गृह » च्याम्प चितवनको फाइनल आज
कला

च्याम्प चितवनको फाइनल आज

नारायणगढ । नारायणगढस्थित होलिडेज क्रियशनले आयोजना गरेको एपोलो च्याम्प चितवन–२०७४ को आज सोमबार फाइनल प्रतिस्पर्धा हुँदैछ ।
चितवन, नवलपरासी र काठमाडौँका ५० जना बालबालिकाको सहभागिता रहेको प्रतियोगिताबाट आज उत्कृष्ट छानिनेछन् । प्रतियोगितामा उत्कृष्ट भएका बालबालिकाहरूले प्रिन्स च्याम्प र प्रिन्सेस च्याम्प चितवनको ताज पहिरिनेछन् ।
विभिन्न १५ विद्यालयमा अध्ययनरत ७ देखि १३ वर्ष उमेर समूहका बालबालिकाहरू अन्तिम प्रतिस्पर्धाका लागि अन्तिम चरणमा रहेको आयोजक संस्था होलिडेज क्रियशनले जनाएको छ । सोमबार गैँडाकोटमा हुँदै गरेको फाइनलमा नेपाली चलचित्रका महानायक राजेश हमालको उपस्थिति रहने आइतबार नारायणगढमा पत्रकार सम्मेलन गरी जानकारी गराए । बालबालिकालाई एक महिनासम्म विभिन्न विधागत प्रशिक्षणमा सहभागी गराउँदै फाइनलको तयारी गरिएको कार्यक्रम संयोजक एवम् क्रियशनका सञ्चालक नारायण ढकालले बताए ।
फाइनलका लागि छनौट २० जना बालक र ३० जना बालिकालाई अन्तर्राष्ट्रिय इभेन्ट म्यानेजर अनिला श्रेष्ठले प्रशिक्षण दिएकी छिन् । नृत्य निर्देशक रेणु तामाङलगायत अन्य विभिन्न दक्ष व्यक्तिहरूबाट व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण दिइएको संयोजक ढकालले जानकारी दिए ।
फाइनलबाट विजेताहरूले क्रमशः ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुनका लागि बालबालिकाबाट प्रवेश शुल्कस्वरूप प्रतिव्यक्ति १५ हजार रूपैयाँ लिइएको थियो । बालबालिकाहरूबाट लिइएको शुल्कबाटै एक महिने प्रशिक्षण र विभिन्न क्रियाकलाप गरेर बालबालिकाहरूको क्षमता विकासका कार्यक्रमहरू गरिएको क्रियशनकी निर्देशक लक्ष्मी पन्त ढकालले जानकारी दिइन् ।

 

Comments

About the author

चितवन पोष्ट