गृह » जिल्ला वन कार्यालयमा आठ मुद्दा दर्ता
समाचार समाज

जिल्ला वन कार्यालयमा आठ मुद्दा दर्ता

–तुलमान गुरूङ
भरतपुर । गत आर्थिक वर्ष २०७३/०७४ मा जिल्ला वन कार्यालय चितवनमा आठ मुद्दा दर्ता भएका छन् ।
जिल्ला वनतर्फ वन पैदावारअन्तर्गत चार र वन्यजन्तुतर्फ चारवटा मुद्दा परेको जिल्ला वन कार्यालय चितवनले जनाएको छ । आठ मुद्दामध्ये वन पैदावारतर्फ दुई र वन्यजन्तुतर्फ तीन गरी पाँचवटा मुद्दा फैसला भइसकेको जिल्ला वन कार्यालय चितवनका नायव सुब्बा मनोज पराजुलीले बताए । आपराधिक गतिविधिमा संलग्न दुईजना फरार रहेको उनले बताए । एकजना भने तारेखमा रिहा भएका छन् ।
गत आर्थिक वर्षमा जिल्ला वन कार्यालयले काठ चोरी तस्करीमा संलग्न रहेको आरोपमा दुई साइकल बरामद गरेको छ । जिल्ला अदालततर्फ भने १० वटा मुद्दा परेका छन् । अदालततर्फ भने वन्यजन्तसम्बन्धी मुद्दा दर्ता नभएको कार्यालयका नायव सुब्बा पराजुलीले जानकारी दिए । अदालततर्फ तीन थान ट्याक्टर र ६ थान साइकलको मुद्दा चलिरहेको छ । यसअघिका आर्थिक वर्षहरूमा कुनै पनि मुद्दा नपरेको उनले बताए ।

तर, हालसम्म जिल्ला वन कार्यालयले चोरी तस्करीमा संलग्न कति सवारी साधन बरामद गरेको छ भनी तथ्यांक निकाल्न बाँकी रहेको उनले बताए । आर्थिक वर्षको अन्त्यमा आएर जिल्ला वन कार्यालयका मुद्दा शाखामा कार्यरत कर्मचारीले पदबाट राजीनामा दिएपछि मुद्दा शाखाको काम प्रभावित भएको र उक्त पदका लागि नयाँ कर्मचारी नआएकाले तथ्याङ्क निकाल्न बाँकी रहेको उनले बताए ।

धेरै वर्ष पहिलेदेखि नै विभिन्न आपराधिक गतिविधिमा संलग्न ट्याक्टर, यात्रुबस, मिनिट्रक, बलेरो, ट्रक, मोटरसाइकल, साइकललगायतका सवारी साधन जिल्ला वन कार्यालयपरिसरमा त्यत्तिकै थन्किएका छन् । अहिले वर्खाको सिजनमा ती सवारी साधनहरू लहरे झारपातले डम्म ढाकिएका छन् ।

Comments

About the author

चितवन पोष्ट