गृह » स्वाइनफ्लुबारे सतर्क बनौँ
सम्पादकीय

स्वाइनफ्लुबारे सतर्क बनौँ

दुई वर्षअघि भारतमा महामारीकै रुपमा फैलिएको स्वाइनफ्लु नेपालमा भित्रिएपछि यसको प्रकोपले अहिले पनि नेपाली जनजीवन प्रभावित बनिरहेको छ । भारतमा सन् २०१५ मा महामारीका रुपमा फैलिएको इन्फ्लुएन्जा ए भाइरसको संक्रमणबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो भने १५ हजारभन्दा बढी संक्रमित भएका थिए । स्वाइनफ्लुको संक्रमणबाट नेपालमा साउन महिनामा मात्रै पाँच जनाको मृत्यु भइसकेको छ । बिर्तामोडका दुई महिलाको स्वाइनफ्लुकै कारण मृत्यु भएको खबर सञ्चारमाध्यममा सार्वजनिक भएको छ । बिर्तामोड–१ र ४ मा बसोबास गर्ने दुई महिलामा कडा खालको स्वाइनफ्लुका कारण उपचारका लागि भारतको एपालो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ । यस्तै, केही दिनयता राजधानी काठमाडौँमा पनि कडा खालको स्वाइनफ्लुको संक्रमण बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वाइनफ्लुको संक्रमणबाट बिरामी परेका केहीको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेकोमा दुई जनाको ज्यान गएको सो अस्पतालका आईसीयू विभाग प्रमुख डा. सुवास आचार्यले प्रमाणित गरिसकेका छन् । भाइरल निमोनियाका कारण अस्पताल आएका बिरामीको ल्याव परीक्षण गर्दा स्वाइनफ्लु भेटिएको हो । यसैगरी, स्याङ्जाको वालिङमा पनि एकसाताअघि एक जनाको मृत्यु भएको थियो ।
भारतसँगको खुला सिमाना र सतर्कता प्रभावकारी नभएका कारण नेपालमा पनि स्वाइनफ्लुको प्रकोप फैलिने खतरा अद्यापि छ । नेपालमा स्वाइनफ्लुको संक्रमण बढ्दै गए पनि केकति संक्रमित छन् भन्ने खुलेको छैन । राजधानी र बिर्तामोडका बिरामीको स्वाइनफ्लुको संक्रमणबाट मृत्यु भएपछि देशव्यापी रुपमा त्रास बढेको छ । त्राससँगै स्वाइनफ्लुको संक्रमण बढ्दै गए पनि यसबारे उच्च सतर्कता भने अपनाउन सकिएको छैन । विगतका वर्षहरुमा भारतबाट फर्किने नागरिकलाई परीक्षणका लागि ‘हेल्प डेक्स’ स्थापना गरिएको थियो । भारतका विभिन्न प्रदेशमा यस वर्ष पनि उच्च दरमा स्वाइनफ्लुका बिरामी बढिरहेका कारण रोजगारीका लागि स्वाइनफ्लुबाट प्रभावित सहरहरुमा जाने र फर्किनेहरुका कारण यसको जोखिम बढेको छ । स्वाइनफ्लुबारे हरेक व्यक्ति समयमै सचेत नहुने हो भने प्रकोप अन्यत्र नफैलिएला भन्न सकिँदैन । मौसमी रूघाखोकीका रुपमा देखा पर्ने यस्तो भाइरसबाट सुरूमा माथिल्लो श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने र त्यसपछि तल्लो भागमा संक्रमित गर्दै निमोनिया गराएर बिरामीको ज्यानैसमेत जाने गर्दछ । स्वाइनफ्लु भाइरस शरीरमा प्रवेश गरेको एकदेखि चार दिनभित्रै लक्षण देखा पर्ने चिकित्सकको भनाइ छ ।
स्वाइनफ्लु सुँघुरका कारण फैलिने एक खतरनाक भाइरस हो । यो रोग फैलाउने चार प्रकारका भाइरसमध्ये सबैभन्दा डरलाग्दो एच वान एन वान हो । सुँघुरको नियमित सम्पर्कमा रहने मानिसमा यो रोग सुरूमा सुँघुरबाटै मानिसमा सर्दछ । त्यसपछि हावाको माध्यमबाट अन्यमा फैलिन्छ । स्वाइनफ्लुको जीवाणु सामान्य रूघाखोकीजस्तै फैलिने गर्दछ । घाँटी दुख्ने, रूघाखोकी लाग्ने, श्वास फेर्न कठिन हुने, शरीर दुख्ने, उच्च ज्वरो आउने, पखाला लाग्नेलगायतका लक्षणहरु देखिने चिकित्सकहरुले जनाएका छन् । यस्तो लक्षण देखिनासाथ तत्कालै चिकित्सकको सल्लाह लिनुपर्छ । स्वाइनफ्लु प्रभावित व्यक्तिको सम्पर्कमा रहने व्यक्तिलाई सहजै यो रोग सर्नसक्ने खतरा भएकाले उच्च सावधानी अपनाउन सके यसबाट जोगिन सकिन्छ । संक्रमितसँग हात मिलाउँदा, अँगालो मार्दा, हाच्छिउँ गर्दा र बिरामीले प्रयोग गरेको सामग्री प्रयोग गर्दा पनि यो रोग सर्नसक्छ । ढोकाको हेन्डल, रिमोट कन्ट्रोल, रेलिङ, कम्प्युटरको किबोर्ड, बसको हेन्डलमा पनि स्वाइनफ्लुको किटाणु जीवित रहने भएकाले सरसफाइमा ध्यान दिने, माक्स लगाउने, भीडभाडमा हिँडडुल नगर्ने, अपरिचित व्यक्तिसँग टाढा रहेर कुरा गर्नेजस्ता आधारभूत कुरामा ध्यान दिन सकेमात्रै पनि स्वाइनफ्लुको संक्रमणबाट जोगिन सकिन्छ । अहिले स्वाइनफ्लुको संक्रमणबारे विशेष सावधानी अपनाएर सुरक्षित रहनु नै एकमात्र विकल्प देखिएको छ ।

Comments

About the author

चितवन पोष्ट