गृह » बजेटबारे रामग्रामका वडाअध्यक्षहरु नै बेखबर
अर्थ समाचार समाज

बजेटबारे रामग्रामका वडाअध्यक्षहरु नै बेखबर

कावासोती । वडास्तरमा छुट्याइएको बजेटबारे बेखबर रहेको नवलपरासी रामग्राम नगरपालिकाका वडाअध्यक्षहरुले बताएका छन् । बोर्ड बैठक नै नगरी बजेट छुट्याएको र त्यसबारे आफूहरु अनभिज्ञ रहेको भन्दै वडाअध्यक्षहरु मेयर र कर्मचारीहरुसँग आक्रोशित बनेका छन् ।
नगरसभा छिटो गर्नु परेको भन्दै कार्यकारी अधिकृतसहित कर्मचारीहरु र मेयरले हतारमा बजेटको सिलिङ तोकेर योजना तर्जुमा गर्न पठाएको भन्दै वडाअध्यक्षहरुले आपत्ति जनाउँदै आक्रोश पोखेका हुन् । वडाको अधिकार कुण्ठित गर्ने काम भएको भन्दै अध्यक्षहरुले नगरसभा हुन नदिने चेतावनी दिएका छन् ।
बोर्ड बैठकबिना बजेटको सिलिङ तोकेर तीन दिनभित्र योजना छनोट गर्ने पत्र पाएपछि आश्चर्यमा परेको वडा नं. ४ का वडाअध्यक्ष मदन यादवले बताए । नगरपालिकाले साउन १७ गतेको निर्णय भन्दै बजेट सिलिङ तोकेर योजना तर्जुमा गर्न पत्र पठाएको उनले बताए । मेयर र कर्मचारीहरुको सल्लाहमा पठाएको हचुवा बजेटले टुक्रे योजना पनि सम्पन्न हुन नसक्ने वडाअध्यक्षहरुको भनाइ छ ।
वडाको अधिकार नगरपालिकाले राखेर टुक्रे योजना दिएको भन्दै पारदर्शी रुपमा बजेट विनियोजन नभए परिषद् हुन नदिने यादवले बताए ।
नगरपालिकाले तीनवटा आधारलाई मापदण्ड मानेर वडाहरुमा बजेट छुट्याएको कार्यकारी अधिकृत कृष्णप्रसाद चापागाईंले जानकारी दिए । नगरको विकासका लागि वित्तीय समानीकरणबाट प्राप्त कुल २८ करोड वडाको विकासमा खर्च हुनेछ । तर वडाअध्यक्षहरुले भने करिब १० करोडमात्र छुट्याएको भन्दै सबै रकम उपलव्ध गराउन माग गरेका छन् । अन्य रकम नगरपालिकाबाटै खर्च गर्ने सोचले बजेट छुट्याइएको अध्यक्षहरुको भनाइ छ ।
उक्त रकममा करिब ७÷८ करोड तलब भत्ता र अन्यमा खर्च हुनेछ । अन्य रकम वडाको विकास निर्माणमा खर्च हुने नगरपालिकाले जनाएको छ । बोर्ड बैठक नबसेर हचुवाको भरमा रकम तोकेर पठाएको भन्दै वडाहरुका लागि आएको रकम पारदर्शीरुपमा जानकारी दिनुपर्ने वडा नं ३ का अध्यक्ष हरिप्रसाद उपाध्यायले बताए ।
वडा नं. १ का अध्यक्ष रुद्रप्रसाद उपाध्यायले जनप्रतिनिधिहरु आइसक्दा पनि कर्मचारीहरुले आफ्नै तरिकाले नगरपालिका सञ्चालन गर्ने सोच राखेको भन्दै उपाध्यायले त्यसबारे तत्काल बैठक बोलाउन मेयरलाई आग्रह गरिएको बताए ।
नगरपालिकाले नगरसभापछि कोटेशनबाट काम गराउनका लागि वडामा आएको सबै रकम नदिएको भन्दै वडाअध्यक्षहरुले रकम पारदर्शी गराउन माग गरेका छन् । नगरपालिकाका १८ वडालाई सहरी, मध्यसहरी र सहरोन्मुख मापदण्ड तोकेर रकम विनियोजन गरेको हो । छुट्याइएको उक्त रकमबाट सडक विस्तार, कल्भर्ट निर्माण, सडक चौडा, भवन निर्माणलगायत विकास निर्माणमात्र गर्न सकिने छ ।
बजेट सिलिङबारे मेयर नरेन्द्र गुप्ताले सबै रकम वडाहरुमा नदिइएको बताए । सबै रकम एकैपटक दिँदा पछिका लागि तत्काल गर्नुपर्ने काम गर्न नसकिने भएकाले केही रकम नगरपालिकामा राखेको गुप्ताले बताए । उक्त बजेटबाट वडास्तरका योजना छनोट हुने र नगर र केन्द्रीयस्तरका योजनाका लागि छुट्टै बजेट आउने गुप्ताले बताए ।
साउनको अन्तिम साताभित्र सम्पन्न हुने नगर परिषद्मा विषयगत कार्यालयसहित अनुमानित कुल ६६ करोडको बजेट प्रस्तुत हुने कार्यकारी अधिकृत चापागाईंले बताए ।

 

Comments

About the author

चितवन पोष्ट