गृह » नारायणगढका सुन पसलको ठगी धन्दा, तराजु ठीक, शुद्धता कम
अर्थ प्रमुख समाचार

नारायणगढका सुन पसलको ठगी धन्दा, तराजु ठीक, शुद्धता कम

दिपेन्द्र अधिकारी

भरतपुर । कम गुणस्तरका सुनचाँदी बेचेको आरोपमा केही दिन अघिमात्रै जिल्ला अदालतले पुष्टि गरी जरिवाना समेत सुनाएको छ ।

नारायणगढका ६ वटा पसलबाट लिइएको सुनको नमूना जाँच गर्दा ७ प्रतिशतसम्म कम शुद्धता भेटिएको छ । २४ क्यारेटका सुनका गहनाहरु (मंगलसुत्र, झुम्का, सिक्री) नमुना परीक्षण गर्दा उक्त रहस्य बाहिर आएको हो ।

सबै पसलमा गरिएको सुनचाँदी जोख्ने ढकतराजुको अवस्था भने दुरुस्त रहेको पाइएको छ । जोखाइमा ठीक रहे पनि शुद्धता भने कम भेटिएको हो । शुद्धतामा सबै भन्दा राम्रो जय सन्तोषी माँ सुनचाँदी पसल देखिएको छ । त्यसपछि बराली गहना सप्लायर्स रहेको छ । न्यू लोकमान एण्ड सन्सको भने झण्डै ७ प्रतिशत कम शुद्धता भेटिएको छ ।

अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार ५५ हजार जरिवाना देखि एक लाख रूपैयाँसम्म जरिवाना तोकिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायधिवक्ता उमेशचन्द्र अधिकारीले कानुनी सजायको लागि गरिएको माग दाबी अनुसार फैसला केही कम भए पनि असन्तुष्ट हुने ठाउँ भने नरहेको बताए ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले उपभोक्ता ठग्नु व्यवसायिक धर्म नभएको प्रस्ट पार्दै गल्ती गर्नेहरु सच्चिनुपर्ने र अरुले पनि बेलैमा सचेत हुनुपर्ने बताए ।

उपभोक्ता अधिकार संरक्षण मञ्चका चितवन उपाध्यक्ष विष्णु भुसालले उपभोक्ता आफै जागरुक हुनुपर्ने बताए । साथै उनले समय समयमा सुनचाँदी पसलहरुको समेत अनुगमन गर्नुपर्ने विचार राखे । चाँडवाडको समयमा बढी उपभोक्ता ठगिने गरेको दुःखेसो गर्दै उपाध्यक्ष भुसालले उपभोक्ता आmै सचेत हुनुपर्ने समेत बताए । २०७० साल असोज २० गते नारायणगढमा भएको अनुगमनमा उक्त पसलहरुको नमुना लिइएको थियो ।

अनुगमनमा गुणस्तर तथा नापतौल विभाग, वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालयको उपस्थिति रहेको थियो । उक्त समयमा व्यवसायीहरुले अनुगमनको नाममा राज्यले व्यवसायीलाई आतंकित पार्न खोजेको भन्दै अनुगमनको विरोधसमेत गरेका थिए ।

सुरुमा यस मुद्दा घरेलु कार्यालयमा चलेकोमा पछि अदालत सरेको थियो । उपभोक्ता संरक्षण ऐन २०५४ र नियमावली २०५६ मा व्यवस्था भए अनुसार यस ऐनको दफा १० खण्ड ‘क’ विपरीत कुनै पनि व्यवसायीले कम गुणस्तरका सामान किनबेच गरेमा तीन वर्षसम्म कैद वा पचास हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्ने उल्लेख छ ।

Comments

About the author

चितवन पोष्ट