गृह » ‘गुणस्तरीय शिक्षाले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन गराउँछ’
अन्तर्वार्ता

‘गुणस्तरीय शिक्षाले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन गराउँछ’

अमृता न्यौपाने ‘उदासी’
स्टेप बाई स्टेप इङ्लिस बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक जेबी गुरूङ विगत दुई दशकदेखि शिक्षण पेसामा आबद्ध छन् । निरन्तर लगनशील भएर जुनसुकै काम गरे पनि त्यसले सफलता हात पार्छ भन्ने कुराको उनी एक उदाहरण मानिन्छन् । प्रस्तुत छ, उनीसँग शैक्षिक विषयमा केन्द्रित रहेर चितवन पोष्ट दैनिकले गरेको साक्षात्कार :
१. जेबी सर, शैक्षिक क्षेत्रमा लाग्नुभएको कति वर्ष भयो ?
— विगत १९ वर्षदेखि म यो क्षेत्रमा लागेको हुँ ।
२. यस क्षेत्रसँग कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
— सन्तुष्ट छु । यदि सन्तुष्ट नभएको भए अन्य पेसामा आबद्ध हुन्थेँ होला । मैले जुन क्षेत्रमा योगदान दिएँ, त्यो क्षेत्र हराभरा भएको र अपेक्षामूलक प्रगति गरेकोले अन्यन्त खुशी छु ।
३. चितवनको शैक्षिक इतिहासमा हिजो र आजमा केकस्ता अन्तरहरु पाउनुभएको छ ?
— समाज परिवर्तनसँगसँगै शिक्षाका अवधारणाहरु परिवर्तन हँुदैछन् । हिजोको शिक्षा बढी अनुशासनमुखी भए पनि व्यवहारमुखी थिएन, तर आजको शिक्षा युग सुहाउँदो रुपमा परिवर्तन हँुदै गएको छ । यो समयको माग हो । जस्तै, आज कम्प्युटर शिक्षालगायत प्रयोगशालादेखि सीपमूलक शिक्षाहरु आएको छ, जुन राम्रो पक्ष हो ।
४. विभिन्न शैक्षिक क्षेत्रमा प्राध्यापन गराउनुहुन्छ, आज आफ्नै संस्थाको बारेमा केही भनिदिनुहोस् न ।
— हाम्रो विद्यालय चितवन जिल्लामा लामो समयदेखि विभिन्न कलेज तथा उच्च मावि एवम् निजी विद्यालयहरुमा लामो समयसम्म काम गरेका अनुभवी शिक्षकहरुको समूहबाट सञ्चालित विद्यालय भएको हुनाले यस क्षेत्रमा केकस्ता योजनाहरु लागू गर्दा एउटा विद्यालय पूर्ण हुन सक्छ भन्ने अवधारणाका साथ अगाडि बढेको छ । त्यसैले, छोटो समयमा गुणात्मक र संख्यात्मक वृद्धि गर्न सफल भएको छ । हामीले हाम्रा चीजहरु आफैँले भन्नुभन्दा पनि यस विद्यालयबाट पढेर माथिल्लो तहमा एम.बी.बी.एस, बि.ई., बी.एस्सी. एजी. लगायतका संकायमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरु र उनका अभिभावकलगायत अन्य जानकार व्यक्तिहरुसँग तपाईंले सोध्नुभयो भने थाहा पाउनुहुन्छ । साथै, हाम्रो विद्यालय सफल विद्यालयको रुपमा स्थापित हुनका लागि विषयगत शिक्षकशिक्षिकाहरु, कक्षा कोठाको उचित व्यवस्थापन, प्रयोगशाला, खेल मैदान, पुस्तकालय, छात्रावासलगायत यसले दिएका सुविधाहरु नै यस विद्यालयको उन्नयनको प्रमुख कारक हुन् ।
५. माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) परीक्षाफल प्रकाशन गर्ने पुरानो पद्धति र नयाँ पद्धतिका बीच केकस्तो अन्तर छ ?
