिनुपर्छ ।
समाजकै डाक्टर बन्ने अभिलाशा बोकेर स्कुले जीवनदेखि नै राजनीति गरेका देवी अब पनि पहिलेजसरी पटकपटक महानगरवासीको घरदैलोमा पुग्न बिर्सनुहुँदैन । जनताको समस्यामा सँगसँगै रहन भुल्नुहुँदैन । अहिले जित मुखसम्म आयो, अबको जित मुखमै क्वाप्प पर्न बाँकी छ ।
भनिन्छ, बगेको खोलो फर्किन्न, तर १२ वर्षमा खोलो पनि फर्किन्छ । देवीको दिन फर्कन अझै समय लाग्ने भयो । महानगरवासीको मुटुमा बस्न सफल भएका छन् भने देवीको जित्ने दिन अवश्य छिटै फर्कनेछ । १२ वर्ष कुर्नैुपर्दैन ।
प्रवेशिका पास गरेपछि ०३० सालमा पुष्पलाल समूहको बाल सांस्कृतिक समूहमा आवद्ध भएर विद्यार्थी राजनीतिमा होमिएका देवीलाई अहिलेको हारले झन् उर्जा मिलेको छ । उनी यसरी लाग्न जरुरी छ, मत नदिनेहरुलाई थकथकी लागोस् ।
राजनीति गर्दा देवीले कम्ती त हण्डर खाएका छैनन् । कति हण्डर खाएका छन्, त्यो उनलाई नै थाहा छ । २०३७ सालमा चितवनका अखिलका अध्यक्ष भएका हुन् देवी । त्यहाँदेखि नै उनको राजनीति हण्डर सुरू भएको हो । त्यो बेलामा जिल्लामा बामपन्थी मान्छे ज्यादै कम थिए ।
घरपरिवार त्यागेर सदस्यता विस्तार गर्न देशभरको यात्रामा हिँडको थिए उनी । त्यो बेलामा सिला खोज्नुपर्ने बामपन्थीलाई अहिले च्याउसरी बनाउन उनको पनि ठूलो भूमिका छ ।
देवीलगायतका कार्यकर्तालाई पढाइ नै छोडाएर पार्टीले पञ्चायतविरोधी आन्दोलनमा लगाएकै हो । जनताको मुक्तिको लागि पञ्चायतीविरोधी आन्दोलनमा देवी ज्ञवाली होमिएर लागे । घरपरिवार सबै छोडेर पूर्णकालीन राजनीतिक कार्यकर्ता हुँदै राजनीतिक परिवर्तनका लागि समाहित भए ।
देवीको नशानशामा राजनीति छिरेको छ, यस्तो व्यक्तित्वलाई अहिलेको हारले कति पनि विचलित पार्नेछैन, झन सक्रिय बनाउने आशा महानगरवासीको छ । २०३८ सालदेखि चितवनमा मात्र होइन, देवी सिन्धुली, मकवानपुर, ललितपुर, बारा, पर्सामा संगठन विस्तारमा दौडेका नेता हुन् ।
२०४६ सालमा उनी बारा जिल्लाको पार्टी सचिवसमेत भए । अहिले बारा जिल्ला गएर बुझ्दा पनि देवीको छवि, पार्टीमा पु¥याएको योगदान प्रष्ट थाहा हुन्छ ।
कुनै समय देवी ज्ञवालीको मदन भण्डारीसँग उठबस हुन्थ्यो । कतिपय उनमा मदन भण्डारीको गुण पनि देखिन्छ । मदन भण्डारीले उनलाई आफ्नै जिल्ला चितवन गएर राजनीति गर्न भनेका हुन् । मदन भण्डारीको प्रेरणाबाट उनी चितवन जिल्लामा समाजसेवी सँगसँगै राजनीतिज्ञ भएर होमिए ।
उनमा अद्भूत क्षमता छ, चितवनका कुन ठाउँमा कुन जातिको बसोबास छ, कण्ठस्थ सुनाउन सक्छन् । उस्तै परे कुन घरमा को व्यक्ति बस्दै आएको छ, त्यो पनि उनी भन्न सक्छन् । बालापनदेखि यहीँको माटोमा हुर्केका देवीलाई यो माटोले अझै चिन्न बाँकी रहेछ । एकदिन चितवनको माटोले उनलाई चिन्नेछ ।
०३२ सालमा चितवन झरेका ज्ञवाली ०३४ सालमा रेड गार्डको सदस्य, ०३५ सालमा वामपन्थीहरुको युवक संगठन युथ लिगको सचिव, ०३६ मा अनेरास्ववियु एकताको पाँचौँ संस्थापक अध्यक्ष, ०३८ मा पार्टीको संगठित सदस्यता लिएका देवीलाई चितवनको माटोले २०५४ सालमा चिनेको हो । यसपटक चिन्दाचिन्दै भुल्यो । अब यसरी भुल्ने छैन भनेर चितवनको माटोले कसम खान बाँकी नै छ । सायद, देवीका अबका दिनहरुले चितवनको माटोलाई भुल्न दिनेछैन । ०४७ को जेठमा उनी गृह जिल्ला चितवन फर्किएर यहाँको माटोमा पसिना बगाएका देवीलाई यही माटोले फेरि चिन्नेछ ।
भरतपुर महानगरपालिका वडा नं ४ का स्थायी बासिन्दा ज्ञवालीले ०५४ सालमा उपमेयर हुँदा केही काम गरेनन् भन्ने आरोप पनि लागेको हो । तर आत्मालाई साँची राखेर भन्नुपर्दा उनले नगरको विकासमा काम नगरेका भने पक्कै होइनन् । जतिबेला भरतपुरमा खानेपानीको हाहाकार थियो । खडेरी प¥यो । घरघर गाडीगाडीबाट शुद्ध खानेपानी पु¥याएका पनि हुन्  उनले ।
त्यो पानीलाई चितवनवासीले किन भुल्न सक्छ, यसपटक सबै महानगरवासीको सम्झनामा त्यो सुन्दर कामको याद आएन, अर्कोपटक सम्झनामा आउनेछ । ०६२ र ०६३ मा भएको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका ज्ञवाली महानगरवासीको मेमोरीमा एकछापे भएर बसेका छन् । कुनै बेला उदाउनेछन् ।

Comments

About the author

चितवन पोष्ट