गृह » अन्ततः फेरि मतदान, – फैसला चोरलाई चौतारी भयो : देवी ज्ञवाली, – फैसला जनताको पक्षमा आयो : रेणु दाहाल
प्रमुख समाचार राजनीति

अन्ततः फेरि मतदान, – फैसला चोरलाई चौतारी भयो : देवी ज्ञवाली, – फैसला जनताको पक्षमा आयो : रेणु दाहाल

किशोर खनाल
भरतपुर । इलास्टिक जस्तो तन्केको भरतपुर प्रकरणले आइतबार टुङ्गो पाएको छ । भरतपुर महानगरपालिकाको वडा नं १९ मा सर्वोच्च अदालतले पुनः मतदान गर्ने फैसला गरेपछि इलास्टिक जस्तो तन्केको भरतपुर प्रकरणले टुङ्गो पाएको हो ।
न्यायाधीश ओमप्रकाश मिश्र र पुर्षोत्तम भण्डारीको संयुक्त इजलासले वडा नं १९ मा पुनः मतदान गर्न आदेश दिएको हो । इजलासले यसअघिको अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीशद्वयले पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै मुद्दाको फैसला सुनाएको हो । फैसलाले निर्वाचन आयोगलाई पुनः मतदान गर्नको लागि बाटो खुला पनि गरिदिएको छ ।
भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मत गन्दागन्दै जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएको थियो । मतपत्र च्यातेपछि माओवादी केन्द्रका दुई कार्यकर्तालाई चितवन प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । पछि उनीहरु अदालतबाट धरौटीमा रिहा भएका थिए ।
जेठ २० गते निर्वाचन आयोगले पुनः मतदान गर्न आदेश दिए पनि सर्वोच्च अदालतमा रिट परेको थियो । निर्वाचन आयोगको निर्णयविरुद्ध भरतपुर १९ का वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले जेठ २१ मा सर्वोच्च अदालतमा रिट टायर गरेका थिए । रिटमा उनीहरुले वडा नं १९ मा पुनः मतगणनाको माग गरेका थिए । मतगणनाको मागको विरुद्धमा सर्वोच्चले पुनः मतदानको फैसला गरेको छ ।
‘फैसला दुर्भाग्यपूर्ण’
भरतपुर महानगरका एमालेबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण भनेका छन् । उनले भने, ‘सर्वाेच्चको फैसला मान्न त पर्छ नै, तर यो फैसला दुर्भाग्यपूर्ण आयो ।’ उनले यस्तो फैसला गर्नेको आत्मा कुनैसमय भतभती पोल्ने बताए ।
‘यो फैसला चोरलाई चौतारी साधुलाई सुली भएको छ । तर मलाई विश्वास छ, देवी ज्ञवालीलाई वडा नं १९ का जनताले फेरि जिताउँछन् ।’
‘फैसला स्वागतयोग्य’
माओवादी केन्द्र तथा नेपाली कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालले सर्वोच्चको फैसला स्वागतयोग्य भनेकी छन् । उनले यो फैसला जनताको पक्षमा आएको बताइन् ।
‘जनताको पक्षमा फैसला आएको छ, जनताको अभिमतको कदर भएको छ’ दाहालले भनिन्, ‘मलाई वडा नं १९ का जनताले जिताउनेछन् ।’ सर्वाेच्चले कानुनअनुसार नै फैसला गरेको उनले बताइन् ।
२७ वडाको मतगणना सम्पन्न
भरतपुर महानगरमा २९ वडा छन् । २७ वडाको मतगणना सम्पन्न भइसकेको छ । मतगणनाको क्रममा भरतपुर महानगरमा एमालेका मेयर उम्मेदवर देवी ज्ञवाली अगाडि थिए । नेपाली कांग्रेस र माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालेले देवी ज्ञवालीको मतान्तर घटाउँदै लगेकी थिइन् ।
१९ नं वडाकोे मतगणना गन्दागन्दै मध्यरातमा मतपत्र च्यातिएको हो । यो वडामा २ हजार ८६८ मत खसेको थियो । २ हजार २ सय मत गनिसकेपछि मतपत्र च्यातिएको थियो । मतपत्र च्यातेपछि भरतपुर प्रकरणले देशभरमै हलचल ल्याए । यो विवाद सर्वोच्चसम्म पुगेर इलास्टिक जस्तो तन्केको तन्कै भयो ।
वडा नं २० मा मतगणना भएकै छैन । २७ वटा वडाको मतगणना सकेर वडा नं १९ को मतगणनाको क्रमसम्म (मतपत्र च्यातिनुअघिसम्म) एमालेका देवी ज्ञवालीले ४० हजार ९८० मत ल्याएका थिए । गठबन्धनकी उम्मेदवार रेणु दाहालले ४० हजार १९६ मत ल्याएकी थिइन् ।
अब कहिले होला मतदान ?
सर्वोच्चले वडा नं १९ मा पुनः मतदान गर्ने फैसला गरेपछि एमाले पनि मतदानमा जानैपर्न कर लाग्छ । निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक राखेर चाँडै वडा नं १९ मा पुनः मतदान गर्ने निर्णय गराउने सुरसारमा लागेको छ ।
‘निर्वाचन आयोगसँग परामर्श गछौँ । रिट खारेज भएको पत्र आएपछि सर्वदलीय बैठक बोलाएर पुनः मतदानको मिति तोक्ने छौँ’ सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले भने, ‘हामी मिति तोक्न कुनै हालतमा ढिला गर्ने पक्षमा छैनौँ । सकभर साउन २२ भित्रै मतदानको मिति तोक्ने पहल गर्छौँ ।’ उनले साउन २३ बाट स्कुलहरु खुल्ने भएकाले २२ भित्रै मतदान गर्न पाए राम्रो हुने बताए ।

Comments

About the author

चितवन पोष्ट