गृह » ‘साहित्य र विज्ञानबीच अन्तरसम्बन्ध छ’
अन्तर्वार्ता साहित्य

‘साहित्य र विज्ञानबीच अन्तरसम्बन्ध छ’

अमृता न्यौपाने ‘उदासी’
विसं २०२५ साउनमा जन्मिएका चर्चित कथाकार तथा प्राध्यापक हरिहर पौडेल लामो समयदेखि साहित्यिक सक्रियता र सिर्जनशीलताबाट टाढाजस्तै छन् । धेरै लेख्ने तर थोरै मात्र प्रकाशित गर्न रूचाउने कथाकार पौडेलले ६ वटा कृतिहरु प्रकाशित गरेका छन् । भूभौतिकशास्त्रमा पीएचडी गरेका पौडेलका कृतिहरुमा ‘इतिवृत्त’ (कथासंग्रह, २०५१), ‘भौतिकशास्त्रका नोबेल पुरस्कार विजेता’ (विज्ञानग्रन्थ, २०५८), ‘विज्ञान शब्दकोश’ (२०६०), ‘नोबेल पुरस्कार विजेता साहित्यकार (२०६२), ‘कालो उज्यालो’ (लघुकथासंग्रह, २०६२) र ‘अनुभ्रम प्रतिभ्रम’ (कथासंग्रह) प्रकाशित छन् । प्रस्तुत छ, नारायणी वाङ्मय पुरस्कार–२०५१ द्वारा सम्मानित साहित्यकार हरिहर पौडेलसँग चितवन पोष्ट दैनिकले गरेको स्रष्टासँग संवाद :
१. डा. पौडेल, तपाईंका कथा र लघुकथाहरु आजकल पढ्न पाइएको छैन, व्यस्त भएर हो कि नछापिएको मात्र हो ?
— कथा, लघुकथाहरु लेख्नेका निमित निरन्तर लेखिरहेकै छु र प्रकाशनमा त्यति ध्यान दिएको छैन, करिब एक दशक भयो । किनभने, राम्रो चीजहरु मात्रै प्रकाशनमा जानुपर्छ भन्ने हो । पहिला जुन लघुकथाहरु लेखियो, त्यो बेला सन्तुष्टि प्राप्त भएको अनुभव भएको थियो । बिस्तारै ज्ञान, अनुभव बढ्दै जाँदा आफैँले लेखेका कुराहरुबाट आफैँ सन्तुष्ट हुन नसकिँदो रहेछ । त्यो कारणले पनि मेरो प्रकाशन कम भएको हो । जीवनमा व्यस्तता सधैँ भइरहन्छ, व्यस्त भएकै कारण नछापिएको हो ।
२. नेपाली साहित्यमा पछिल्लो समयमा आख्यान साहित्यतर्फ स्रष्टाहरुको ध्यान बढी गएको पाइन्छ । कतै कथा साहित्यले पाठकको मन छुन नसकेर हो कि ? तपाईंलाई कस्तो लाग्छ ?
— नेपाली साहित्यमा पछिल्लो समयमा उपन्यास साहित्यमा ध्यान गएको भन्ने पाइन्छ । साहित्यका सबै विधाहरु उत्तिकै मह¤वका हुन्छन् । कतिपयलाई कविताले दिने आनन्द कथाले दिँदैन । कतिपयलाई कथाले दिने आनन्द उपन्यासले दिँदैन । सिंगो उपन्यास एउटा सानो कथामा पनि लेख्न सकिन्छ । नेपाली साहित्यमा पनि थुप्रा उदाहरणहरु छन् । पोषण पाण्डेले उपन्यासै नलेखीकन पनि उहाँका कथाहरु कुनै उपन्यासभन्दा कम छैनन् । अहिले नेपाली साहित्यमा पछिल्लो समयमा बिक्रीवितरण र प्रचारप्रसार दुवैले गर्दा उपन्यास बढी बिक्री भएको देखिन्छ । उपन्यासका पाठकहरु युवावर्ग भएको र युवावर्गको मन आकर्षित गर्ने विषयवस्तु भएका उपन्यासहरु बजारमा आएका देखिन्छन् । यसको मतलब यो होइन कि नेपाली साहित्यमा कथा, कविता वा नाटक कमजोर भएको हो । उपन्यास पनि लेखिएको छ । उपन्यास लेखिने क्रम अहिले बढिरहेको छ । नयाँ नयाँ उपन्यासकारहरु आउनुभएको छ । थुप्रो उपन्यासहरु लेखिएका छन्, तर साँच्चै भन्नुपर्दा विगत एक दशक अथवा पाँच वर्षमा कतिवटा राम्रा उपन्यास छापियो भनेर गन्ने हो भने हातका औँलाहरु पनि भरिँदैन भन्ने लाग्छ ।
३. तपाईंका अप्रकाशित कृतिहरु सम्बन्धमा जानकारी दिनुहोला । नयाँ कुनै कृति लेख्दै हुनुहुन्छ कि ?