— परीक्षाफल प्र्रकाशन गर्ने पुरानो पद्धति र नयाँ पद्धतिमा धेरै फरक छ । एउटा विषयगत लेटर ग्रेडिङ यसलाई जिपिए ग्रेडिङ पनि भनिन्छ । ग्रेडिङ रिजल्टले बच्चाको विषयगत रूचि र उपलब्धिअनुसारको विषय छनोट गर्न पाउने र फेल भन्ने शब्दबाट विद्यार्थी तथा अभिभावकको मनोविज्ञानलाई टाढा राखेको पाइन्छ, तर पुरानो पद्धतिअनुसारको रिजल्टले विद्यार्थी र अभिभावकमा पास र फेल प्रक्रियाको बढी नकारात्मक प्रभाव परेको थियो, तर ग्रेडिङ पद्धति विद्यार्थीले बुझिनसकेकाले केही सहजजस्तो भएको छ, यद्यपि त्यसो नभएर यो पद्धतिमा अझ बढी मिहिनेत गर्नुपर्ने देखिन्छ ।
६. तपाईंको विद्यालयमा +२ कार्यक्रम भर्खर सुरू गर्न लाग्नुभएको रहेछ, यसको तयारी कस्तो छ ?
— मैले अघि नै भनिसकेँ, हाम्रो विद्यालय चितवन जिल्लामा लामो समयदेखि विभिन्न कलेज तथा +२ मा प्राध्यापन गराइसकेका समूहबाट सञ्चालित भएको हुनाले विषयगत विज्ञहरुको व्यवस्था भइसकेको छ । +२ कार्यक्रम सञ्चालन गर्नको लागि गत वर्ष नै हामीले सम्बन्धित निकायबाट सम्बन्धन प्राप्त गरिसकेका छौँ । गत वर्षदेखि नै वर्तमान समयअनुसारका पूर्वाधारहरुले समेटिएका विषयगत प्रयोगशाला (भौतिक विज्ञान, जीवविज्ञान, रसायन विज्ञान र कम्प्युटर विज्ञान), पुस्तकालय र खेल मैदानको व्यवस्था भइसकेको छ । पक्की ३ तले भवनमा सिसी क्यामरा जडित सुविधासम्पन्न कक्षा कोठा, विद्यार्थीमैत्री वातावरणको पनि व्यवस्था भइसकेको छ । बिहानी सत्रमा व्यवस्थापन विषयमा १ सेक्सन (४५) जना र दिवा समूहमा विज्ञान विषयमा जम्मा २ सेक्सन (९०) जनाको लागि फाराम वितरण भइरहेको छ । यो तीन–चार दिनको अवधिमा हामीले सोचेअनुसार फर्महरु वितरण भइरहेका छन्, जसले हामी थप उत्साहित भएका छौँ । साथै, यही असार १० गते बिहान ८ बजे र दिउँसो १ बजे प्रवेश परीक्षा सञ्चालन हुँदैछ ।
७. भर्खर माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) सकेर ११ कक्षामा कुन संस्थामा कुन विषय पढ्ने भनेर दोधारमा परेका विद्यार्थीहरुलाई के भन्न चाहनुहुन्छ ?
— पहिलो कुरा त आफ्नो कुन विषयमा रूचि छ ? ग्रेड कुन आएको छ ? समयको माग के छ ? लगायतका कुराहरुलाई मनन गर्नुपर्ने हुन्छ । सम्पूर्ण विषयका क्षेत्रहरु बराबर छन्, त्यसैले विद्यार्थीको क्षमता र रूचिअनुसारको विषयमा भर्ना गर्दा राम्रो हुन्छ । रह्यो संस्थाको कुरा, हरेक संस्था सञ्चालकहरु आफ्नो संस्थालाई राम्रो बनाउन लागिपरेका हुन्छन्, यद्यपि आफ्ना उद्देश्य प्राप्तिमा चुकिरहेका देखिन्छन् । एउटा विद्यार्थी पढ्नका लागि संस्था रोज्दा भीडभाडका पछाडि लाग्नुभन्दा कुन संस्थामा आफूले संरक्षण प्राप्त गर्दछु ? कुन संस्थाका शिक्षक कस्ता छन् ? त्यो संस्थाका शिक्षकहरुले आफूलाई चिन्ने अवस्था छ कि छैन ? आदि कुराको मनन गर्नुपर्ने हुन्छ । संरचना र होहल्लाका पछाडि लागेर हिँडियो भने भोलि धोका हुन सक्छ ।
८. गुणस्तरीय शिक्षा दिन कुन कुन पक्ष आवश्यक पर्छ ?
