गृह » लोकतान्त्रिक फोरम चितवनले मनायो आठौं स्थापना दिवस
राजनीति

लोकतान्त्रिक फोरम चितवनले मनायो आठौं स्थापना दिवस

भरतपुर । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले पार्टी स्थापनाको सोमबार आठौं वार्षिकोत्सव मनाएको छ ।
लोकतान्त्रिक फोरम चितवनले पनि सोमबार पूर्वी चितवनको खैरहनीमा भव्यरुपमा आठौं स्थापना दिवस मनाएको छ । रेडक्रस भवनमा भएको कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले शुभकामना आदान–प्रदान गरेका थिए । कार्यक्रमकी प्रमुख अतिथि लोकतान्त्रिक फोरमकी केन्द्रीय सदस्य निरू कार्कीले आजको दिन पार्टीका नेता तथा कार्यकर्ताका लागि पर्वको दिन भन्दै यसैगरी पार्टीले जुगौ जुगसम्म हर्षोउल्लाहका साथ स्थापना दिवस मनाउने बताए । उनले लोकतान्त्रिक फोरम नेपाली राजनीतिको महत्वपूर्ण अंग रहेको भन्दै देशलाई पर्ने हरेक संकट समाधानका लागि पार्टीले अग्रणी भूमिका खेलेको बताए । उनले चितवनमा यस पार्टीलाई अझै मजबुत बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । उनले आफू राजनीतिमा प्रवेश गरेको छोटो समय भएको भन्दै धेरै सपना र उर्जा लिएर राजनीतिलाई सही बाटोमा लान आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्न तयार रहेको बताए । उनले चितवनमा पार्टीलाई सुदृढ बनाउँदै लैजान आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै पार्टी जिल्ला सभापति जोखाप्रसाद चौधरीले पार्टीलाई जिल्लामा सशक्त पार्टीको रुपमा उदय गराउन पार्टीलाई सुदृढ गर्दै लैजाने बताए । उनले सबै जिल्लाका नेता तथा कार्यकर्ताहरु एकजुट नभएसम्म पार्टीलाई अगाडि बढाउन कठिन हुने भन्दै आफ्नो स्वार्थ त्यागेर पार्टीको निर्देशन अनुसार अघि बढ्नुपर्ने बताए । उनले स्थापनाको छोटो समयमै लोकतान्त्रिक फोरमले देशको राजनीतिमा महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै आगामी दिनमा पनि देशलाई संकट परेको बेला लोकतान्त्रिक फोरमले नेतृत्वदायी भुमिका खेल्ने बताए । उनले लोकतान्त्रिक फोरम आदिवासी जनजाति, मधेसी, दलित, पिछडा वर्ग, विपन्न वर्गको उत्थानका लागि अघि बढेको भन्दै सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष नरबहादुर राई, मागर महतो, जिल्ला सदस्य एवम् हालै सम्पन्न कालिका न नगरपालिकाका मेयर उम्मेद्वार कमानसिंह चौधरी, पार्टीका कालिका नगर कमिटी अध्यक्ष हीरालाल थिङ, पार्टीका नेता चुडामणि चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । सचिव बलराम बर्देवाले सञ्चालन गरेको कार्यक्रम पार्टी सभापति जोखाप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ ।
नेपाल लोकतान्त्रिक फोरम ८ वर्षअघि मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को रुपमा स्थापना भएको थियो । हालै पार्टीमा अन्य केही दल पनि एकीकरण भएपछि पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राखिएको हो ।

 

 

Comments

About the author

चितवन पोष्ट