— नेपाली साहित्य र साहित्यसँग सम्बन्धित ६ वटा कृतिहरु प्रकाशित भएका छन् । मेरा फुटकर रचनाहरु २०४३ सालबाट छापिँदै आएका हुन् । कविता, कथा, यात्रासाहित्य, लघुकथा, समालोचना, निबन्ध विविध विधामा मेरा रचना छापिएका छन् । यसमध्ये पहिलो कृति ‘इतिवृत्त’ कथासंग्रह २०५१ सालमा प्रकाशन भयो । चितवन वाङ्मय प्रतिष्ठानबाट प्रकाशित यो कृति त्यस वर्षको नारायणी वाङ्मय पुरस्कार प्राप्त गर्न सफल भयो र चितवन जिल्लाकै साहित्यिक इतिहासमा नारायणी वाङ्मय पुरस्कार प्राप्त गर्ने पहिलो कृति त्यही थियो । त्यसपछि २०६२ सालमा लघुकथासङ्ग्रह ‘कालो उज्यालो’ प्रकाशन भयो, जसमा ५१ वटा लघुकथाहरु छन् । त्यो लघुकथालाई पनि धेरै पाठकहरुले अत्यन्तै माया गर्नुभयो, रूचाउनुभयो । त्यसपछि २०६६ सालमा ‘अनुभ्रभ प्रतिभ्रम’ शीर्षकमा कथासंग्रह प्रकाशित भएको छ । यो कथासंग्रहमा खासगरी विश्रृंखलित मानिस वा चेतनाहरु, समसामयिक जटिलताहरु र मानिसले भोगेका अत्यन्तै अप्ठ्यारा परिस्थितिहरुलाई एउटा सचेत दार्शनिक आँखाले हेर्दा कस्तो देखिन्छ भन्ने किसिमका कथाहरु छन् । र, एउटा शब्दमा भन्नुपर्दा उत्तरआधुनिकताका विषवस्तुहरुलाई समेटिएर लेखिएका कथाहरु छन् । यी कथाहरु झट्ट पढ्दा नबुझिनेजस्ता पनि लाग्छन् । बिस्तारै कथामा पस्दै गएपछि कथाले दिने आनन्द प्राप्त हुने समालोचकहरुको पनि धारणा रहेको छ । यसबाहेक मैले भौतिकशास्त्रको विद्यार्थी भएको नाताले भौतिकशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने वैज्ञानिकहरुको बारेमा पनि एउटा कृति लेखेको छु । साथै, ‘साहित्यका नोबेल पुरस्कार विजेता’ शीर्षकको सहलेखन पनि छ । यसबाहेक, एउटा ‘विज्ञान शब्दकोष’ नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित भएको छ, जुन नेपाली भाषामा लेखिएको पहिलो विज्ञानसम्बन्धी शब्दकोष हो । यसबाहेक, आफ्ना विषयका पुस्तकहरु पनि लेखेको छु । फुटकर रुपमा थुप्रै कथा, कविताहरु, यात्रासंस्मरणहरु लेखिएको र प्रकाशन भएका छन् र ती किताबका रुपमा आउन बाँकी नै छ । र, तत्कालको लागि कुनै कृति लेखिएको अवस्था छैन, फुटकर कृतिहरु चाहिँ लेखिरहेको छु ।
४. स्थानीय सञ्चारमाध्यमहरुमा तपाईंका कृतिहरु त्यति पढ्न पाइन्नन्, किन यस्तो भयो होला ?