— गुणस्तरीय शिक्षा के हो ? भन्नेबारेमा विभिन्न विचारहरु छन् । मेरो विचारमा त जुन शिक्षाले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउँछ र उसले आफूले चाहेको उपलब्धिहरुलाई स्थापित गराउन सक्छ, त्यही शिक्षा नै गुणस्तरीय शिक्षा हो । मानिसले आफूले प्राप्त गरेको शिक्षाले उसको व्यवहारमा प्रभाव पारेको हुनुपर्छ । र, जुन शिक्षाले मानिसको जीवनमा परिवर्तन ल्याउनुका साथै आत्मनिर्भर भएर जिउन सिकाउँछ, त्यही शिक्षा ने गुणस्तरीय शिक्षा हो । त्यसैले, गुणस्तरीय शिक्षा दिनको लागि विषयगत शिक्षक, सुविधासम्पन्न कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, खेल मैदानलगायत बाहिरी वातावरण र विद्यार्थीको मनोविज्ञान बुझेर त्यहीअनुसारको पृष्ठपोषण दिनुपर्दछ ।
९. अब केही व्यक्तिगत कुरा गरौँ । तपाईंलाई नजिकबाट चिन्नेले जेबी सर ओखरजस्तै बाहिर कडा भित्र नरम छ भन्छन्, तपाईं आफूलाई कस्तो पाउनुहुन्छ ?
— मेरो व्यक्तिगत प्रश्नको बारेमा मैलेभन्दा पनि तपाईंहरुले बुझ्ने कुरा हो । म लामो समयदेखि शैक्षिक क्षेत्रमा लागेको छु । प्रवेशिका परीक्षा सकेलगत्तैदेखि लिटल स्टारबाट शैक्षिक पेसा सुरूवात गरेर ब्रिटिस स्कुलको प्रिन्सिपलदेखि यस विद्यालयको अध्यक्ष एवं प्रबन्ध निर्देशक भई विगत १४ वर्षदेखि काम गरिरहेको छु । सायद, चितवनमा मैले नपढाएको कलेज छैन जस्तो लाग्छ । त्यसैले, मेरो लामो शिक्षण अनुभव यस क्षेत्रमा लगाएको हुनाले मेरो प्रशासन अलि कडाजस्तो लागेको होला तर समयानुकूल नरम, कडा, सहयोगीजस्तो भूमिका पनि निर्वाह गरेको पनि मेरा शिक्षक तथा विद्यार्थीहरुले महसुस गरेकै हुनुपर्छ जस्तो लाग्छ ।
१०. अन्तमा केही भन्न चाहनुहुन्छ ?
— माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) पार गरेका विद्यार्थी भाइबहिनीहरुलाई पुनः एकपटक हार्दिक बधाई ज्ञापन गर्दै स्टेप बाई स्टेप इङ्लिस सेकेन्डरी स्कुल धेरै अनुभवी विषयगत दक्ष जनशक्तिको समूहबाट सञ्चालित भएको र सीमित सिटमा विद्यार्थी राखेर विद्यार्थीका हरेक पक्षको मूल्याङ्कन गरी पठनपाठन हुने एकमात्र संस्था हो । त्यसैले, तपाईंका आफ्ना बालबच्चालाई कक्षा नर्सरीदेखि १२ कक्षासम्म गुणस्तरीय शिक्षा दिनका लागि खोलिएको संस्था भएकाले यहाँहरु सबैलाई यस संस्था र मेरो व्यक्तिगततर्फबाट स्वागत गर्न चाहन्छु ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment