गृह » छहारी (कथा)
विचार साहित्य

छहारी (कथा)

नवराज तिमिल्सिना
बस कुदिरहेको छ, मिसन आफ्नो यात्रामा रमिँदै छ । उसले घडी हे¥यो– ओहो ६ बजेछ, अब लगभग दुई घन्टामा नारायणगढ पुगिएला, उसले सोंच्यो ।
बसमा कहिले हिन्दी गीत त कहिले नेपाली गीत बज्दै थियो । बस मुग्लिङ बजारलाई फेरो मार्दै अघि बढ्यो ।
बसका यात्रुहरु कोही मोबाइल चलाउँदै थिए, कोही गेम खेल्दै थिए त कोही स्व. नारायण गोपालको “यो सम्झिने मन छ, म बिर्संू कसरी…..” बोलको गीतमा मन्त्रमुग्ध हुँदै थिए ।
बस धूलो उडाउँदै कहिले छेउ त कहिले भित्तोतिर कोल्टिँदै अगाडि बढ्दै छ ।
गुरूजी सिपालु रहेछन्, यस्तो खाल्टाखुल्टी बाटोमा पनि राम्ररी हुइँक्याइरहेका छन्, उसले सोच्यो ।
यत्तिकैमा पछाडिबाट ओभरटेक गर्दै बोलेरो आयो । बोलेरोले फ्ल्यास लाइट दियो । गुरूजीले साइड दिए । बोलेरो गयो । अँध्यारो झमक्कै हुँदै थियो । गाडीका सबै लाइट बले । तल हेर्दा मन सिरिंग हुने त्रिशूली नदी शालीनतामा बगिरहेको रिमरिम देखिन्थ्यो ।
‘यो बाटो बडो डर लाग्छ’– आडैको सिटमा रहेको यात्रुले भन्यो । सायद, नदीमा पटकपटक कयौँ बेपत्ता भएको उसलाई पनि थाहा थियो ।
‘त्यै त’– मिसनले भन्यो ।
‘यहाँ अलिकति तल–माथि भयो भने त जीवन…..खलाँस’– आडैको यात्रुले फेरि थप्यो ।
अनि अस्ति ताका खसेको गाडी, न मान्छे भेटियो न गाडी नै, मिसनले सम्झ्यो । उसलाई भित्रभित्र डर लाग्दै थियो ।
अलिबेरको रफ्तारपछि बस जलविरे आइपुग्यो । गुरूले छेवैको (जलविरे माई) देवीलाई नमस्कार गरे । केही यात्रलेु पनि गर्दै थिए । बस जलविरे माईको मन्दिर हुँदै अघि बढ्यो । बस दासढुंगा हुँदै जुगेडी आइपुग्यो । मिसन अलि ढुक्क भो । किनकि, त्रिशूली नदी अब टाढिएको थियो ।
बस नभन्दै आठ बजे नारायणगढ आइपुग्यो । केही यात्रु ओर्ले । बस नारायणगढबाट पूर्व मोडियो ।
‘दाइ दाइ, म यहीँ झर्ने हो’– खलासीलाई उसले भन्यो । खलासीले गुरूजीलाई गाडी रोक्न भन्यो । गुरूजीले गाडी रोके । मिसन त्यहीँ झ¥यो । ऊ नजिकैको प्रतीक्षालयतर्फ लम्क्यो ।
प्रतीक्षालयमा धिपधिप गर्दै बत्ती बलिरहेको थियो । मिसन टक्क अडियो । ‘को हौ नानी ?’– प्रतीक्षालयको कुनाबाट आवाज आयो, मिसनले पुलुक्क हे¥यो ।
‘म मिसन’– उसले भन्यो । ओच्छ्यानको नाममा च्यातिएको गुन्द्री, प्लास्टिकको टाट, ओढ्ने सानो बर्को, फाटेको गुन्यूचोली, मैलिएको सिरानी, बोतल, भाँडाकुँडा र फस्नर बिग्रिएको झोला । झोलाभित्र फुटेको ऐना र काँइयो देखिन्थ्यो । यो देखेर ऊ गम खाँदै थियो ।
