गृह » अवसर र चुनौतीबीच मेयर रेणु
सम्पादकीय

अवसर र चुनौतीबीच मेयर रेणु

अन्ततः भरतपुर महानगरपालिकामा जनप्रतिनिधिले पूर्णता पाएको छ । लामो समयको व्यग्र प्रतीक्षापश्चात् अप्रत्याशित परिणामसहित रेणु दाहाल भरतपुर महानगरको मेयरमा निर्वाचित भएकी छन् । गत शनिबार राति १० बजे सार्वजनिक भएको नतिजाअनुसार कांग्रेस–माओवादी केन्द्र गठबन्धनकी महिला उम्मेदवार रेणुले एमालेका देवी ज्ञवालीलाई २०३ मतले हराउँदै ऐतिहासिक विजय हासिल गरेकी छन् । नेपाली कांग्रेसको व्यापक सहयोग र समर्थनले मात्र उनको शिरमा मेयरको ताज पहि¥याएको सर्वविदितै छ । चितवनमा खुला राजनीति नगरेकी रेणुले प्राप्त गरेको यो सफलता आफैँमा मह¤वपूर्ण र उपलब्धिपूर्ण त छँदैछ, त्यसको पछाडि उनका पिता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको मह¤वपूर्ण योगदान रहेको कुरा पनि सबैले जानेकै विषय हो । जेजसरी भए पनि रेणु दाहाल ४१ वर्षको उमेरमा नवगठित भरतपुर महानगरपालिकाको मेयर बनेपछि अब यसको स्वरुपलाई समृद्ध र नमुना महानगर बनाउने जिम्मेवारी उनको काँधमा आइपरेको छ ।
भरतपुर महानगरमा दुवै महिला मेयर र उपमेयरमा निर्वाचित भएका छन् । उपमेयरमा गठबन्धनबाटै पार्वती शाहले अधिक मतका साथ विजयी बनेकी छन् । स्थानीय तहमा महानगरमा मेयर र उपमेयर दुवै पदमा महिला नेतृत्व निर्वाचित हुनु समग्र महिलाकै लागि गरिमाको विषय पनि हो । चुनावमा हार वा जित हुनु सामान्य प्रक्रिया हो । तर, भरतपुर महानगरको अवस्था अलि बेग्लै भइदियो । कल्पनाविपरीत वडा नं १९ को मतगणनाका क्रममा मतपत्र च्यातिएपछि अढाई महिनासम्म अन्योल बनेको महानगरले पुनः मतदानपश्चात् ढिलै भए पनि मेयर र उपमेयर पाएको छ । चुनावी प्रतिस्पर्धाका क्रममा रेणु दाहाल र पार्वती शाह जुनसुकै पार्टीबाट प्रतिनिधित्व गरे पनि उनीहरु २९ वडैका साझा जनप्रतिनिधि भएका छन् । चितवनलाई वैकल्पिक राजधानी र मेडिकल सिटीका रुपमा विकास गर्नु नयाँ नेतृत्वका लागि चुनौतीको विषय बनेको छ । महानगरवासीका आकांक्षाहरु चुलिएका छन्, ती सबैलाई प्राथमिकताक्रममा राखेर सम्बोधन गर्न पनि उनीहरुले भुल्न हुँदैन । काम गरेर देखाउने हो भने जसले जति टीकाटिप्पणी र असहयोग गर्न खोजे पनि उनीहरुको लोकप्रियता बढेर जाने छ ।
अब महानगरको मेयरले पक्ष र विपक्ष सबैलाई समेटेर समाजको समृद्धिको महान् अभियानको सक्रिय अगुवाइ गर्नुपर्छ । सबैजसो राजनीतिक दल तथा उम्मेदवारले जनताको घरदैलोमा भोट माग्दा सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने जुन प्रतिबद्धता जनाएका थिए, त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने जिम्मेवारी पनि मेयरको काँधमा आइपुगेको छ । नयाँ जोश र जाँगर बोकेर निर्वाचित भएकी रेणुले आफ्नो पाँच वर्षे कार्यकालमा भरतपुरलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर सुन्दर र सभ्य महानगर बनाउने जुन प्रतिबद्धता जनाएकी छन्, यो सकारात्मक र प्रशंसनीय छ । भरतपुरको विकासमा उनको नेतृत्वले आमूल परिवर्तन ल्याउने विश्वास आमनगरवासीले लिएका छन् । उनले गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र र प्रतिस्पर्धी दल एमालेलगायत सबै पक्षलाई साथमा लिएर सामूहिक लक्ष्यका लागि अघि बढ्नु जरूरी छ । जनताको सेवामा समर्पित भएर जनचाहनाअनुरुप काम गरेर देखाउन सके रेणुको कार्यकाल सुखद बन्नेमा दुईमत छैन । भरतपुर महानगरका मेयर, उपमेयरसहित सम्पूर्ण नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सफल कार्यकालको शुभकामना !

 

Comments

About the author

चितवन पोष्ट