गृह » गीतसंगीतमा भविष्य खोज्दै झापादेखि काठमाडौँसम्म
कला

गीतसंगीतमा भविष्य खोज्दै झापादेखि काठमाडौँसम्म

भरतपुर । गायिका गंगा गजमेर सानैदेखि गीतसंगीत भनेपछि हुरूक्कै हुन्थिन् । परिवारमा पनि सानैदेखि रेडियो सुन्ने हुँदा उनलाई पनि सफल गायिका बन्ने रहर उतिबेलै पलाएको थियो । उनको सानैदेखि गीतसंगीत सुन्ने बानी भए पनि बाहिर खुलेर गीत गाउने र साथीसंगीलाई सुनाउने बानी भने थिएन ।
प्रायजसो नारायण गोपालका गीत सुनिहने उनले पहिलो पटक कक्षा १२ पढ्दै गर्दा मञ्चमा गीत गाएकी थिइन् । ‘त्यतिबेला हामी कक्षा १२ मा थियौँ,’ उनले भनिन्, ‘कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गर्ने कार्यक्रममा पहिलो पटक मञ्चमा गीत गाएकी थिएँ ।’ त्यतिबेला मनमा डर थियो । तर, साथीसंगीको माया र हौसलाले आज उनी गायिका बन्न सफल भएकी छिन् ।
दमक–२ झापामा २०४५ सालमा जन्मिएकी गंगाले कक्षा सातसम्मको अध्ययन भृकुटी निमावि भाङबारीमा गरेपछि दमककै हिमालय उच्च माविबाट प्लस टु गरिन् । त्यसपछि उच्च शिक्षाका लागि उनी २०६४ सालमा राजधानी प्रवेश गरिन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट शिक्षा शास्त्र संकायमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी उनले संगीत कक्षालाई पनि सँगसँगै अगाडि बढाउँदै लगिन् । हाल उनी ललितकला क्याम्पसबाट भोकलमा बीएफए सकेर बसेकी छिन् ।
केही वर्ष पहिलेदेखि दाइ दिदी पनि राजधानीमै रहेकोले उनको राजधानी बसाइ अहिलेसम्म सजिलै छ । उनी बिहान कलेज जान्थिन् । दिउँसो संगीत सिक्न जान्थिन् । कलेजको पढाइ सकिए पनि उनले संगीत कक्षा भने अझै पनि छाडेकी छैनन् । उनी विगत आठवर्षदेखि शास्त्रीय संगीत सिकिरहेकी छिन् । काठमाडौँ गल्कोपाखामा बस्दै आएकी गंगा विगत चारवर्षदेखि भने नरराज ढकाल प्रतिष्ठानमा प्रशिक्षक प्रभुराज ढकालसँग संगीत सिक्दै छिन् ।
यही क्रममा उनले एकमहिनाअघि मात्रै ‘स्वरादी’ नामक पप–आधुनिक गीति संग्रह श्रोतामाझ पस्किएकी छिन् । उक्त संग्रहमा चारवटा गीत समावेश छन् । संगीता थापामगर, राजु थापा र आनन्द अधिकारीको शब्द र मानषी किरण, राजु थापा र शिखर सन्तोषको संगीत रहेको उक्त संग्रहमा गायिका गजमेरको एकल स्वर सुन्न सकिन्छ । यसअघि उनले २०६७ सालमा ‘अभियोग’ नामक एल्बममा एउटा गीत गाउने अवसर पाएकी थिइन् । अहिलेसम्म पाँचवटा गीत बजारमा ल्याइसकेकी गंगाको करिब आधादर्जनभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । यसले पनि उनको केही इच्छा पूरा भएको छ ।
त्यसो त उनी गीतसंगीतमै भविष्य खोज्दैछिन् । घरपरिवारबाट पनि सकारात्मक सहयोग पाइरहेकीले उनलाई यस क्षेत्रमा लाग्नको लागि थप प्रेरणा मिलेको छ । अहिले उनी ‘स्वरादि’को प्रचारप्रसारमा देशका विभिन्न जिल्लाहरू घुमिरहेकी छिन् । परिवारमा पनि गीतसंगीत मन पराउने हुनाले यस क्षेत्रमा काम गर्न सजिलो भएको उनी बताउँछिन् । विशेष गरी वियोगान्त गीत मन पराउने उनले आगामी दिनमा दर्शक श्रोताको चाहनाअनुसारका सांगीतिक कोसेली बजारमा ल्याउने सोच बनाएकी छिन् ।

Comments

About the author

चितवन पोष्ट