‘काँडी आयौ बा ?’– बूढीले फेरि सोधिन् ।
‘काठमान्डौँबाट’– मिसनले भन्यो ।
‘अनि तपाईं यसरी किन बस्नु’भो ? तपाईंको कोही छैन ?’– मिसनले सोध्यो ।
बूढीआमाले भनिन्– ‘छन् बाबु, हिजो म छहारी थिएँ ।’
मिसनले सोध्यो– ‘कुरो अलि बुझिएन ।’
गहभरि आँसु पार्दै बूढीआमाले भनिन्– ‘बाबु, संसारै मेरो जस्तो लाग्थ्यो । दसैँतिहार चाडपर्वमा म सबैबाट घेरिन्थेँ । सबैबाट हाईहाई थियो । छोराछोरी, इष्टमित्र, छरछिमेक सबै थिए । बाबु, कुमालेको चर्खा हो जिन्दगी, मेरो कर्मले यस्तै पारी ल्यायो । निभेको आगो कसले ताप्छ र बाबु ?’
‘किन र आमा ?– मिसनले सोध्यो ।
बूढीआमाले भन्दै गइन्– ‘गाउँ छोडेर आइयो । औलोको बिगबिगी थियो । झाडी नै झाडी । फाट्टफुट्ट घर थिए । यहाँ बस्न सबै डराउँथे । सबैको घर खर र खडाईले बारेका हुन्थे । दैनिक ज्यालादारी नगरे हातमुख जोर्न धौधौ हुन्थ्यो । यिनलाई हुर्काउन कम्ता हन्डर खानु परेन । कामको सिलसिलामा बाउले साथीहरुको लहलहैमा घर छोडे । गएका दिनदेखि अत्तोपत्तो भएन । मोबाइल र फोनको जमाना थिएन । घरमा छोरो बिरामी प¥यो । रातभरि लुगलुग काम्दै ज्वरो आयो । उता बूढाको चिन्ता त यता छोरो मर्ला भन्ने डर । एक्ली म, के गरौँ र कसो गरौँ भो ! साथमा सुको कौडी थिएन । गरिबको घरलाई समाजमा कसले पत्याउँछ र दुई–चार पैसा ऋण ? कति दिन त घरमा चुलो बलेन बाबु । मर्न त दिन भएन नि भन्दै कानको ढुंग्री, तिलहरी बन्धक राखेँ र बल्लबल्ल अस्पताल पु¥याएँ । त्यतिबेला निमोनिया बिग्रिसकेको रहेछ । झन्डै आठ–दस दिनको उपचारपछि डिस्चार्ज भो ।’
बूढीआमाले आफ्नो कथा भन्दै गइन्, ‘घरमा आउँदा लथालिंग थियो । गाईवस्तु ड्वाँ–ड्वाँ कराए, सायद पशु भएर पनि काँ गइस्  भने होलान् झैं लाग्यो । धन्न तल्लाघरकी फूलमायाले गाईवस्तुको प्राण धानिदिई । महिनादिनपछि बाबु आए । लाको ऋण तिरेँ । अहिले यिनलाई जीवनभर पुग्ने सम्पत्ति जोडिदिएका छौँ बाबु । यसरी दुःख गरेर हुर्काएको सन्तानले हेँला गर्दा मन थाम्न सकिँदो रहेनछ बाबु !’ यति भनेर बूढीआमा हुँक्कहुँक्क गर्दै थिइन् ।  उनी भन्दै गइन्– ‘मालिक बितेपछि जिनतिन दुई–चार वर्ष राम्रै थियो । सबैले माया गर्थे । बुहारीले नि के खाम् र के लाम् आमा भन्थी । के भो के भो, बिस्तारै घरमा बोझ पो हुन पुगेछु । बुहारीले ठूलो स्वर गरेझैँ लाग्यो । छोराले पनि वास्ता नगरेझैँ भो । गाउँमा गाइँगुइँ सुनिन थाल्यो, मलाई वृद्धाश्रम राखिदिने रे । यो सुनेर खुब रोए बाबु । जब एक्लिएको र उराठिएको मन कहिले के गरौँ त कहिले के गरौँ भो । कहिले छोरा त कहिले छोरीको घरमा बस्न थालेँ । बाँच्नुको कुनै सार देखिनँ । दिउँसो घाम लागे नि अँध्यारो महसुस भो । अनि घरमा दैनिक झैझगडा हुन थाल्यो । एउटै दैलो, एउटै चुलो पानी बाराबार भयो ।
