गृह » भरतपुर अस्पताल परिसरमा सरसफाइ
समाचार समाज स्वास्थ्य

भरतपुर अस्पताल परिसरमा सरसफाइ

भरतपुर । वे ग्रुपले (समूह) सोमबार भरतपुर अस्पताल परिसरमा सरसफाइ गरेको छ ।
अस्पताल क्षेत्र नै फोहोरका कारण दुर्गन्धित बन्दै गएकोले समूहले सोमबार बिहान अस्पताल परिसरमा सरसफाइ गरिएको हो । गतवर्ष जेठ महिनाबाट सामाजिक सञ्जालमार्फत सक्रिय भएको समूहले हरेक हप्ता सरसफाइ गर्ने क्रममा अस्पतालमा सरसफाइ गर्नुका साथै फोहोर नगर्न सचेतसमेत गराएको वे ग्रुपले जनाएको छ ।
‘हप्तामा एक दिन एक छिन’ भन्ने मूल नारासहित समूहले सरसफाइको काम सुरू गरेको थियो । हरेक हप्ता निरन्तररूपमा सरसफाइ गर्दै आएको समूहले सोमबार ६४औ श्रृङखला पार गरेको छ । यही क्रममा भरतपुर अस्पतालमा फोहोर बढ्दै गएको जानकारीमा आएपछि अस्पतालसँग समन्वय गरेर अस्पताल परिसरमा सरसफाइ गरिएको समूहका अभियन्ता भोजराज कँडेलले बताए ।
अस्पताल क्षेत्र संवेदनशील क्षेत्र भए पनि सरसफाइमा ध्यान नदिएको पाइएकोले आगामी दिनमा अस्पताल क्षेत्रलाई फोहोरमुक्त क्षेत्र बनाउन आवश्यक रहेको सुझाव दिए । अस्पतालका कर्मचारीहरूले बिरामीका लागि प्रयोग गरेका सामग्रीहरू जथाभावी फालिदिने हुँदा अस्पताल क्षेत्र नै फोहोरयुक्त बनेको हो । अस्पताल प्रशासन र कर्मचारीले ध्यान नदिएकैले अस्पतालबाट निस्किने फोहोरजन्य पदार्थको व्यवस्थापन हुन नसकेको अर्का अभियन्ता जीवन खरेलले बताए ।
अस्पताल क्षेत्रमा बिरामीहरूलाई नै असर पर्ने तरिकाले फोहोर बढ्दै गएपछि बिरामी कुरूवाहरू पनि बिरामी हुन सक्ने सम्भावना देखिएको भन्दै उनले सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे । यस विषयमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रूद्रप्रसाद मरासिनीले सरसफाइमा ध्यान दिँदादिँदै पनि फोहोर भएको स्वीकार गरे । आगामी दिनमा यसलाई सुधार्ने पक्षमा अस्पताल प्रशासन गम्भीर भएको उनको भनाइ छ ।
हरेक दिनजसो अस्पतालमा फरक–फरक खालका बिरामी आउने हुँदा उनीहरूले प्रयोग गरेका सामग्री झ्यालबाट फालिदिने र सरसफाइका लागि आवश्यक जनशक्ति कम भएकोले चाहँदाचाहँदै पनि कतिपय कामहरूले पूर्णता पाउन नसकेको उनले बताए । उनकाअनुसार हरेक दिन करिब ७० जना कर्मचारीलाई सरसफाइ शीर्षकमा खटाइएको भए पनि भित्र र बाहिरका सबै काम गर्नुपर्ने भएकोले कतिपय अवस्थामा काम गर्न नभ्याइएको हो । विशेष गरेर ढलको उचित व्यवस्थापन हुन नसक्दा फोहोर मैला व्यवस्थापनमा चुनौती थपिएको मेसु डा मरासिनीले बताए ।
अस्पताल व्यवस्थापनको लागि नेपाल सरकारबाट आवश्यक बजेट नभएका कारण पनि काम गर्न असहज भएको उनले बताए । अस्पताल क्षेत्रमा मात्रै नभई हरेक क्षेत्रमा सरसफाइ हुनुपर्ने भन्दै समूहले विभिन्न स्थानमा सरसफाइका साथै डस्टबिन वितरण गर्दै आइरहेको समूहले भरतपुर अस्पतालपरिसरमा पनि डस्टबिन राखिदिएको छ ।

Comments

About the author

चितवन पोष्ट