गृह »  सुटिङको हब बन्दै चितवन
कला समाचार समाज

 सुटिङको हब बन्दै चितवन

 — नारायण अधिकारी
भरतपुर । ‘मुुग्लिनपारि तरेर गण्डकी लर्के जोवन दिऊँ कसलाई बन्धकी हातमा चुरा छ, हातमा चुरा छ है,  चुरा छ है चुरा छ छिट्टै भेट है माया एउटा कुरा छ’
सलल बगेको नारायणी र वा दुर्लभ वन्यजन्तुको बासस्थान चितवन राष्ट्रिय निकुञ्जलगायतले चितवन चलचित्र छायांकनको गन्तव्य बन्दैछ । अग्ला पहाड, चुरे र तराईको समथर भूमि, विकसित सहर, सुकुमबासी बस्ती र आदिवासी जनजातिको संस्कृति झल्कने आवासीय क्षेत्र तथा कृत्रिम र प्राकृतिक छटाले भरिपूर्ण चितवन चलचित्र नगरी बन्ने सम्भावना छ । राजधानी काठमाडौँबाट छोटो यात्रामा आइपुगिने चितवन बसोबासको दृष्टिले पनि कम खर्चिलो मानिन्छ । त्यसो त, चलचित्रले चाहेजस्ता रुप र रङका सहायक कलाकार पाउन पनि यहाँ सहज छ । सहयोगी भावनाका चितवनवासी चलचित्र निर्देशकका लागि अर्काे रोजाइको स्थान बनेको छ ।
चलचित्र निर्देशक संघ नेपालका पूर्वअध्यक्ष विमल पौडेल भूगोलको हिसाबले राजधानीबाट नजिक, खर्चको हिसाबले सस्तो, खोजेजस्तो दृश्य र कलाकार पाइने भएकाले चितवन धेरैको रोजाइमा पर्ने गरेको बताउँछन् । पछिल्लोपटक ‘पोखराकी काली’ नामक चलचित्रको पूरै छायांकन चितवनमा गरेका पौडेल भन्छन्, “दृश्य छायांकन गर्दा स्थानीयवासीबाट पाइने सहयोगले पनि धेरै निर्देशकलाई चितवन तान्ने गरेको छ ।” चलचित्र विकास बोर्डका पूर्वसदस्य पौडेलले चितवनलाई चलचित्र नगरी बनाउन आफूले बोर्डमा प्रस्ताव नै राखेको जानकारी दिन्छन् ।
गत आवमा ‘छयत्तरौँ जिल्ला’ चितवनमा ‘निर्भय’, ‘रूद्र’, ‘राधे’, ‘पिँजडा ब्याक अगेन’, ‘बाबुकान्छा’, ‘ब्वाइफ्रेन्ड’, ‘पर्शुराम’, ‘लुट २’, ‘म यस्तो गीत गाउँछु’, ‘बटरफ्लाई’, ‘सुपर गोर्खे’, ‘लम्फू’, ‘सिक्का’लगायत चलचित्र छायांकन भएको बाबुकान्छाका निर्माता रवि अधिकारी बताउँछन् ।नेपालमा वार्षिक करिब दुई सय चलचित्र छायांकन हुने अनुमान छ । तीमध्ये १२० जति प्रदर्शन हुने बताइएको छ । पौडेलका अनुसार झन्डै पूर्ण हिस्सादेखि केही भागसम्म चितवनमा चलचित्र छायांकन हुने गरेको छ ।
हालैमात्र चलचित्र ‘बाबुकान्छा’ को चितवनमा नै निर्देशन गरेका निर्देशक सोभित बस्नेत राजधानीबाहिरका चितवन र पोखरा छायांकनका लागि मह¤वपूर्ण स्थान भएको बताउँछन् । हालसम्म आफूले निर्देशन गरेका २९ चलचित्रमध्ये छवटा चितवनमा नै छायांकन गरिएको जानकारी दिँदै उनले चलचित्रले मागेको दृश्य चितवनमा दिन सकिने बताए ।
प्रदर्शन भइरहेको चलचित्र ‘निर्भय’ को २५ प्रतिशतभन्दा बढी छायांकन चितवनमै भएको हो । यसका निर्देशक मधुसूदन भट्टराई दुर्लभ वन र वन्यजन्तुदेखि कला, संस्कृति सबै हिसाबले छायांकनका लागि चितवन उपयुक्त भएको मान्छन् । यसअघिका आफ्ना अधिकांश चलचित्रका छायांकन नगरकोट र धुलिखेल क्षेत्रमा भएको जानकारी दिँदै उनले नयाँ ठाउँको खोजीमा रहेका निर्देशकलाई चितवनले तान्न सकेको बताए ।
निर्देशक र निर्माता मात्रै होइन, कलाकार पनि चितवनको छायांकन भनेपछि भुतुक्कै हुने गर्छन् । गत आवमा चार चलचित्रमा चितवनमा नै अभिनय गरेका नायक निखित उप्रेती छायांकनका लागि दृश्य मात्रै होइन, चितवनवासीको सहयोगी भावना ज्यादै सराहनीय भएको बताउँछन् ।
यहाँका नदी, तालतलैया, वनजंगल, जंगली जनावर तथा कला, संस्कृति लोभलाग्दो भएको बताउँदै उप्रेतीले चितवनमा अभिनय गर्न पाउँदा ज्यादै आनन्द आउने गरेको अनुभव सुनाए ।
नायिका नीता ढुंगाना चितवन आफ्नै ठाउँजस्तो लाग्ने बताउँछिन् । उनले चितवन बसाइ आफ्नै घरमा बसेजस्तै हुने बताइन् । “सौराहा ज्यादै मनमोहक लाग्छ”, ढुंगानाले भनिन्, यहाँका बासिन्दाको सहयोगी भावनाले अभिनय गर्न सहज तुल्याउँछ”, उनले थपिन् ।
विसं २०१६ देखि चलचित्रमा अभिनय थालेका जिल्लाका पुराना कलाकार ऋद्धिचरण श्रेष्ठ पहाड र तराईको दृश्यसँगै नदीनाला, दुर्लभ वन्यजन्तु र यहाँका फरक फरक संस्कृति तथा रहनसहनले चलचित्रलाई मनमोहक बनाउने बताउँछन् । झन्डै ७१ चलचित्रमा अभिनय गरिसकेका श्रेष्ठ पछिल्लो समय जिल्लामा छायांकन गर्ने लहर बढेको जानकारी दिन्छन् ।
जिल्लाका नारायणी र राप्ती नदीकिनार, देवघाट, नारायणीको पुल, सौराहाका हात्तीसार र निकुञ्ज, मेघौली, जगतपुर, पटिहानी, बिसहजारी ताल, राइनो ताल, थारु र दराई बस्ती, क्यान्सर अस्पताल, मेडिकल कलेजलगायत ठाउँमा धेरै मात्रामा चलचित्र छायांकन गर्ने गरिन्छ ।
चलचित्र छायांकनलाई आवश्यक पर्ने ठूला होटल, भव्य आवासीय भवन, सुविधासम्पन्न स्कुल र कलेज पनि जिल्लामा उपलब्ध छन् । यसले गर्दा चलचित्र छायांकन गर्न सहज हुने गरेको निर्देशक बताउँछन् । रासस

Comments

About the author

चितवन पोष्ट