एक कान दुकान मैदान भो । बन्दुकको गोलीभन्दा वचनको बोली दुख्दोरहेछ बाबु । छोराको घर बिग्रनुभन्दा आफैँ हिँड्न तयार भएँ । अनि, मर्नुभन्दा बौलाउनु निकोझैँ लागेर घर छोडेँ ।’ यति भन्दाभन्दै बूढीआमाले पछ्यौरीले आँशु पुस्दै थिइन् ।  उनले कुरा टुंग्याउँदै भनिन्– ‘हो बाबु, यसरी प्रतीक्षालयमा कति बटुवा आए कति गए । कति आऊलान् पनि । तर बाबु, यसरी मेरो दुःख सुनिदिने र सुन्न खोज्ने कोही थिएन । बाबु, तिमीले जति दुःख पाए पनि आफ्नो बाबुआमालाई कैले नि नरूवाउनू, मन नदुखाउनू, खाइनखाई हुर्काए तिमीलाई । बाबुआमा भगवानसरह हुन् बाबु ।’ यति भनिसक्नासाथ उनको आँशु आँखाबाट खस्यो ।मिसनले पनि हस् भन्यो तर ऊ बूढीआमाको कुराले स्तब्ध भयो । उसको पनि आँखा रसाए ।  आजकल बाबुआमाप्रति सन्तानले किन यस्तो व्यवहार गर्छन् ? किन र के कारणले यस्तो अवस्था आइलाग्यो ? बाबुआमाको मन किन छोराछोरीले बुझ्दैनन् ? भन्ने कुराले मिसनको मन तरंगित हुँदैथ्यो । आफ्नो जन्म दिने बाबुआमा, रूखो स्वभाव र वास्ताहीन कसरी हुन पुग्छ समाज ? भन्दै अनुत्तरित प्रश्नको उत्तर खोज्दै थियो ऊ ।
यत्तिकैमा मिसनलाई लिन उसको भाइ आइपुग्यो । उसले आफ्नो झोलामा भएका केही फलफूल बूढीआमालाई दियो । गहु्रंगो मन गरी ऊ घरतिर लाग्यो । बूढीआमाको रोदनले ऊ चिन्तित देखिन्थ्यो ।  मिसन घर पुग्यो तर उसको अनुहार मलिन थियो । आमाले के भो, किन पैलाजस्तो देखिंँदैनस् नि बाबु ? भनेर सोधिन् । उसले सबै वृत्तान्त सुनायो । आमाले उसका कुरा सुनिन्, आमाको पनि आँखा रसाए । उसले खाना खायो अनि बिस्तारामा पल्ट्यो ।  भोलिपल्ट बिहान ऊ त्यही प्रतीक्षालयमा आयो । हिजोको कुराले उसलाई रातभरि निद्रा लागेको थिएन ।
सपनीमा फिल्म हेरेझैँ झल्को आइरह्यो बूढीआमाको ।   बूढीआमालाई केही सहयोग गर्ने मनसायले त्यहाँ आइपुग्दा बूढीआमा थिइनन् । बूढीआमाका भाँडाकुँडा र अरु सरसामान पनि केही थिएनन् त्यहाँ । उसले चारैतिर हे¥यो । ‘सायद, कुनै ठाउँमा गइन् कि बूढीआमा ! अर्को डेरा (प्रतीक्षालय)मा सरिन् कि !’ मिसनले मनमा कुरा खेलाउँदै ऊ आफ्नो घर फक्र्यो ।

Comments

About the author

चितवन पोष्ट