गृह » जित्ने रणनीति बनाउँदै दलहरु, ‘आज निर्वाचन मिति आउनसक्ने’
राजनीति समाचार समाज

जित्ने रणनीति बनाउँदै दलहरु, ‘आज निर्वाचन मिति आउनसक्ने’

किशोर खनाल
भरतपुर । सर्वोच्च अदालतले भरतपुर महानगरको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि दलहरुले जित्ने रणनीति बनाउन गृहकार्य थालेका छन् ।
विशेष गरी भरतपुर महानगरको मेयर पद हत्याउनको लागि दलहरु जित्ने रणनीति बनाउन कस्सिएका छन् । नेकपा एमालेबाट देवी ज्ञवाली र माओवादी केन्द्र तथा नेपाली कांग्रेस गठबन्धनबाट मेयरमा उम्मेदवार बनेकी रेणु दाहालबीच नै वडा नम्बर १९ मा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
दलहरु वडाको अन्य पदमा भन्दा पनि मेयरमा पदमा अत्याधिक मत ल्याउने कार्ययोजना बनाउन दलहरु लागेका छन् । वडा नम्बर १९ मा कसरी अघि बढ्ने भन्ने विषयमा नेकपा एमाले चितवनको आज मंगलबार बैठक बस्दैछ ।
‘आज मंगलबार पार्टीको बैठक बस्दैछ, बैठकले वडा नम्बर १९ मा एमालेको सम्पूर्ण उम्मेदवारले जित्ने रणनीति बनाउँछ’ नेकपा एमालेका जिल्ला उपाध्यक्ष तेजेन्द्रबहादुर खड्काले भने, ‘सर्वोच्चले न्यायिक फैसला गरेन, तर पनि एमाले निर्वाचनमा होमिन्छ । १९ नम्बर वडाका जनता सचेत छन्, सूर्यमा मत हालेर जिताउँछन् ।’
उपाध्यक्ष खड्काका अनुसार एमालेका वडा नम्बर १९ का स्थानीय नेता तथा कार्यकर्ताहरुले मतदाताहरुलाई भेटघाट गरिरहेका छन् । आज मंगलबार बस्ने पार्टीको बैठकले एकखालको रणनीति बनाएर निर्वाचनमा होमिने उपाध्यक्ष खड्काको भनाइ थियो ।
माओवादी केन्द्रका जिल्ला संयोजक यमबहादुर परियारले पार्टीको छिटै बस्ने बैठकले वडा नम्बर १९ मा गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई जिताउने रणनीति बनाउने बताए । ‘निर्वाचनको मिति घोषणापछि पार्टीका प्रचारात्मक कार्यक्रम सुरु हुन्छ’ संयोजक परियारले भने । उनले वडाका स्थानीय नेता तथा कार्यकर्ताले मतदाताहरुलाई भेटघाट कार्यक्रम गरिरहेको बताए ।
भरतपुर महानगरको वडा नं १९ मा ३ हजार ७९७ मतदाता छन् । वैशाख ३१ को निर्वाचनमा यस वडामा २ हजार ८९७ मत खसेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले वडा नं १९ मा सम्भवत आज मंगलबार निर्वाचनको मिति घोषणा गर्दैछ । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा हुने पुनः मतदानको मिति तोक्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएपछि मिति घोषणाको तयारीमा निर्वाचन अधिकृतको कार्यालय लागेको छ ।
‘हाम्रो समीक्षात्मक बैठक बस्यो, आज मंगलबार हामीले सर्वदलीय बैठक डाकेका छौँ । सायद मंगलबार बेलुकासम्म निर्वाचनको मिति घोषणा हुन्छ’ सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले भने । उनले निर्वाचन ५/७ दिनभित्रैमा हुने जानकारी दिए ।
‘मतदान भएपछि कसरी सुरक्षित तरिकाले मतगणना गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ’ फेरि मतपत्र च्यातिने घटना दोहोरिन हामी दिँदैनौँ’ सहायक निर्वाचन अधिकृत घिमिरेले भने ।

Comments

About the author

चितवन पोष्ट