गृह » चित्रवन रंगशाला निर्माणले गति लिँदै
खेलकुद

चित्रवन रंगशाला निर्माणले गति लिँदै

शारदानगर । पश्चिमचितवनको भरतपुर माहानगरपालिका वडा नं २० नयाँबजारमा निर्माणाधीन अत्याधुनिक प्याराफिटसहितको सुविधासम्पन्न रंगशालाको निर्माण कार्य जोडतोडले चल्नुको साथै रंगशालामा कम्पाउण्ड निर्माणको काम सम्पन्न भएको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकारको चितवन प्याकेजअन्तर्गत बहुवर्षीय योजनामा पर्ने ५० करोड रुपैयाँ बजेटको योजना र तत्काल ५० लाख विनियोजन गर्ने आश्वासनपछि बजेट निकासाको क्रमसँगै रंगशाला निर्माण कार्यले तीव्रता लिएको हो ।
चित्रवन रंगशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र गुरूङ अनुसार जिल्ला समन्वय समितिबाट बजेट निकासा गरिएसँगै रंगशालामा २३० मिटर पर्खाल लगाइएको र बाँकी प्रक्रियामा रहेको साथै प्याराफिटको काम पनि जोडतोडले चलिरहको बताए । अध्यक्ष गुरूङले रंगशालामा ९५ मिटरको प्याराफिटमा करिब ३ हजार दर्शक अटने गरी प्याराफिटसहितको १० बिगाहा क्षेत्रमा निर्माण गरिने रंगशालाको अनुमानित ३ करोड रुपैयाँ खर्च हुने जानकारी दिए ।
पश्चिमचितवनकै स्र्पोट्स भिलेज बन्न गैरहेको भरतपुर–२० को शारदानगर नयाँबजार क्षेत्रमा रंगशालाको साथसाथै एथ्लेटिक्सका लागि ट्याक निर्माण गरिने, हाइजम्प, लङ्गजम्प, तथा भलिबलका कोट बन्ने तथा फुटबल र क्रिकेट मैदान बन्ने चित्रवन रंगशाला निर्माण उपभोक्ता समितिका सचिव टुकमान गुरूङले बताए ।
साविक चित्रवन नगरपालिकाका सर्वदलीय निर्णयका आधारमा रंगशालाको काम थालिएको बताउँदै सचिव गुरूङले साविक चित्रवन नगरपालिका र जिल्ला खेलकुद विकास समिति चितवनबाट १५ लाख रुपैयाँ सहयोग भएको बताए ।
पश्चिमचितवनमा रंगशाला निर्माणका लागि प्रवासमा रहेका नेपालीहरु पनि कस्सिएका छन् । विभिन्न मुलुकमा रहेका नेपालीहरु सहयोग संकलनमा जुटिरहेका छन् । सहयोग संकलनको निम्ति जिम्मेवारी पाएका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य तथा डेनमार्कका लागि पर्यटन बोर्डका मानार्थ प्रतिनिधि सोम सापकोटाले जनाएका छन् ।
विभिन्न देशमा संयोजक नै तोकेर रकम संकलन गरिरहेको र १५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको सापकोटाले बताए ।

Comments

About the author

चितवन पोष्ट