गृह » नारायणगढमा ‘जिउँदो लाश’ हेर्नेको भीड
कला

नारायणगढमा ‘जिउँदो लाश’ हेर्नेको भीड

–तुलमान गुरूङ 
भरतपुर । गुरूङ संस्कृतिमा आधारित नेपाली भाषाको कथानक चलचित्र ‘जिउँदो लाश’ शनिबार नारायणगढमा प्रदर्शन गरिएको छ ।
गायक, गीतकार तथा संगीतकार दुर्गा गुरूङ, कृष्ण गुरूङ (प्यार सिं कालु), हितमान गुरूङ र पर्सन गुरूङको संयुक्त लगानीमा निर्माण भएको चलचित्र राजधानीमा दुई शो प्रदर्शन गरेपछि चितवनमा प्रदर्शन गरिएको हो । यसपछि छिट्टै नै तनहुँको आँबुखैरेनी र पोखरामा प्रदर्शन गरिने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ । आउँदो सेप्टेम्बरपछि भने युरोपका विभिन्न शहरहरूमा प्रदर्शन गर्ने तयारी भइरहेको चलचित्रका निर्माता÷गीतकार÷संगीतकार÷गायक÷कलाकार दुर्गा गुरूङले बताए ।
चलचित्रको कथावस्तुमा बाँचेर पनि केही गर्न नसकेका व्यक्तिहरूलाई मुख्य पात्रको रूपमा उभ्याइएको चलचित्रका कलाकार एवम् निर्माता कृष्ण गुरूङ (प्यार सिं कालु)ले बताए । आफ्नो जिन्दगी देखेर आफैँले हार खाने व्यक्तिहरूको जीवन र आफ्नो जीवन आफैँलाई बोझ बनाएर दैनिकी चलाइरहेका व्यक्तिहरूको कथालाई चलचित्रमार्फत दर्शकसामु देखाउने प्रयास गरिएको उनको भनाइ छ । साथै प्रेमकथालाई पनि सुन्दर ढंगले प्रस्तुत गरिएको उनले बताए ।
चलचित्र हेर्नका लागि दर्शकहरू निर्धारित समयमै नारायणी कला मन्दिर पुगेका थिए । द्वन्द्व निर्देशक जनक गुरूङको निर्देशनमा तयार भएको चलचित्र हेर्ने दर्शकले कला मन्दिरको हल खचाखच भरिएको थियो । चलचित्रमा हितमान गुरूङ, अनुता गुरूङ, लक्ष्मी गुरूङ, सन्तोषी तामाङ, आकृति लिम्बु, सीता गुरूङ (झुपी), सीता गुरूङ, दुर्गा गुरूङ, पर्सन गुरूङ, रेशम गुरूङ, तारा गुरूङ, कृष्ण गुरूङ (प्यार सिं कालु), रविन गुरूङलगायतका कलाकारहरूले मुख्य भूमिका निर्वाह गरेका छन् ।
कलाकार पर्सन गुरूङको कथामा बनेको चलचित्रलाई भेष गुरूङले खिचेका हुन् । एडीदीएन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा दुर्गा गुरूङको गीत÷संगीत रहेको छ । चलचित्र हेरिसकेपछि दर्शकले अत्यधिक रूचाएको कलकार एवम् निर्माता दुर्गा गुरूङले बताए । चितवनवासीको उल्लेख्य सहभागिताले थप हौँसला बढेको उनले बताए ।
‘चितवनबासी दर्शकहरूको माया सहयोगले आगामी दिनहरूमा जिम्मेवारी थपिएको हामीले महसुस गरेका छौँ,’ उनले भने, ‘दर्शकहरूबाट आएको राम्रा र नराम्रा सबैखालको प्रतिक्रियालाई पनि आगामी दिनहरूमा आत्मसात गर्दै जानेछौँ ।’ गुरूङ समुदायको बाहुल्यता भएकोले पछिल्लो समय चितवनमा पनि गुरूङ समुदायमा आधारित धेरै चलचित्रहरू प्रदर्शन हुन थालेका छन् । चलचित्र प्रदर्शनका लागि निर्माता एवम् कलाकारद्वय दुर्गा गुरूङ र कृष्ण गुरूङ (प्यार सिं कालु) अभिनेता रेशम गुरूङलगायतका टोली चितवन आएका थिए ।

Comments

About the author

चितवन पोष्ट