गृह » लोकप्रिय बन्दै एनभीक्यूयस परियोजना
प्रविधि समाचार समाज

लोकप्रिय बन्दै एनभीक्यूयस परियोजना

नारायणगढ । नेपाल व्यवसायिक योग्यता निर्धारण प्रणाली –एनभीक्यूयस) परियोजनाले विगत दुई वर्षदेखि व्यवसायिक सीप प्राप्त गरेका व्यक्तिहरुलाई प्रमाणपत्र वितरण गर्दै आइरहेको छ ।
सन् १९८३ देखि नै सीप परीक्षण प्राधिकरण नामक संस्थाको स्थापना भएर बेरोजगार तथा अर्धरोजगारको क्षेत्रमा काम गर्दै आए पनि यसलाई अझ व्यवस्थित बनाउने उद्देश्यले दुई वर्ष अघिदेखि एनभीक्यूयस परियोजनाले काम गर्दै आइरहेको छ ।
सीप सिक्न चाहने र सिकिसकेका बेरोजगार तथा अर्धरोजगारहरुका लागि हाल देशभर ७६ वटा परीक्षण केन्द्रमार्फत प्रमाणपत्र वितरण गर्ने गर्दछन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यवसायिक योग्यता निर्धारण प्रणाली परियोजनाले बुधबार यही विषयमा नारायणगढमा चितवनका उद्योगी, व्यवसायीका साथै शिक्षक, समाजसेवीलगायतका प्रभुत्व व्यक्तित्वहरुसँग परियोजनाले अन्तरक्र्रिया नै गरेको थियो ।
उद्योग वाणिज्य संघ चितवनको समन्वयमा भएको उक्त कार्यक्रममा राष्ट्रिय सीप परीक्षण समितिका उपनिर्देशक टैलेन्द्र आचार्यले नेपाली युवाहरु दैनिक हजारौँको संख्यामा विदेश गइरहेको अवस्थामा स्वदेशमै पनि रोजगार गर्न सक्ने प्रवल संभावना रहेकोले परियोजनाले यस विषयलाई अभियानकै रुपमा देशभरका विभिन्न जिल्लाहरुमा केन्द्र राखेर सीप भएर पनि प्रमाणपत्र नपाएकाहरुका लागि प्रमाणपत्र वितरण गर्ने कार्यक्रम अगाडि ल्याएको बताए ।
सीटीईभीटीले तोकेको मापदण्डअनुसारको प्रक्रिया पूरा गरेर सीप परीक्षणमार्फत प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था रहेको उनले बताए । उनका अनुसार नेपालमा २८५ वटा फरकफरक पेसाको परीक्षण गरेर प्रमाणपत्र दिने व्यवस्था रहेको छ । तर, सर्टिफिकेट लिइसकेपछि भने मानिसको विदेश पलायन हुने समस्या रहेकोले त्यस्ता व्यक्तिहरुलाई रोजगारको लागि स्वदेशमै व्यवस्थापन गर्न सके राम्रो हुने धारणा राखे । तर, आफूले जानेको सीप स्वतन्त्ररुपमा प्रयोग गर्न पाइने भएकोेले स्वदेशमै बस्नुपर्छ भन्ने बाध्यता नरहेको उनको भनाइ छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का टिम लिडर देविप्रसाद दाहालले सीप परीक्षण सम्बन्धी नीतिअनुसार विभिन्न तहका आधारमा रोजगार पाउने व्यवस्था रहेको बताए । यसका लागि राजधानीमा वार्षिक तीन पटक र बाहिरी जिल्लाहरुमा भने वर्षमा एक पटक मात्रै यस विषयमा कार्यक्रम सञ्चालन हुँदै आएको उनले बताए । विशेषगरी परम्परागत सीप भएका व्यक्तिहरुका लागि सीप परीक्षण राम्रो भएको उनको भनाइ छ ।
सीप भएर पनि काम गर्ने मान्यता नपाएका व्यक्तिलाई स्वदेश तथा विदेशमा जुनसुकै देशमा पनि काम गर्नका लागियो कार्यक्रमले सजिलो बनाएको उनको भनाइ छ ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम, चितवनका जिल्ला शिक्षा अधिकारी गोविन्द अर्याल, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदी, जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी दीपक श्रेष्ठ, महिला तथा बालबालिका कार्यालयकी प्रमुख शान्ताकुमारी पौडेललगायत उपस्थित थिए ।

 

Comments

About the author

चितवन पोष्ट