गृह » सडक सञ्जालले जोडिएन देवघाटधाम
प्रमुख समाचार समाचार समाज

सडक सञ्जालले जोडिएन देवघाटधाम

–तुलमान गुरूङ
देवघाट । देवघाट तीर्थस्थलको रूपमा जति परिचित र प्रख्यात छ, सुगमताको हिसाबले पनि त्यति नै पछाडि छ । देशकै प्रमुख सहर मानिने नारायणगढबजारबाट नजिकैको दुरीमा रहेर पनि सडक सञ्जालको पहुँच नहुँदा यो ठाउँ तनहुँ जिल्लाकै विकट क्षेत्रको रूपमा रहन पुगेको हो । देवघाट गाउँपालिका जोड्ने गरी भरतपुर–२९ स्थित दासढुङ्गामा बनेको पुलबाहेक अन्त कतै पनि मोटरेवल पुल बन्न सकेको छैन ।
सेती, काली र त्रिशूली गरी तीन ठूला नदीको बीच भागमा पर्ने भएकोले पनि यस क्षेत्रमा सडकको पहुँच पुग्न नसकेको हो । हाल आएर देवघाट गाउँपालिकालाई सडक सञ्जालको पहुँच सबैठाउँमा पु¥याउनका लागि पहल थालेको छ । गाउँपालिका प्रमुख दुर्गाबहादुर थापामगरका अनुसार यही साउन २ गते देवघाट गाउँपालिकाका विभिन्न स्थानमा पुलको आवश्यकता परेको भन्दै पूर्वाधार विकास महाशाखालाई पत्राचार गरेको छ ।
पत्रमा देवघाट–२ खाल्टेबाट नवलपरासी जिल्लाको बुलिङटार गाउँपालिका र देवघाटको वडा नं १ कोटाबाट नवलपरासी जिल्लाकै गैँडाकोट नगरपालिका–३ स्थित ढोडेनी जोड्ने गरी काली गण्डकीमा दुईवटा पुल, देवघाट–२ मास्दीघाटबाट तनहुँको ब्यास नगरपालिका–१४ जोड्ने, देवघाट–३, ङाल्दीघाट र सारङ्घाटबाट बन्दीपुर गाउँपालिकाको वडा नंं. ६ लाई जोड्ने गरी दुईवटा पुल निर्माण गर्नुपर्ने विषय उल्लेख गरिएको छ ।
यस्तै देवघाट–४ गाईघाटबाट भरतपुर महानगरपालिकाको २९ नं. वडालाई जोड्ने गरी गाईघाटमा पुल निर्माण गर्न सकिने विषयमा पनि केन्द्रमा पत्राचार गरिएको उनले बताए । देवघाट गाउँपालिकालाई जोड्ने गरी छवटा मोटरेवल पुल आवश्यक परे पनि हालसम्म सारङ्घाटबाट बन्दीपुर जोड्ने र मास्दीघाटबाट व्यास नगरपालिका १४ लाई जोड्ने गरी सेती नदीको दुइस्थामा मात्रै सम्भाव्यता अध्ययन भएको गाउँपालिका प्रमुख मगरले जानकारी दिए ।
यस्तै गरी देवघाट ४ स्थित ऐलुनबाट आँबुखैरेनी गाउँपालिकाको वडा नं ६ लाई जोड्ने गरी सेती नदीमा एउटा झोलुङ्गे पुलको पनि निर्माण गर्नुपर्ने भएकोले महाशाखामा यस विषयमा पनि पत्राचार गरिसकिएको उनले बताए । तर, देवघाट गाउँपालिकालाई छिमेकी जिल्लाहरूसँग सडक सञ्जालमा जोडिनका लागि त्यति सजिलो नभएको उनको भनाइ छ ।
तर, गाईघाटस्थित भरतपुरसँग जोडिने गरी त्रिशूली नदीमा पुल निर्माण नभएसम्म यहाँको सडक सञ्जाल सजिलो नहुने उनले बताए । यस्तै अर्को ठूलो समस्या बञ्चरे पहाड चुनौतीको रूपमा रहेको उनले बताए । ‘गाइघाटको पुल र बञ्चरे पहाडले गर्दा सबैभन्दा ठूलो समस्या निम्तिएको छ,’ उनले भने, ‘यी दुई स्थानको समस्या समाधान नभएसम्म देवघाट गाउँपालिकामा सहज सडक सञ्जालको पहुँच पुग्न मुस्किल छ ।’ दासढुङ्गाको पुलले केही सहयोग पुगेको भन्दै गाउँपालिका प्रमुख मगरले भने, ‘हाल निर्माणाधीन देवघाट र ठिमुरा जोड्ने पुलको काम पनि समयमै सम्पन्न भएमा नारायणगढदेखि देवघाटसम्मको सडक यात्रा भने केही सहज हुनेछ ।’ सडक सञ्जाल सहज नभएसम्म देवघाटको विकासमा समस्या हुने उनले बताए ।

Comments

About the author

चितवन पोष्ट