— स्थानीय सञ्चारमाध्यमहरु भन्नाले दुई प्रकारका हुन्छन्, एउटा साहित्यिक पत्रपत्रिका र अरु दैनिक अथवा साप्ताहिक रुपमा छापिने पत्रिकाहरु । यसमध्ये साहित्यिक पत्रपत्रिकाहरुले, सम्पादकज्यूहरुले मागेको बखतमा मैले आफ्ना रचनाहरु दिएकै छु र ती प्रकाशन पनि भएका छन् । तिनका बिक्रीवितरण र पहुँचको नै कमजोरी पनि हुन सक्छ, जसले गर्दा पाठकहरुका माझ नपुगेका हुन् । र, दैनिक अथवा साप्ताहिक पत्रपत्रिकाहरुमा सुरू सुरूका समयमा थुप्रो लेखरचनाहरु, कविताहरु छापिन्थे तर अहिले तिनमा आफ्ना रचनाहरु खासै प्रकाशित गरेको अवस्था छैन ।
५. तपाईं विज्ञानको प्राध्यापक । कुमै उमेरमा विद्यावारिधि गर्नुभयो र प्राध्यापक पनि बन्नुभयो । आफूले हासिल गरेको यो उपलब्धिलाई आफैँले कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
— यस सन्दर्भमा म आफूलाई भाग्यमानी पनि भन्ने ठान्छु र मलाई यो अवस्थामा लिएर आउनका निम्ति विशिष्ट योगदान गर्ने सम्पूर्णलाई यस क्षणमा सम्झन पनि चाहन्छु । विज्ञानमा पनि भौतिकशास्त्र सबैभन्दा कठिन र सबैभन्दा गुह्यरसले भरिएको विषय हो । त्यो विषयको अध्ययन साँच्चै कठिन नै हो । मैले विद्यावारिधि गरेको विषय नेपालमा गएका भूकम्पहरुका बारेमा गरिएको विस्तृत अध्ययन हो । त्यो अध्ययनले नेपाल भूकम्पीय रुपले उच्च जोखिम भएको हो भन्ने जनाउँछ र भूकम्पका निम्ति यहाँको जुन भूबनावट छ, त्यो भूबनावट अत्यन्तै कमजोर छ । भूकम्प बढी आइरहने कारण पनि त्यो विद्यावारिधिमा खोज गरिएको छ । यसको साथै मैले गरेका शोधका थुप्रो अनुसन्धानात्मक लेखरचनाहरु विदेशबाट प्रकाशित भएका छन् । त्यसैको मूल्याङ्कन नै भन्नुपर्छ, र म निरन्तर दुई दशकभन्दा बढीदेखि अध्यापन पेसामा संलग्न छु । विश्वविद्यालयमा हाल छ वर्ष भयो, अध्यापकका रुपमा कार्यरत छु । र, यो उपलब्धिलाई मैले के ठानेको छु भने, आफूले प्राप्त गरेको ज्ञान आफूभन्दा पछिल्लो पुस्तालाई सार्न र हस्तान्तरण गर्न सकियो भने यो ज्ञानको साँच्चै सही सदुपयोग हुन्छ र म अहिले त्यही कार्यमा लागेको छु । धेरै विद्यार्थीहरुले अध्ययन, अनुसन्धान मसँग गरिरहनुभएको छ । उहाँहरुलाई मैले पाएको ज्ञान हस्तान्तरण गर्ने क्रममै रहेको छु र यसैमा आफूलाई सन्तुष्ट ठानेको छु ।
६. विज्ञान र साहित्यबीचमा अन्तरसम्बन्ध छ कि छैन ?
अवश्य पनि छ । हामीले नेपाली साहित्यमै हे¥यौँ भने पनि लक्ष्मीप्रसाद देवकोटा अथवा बालकृष्ण सम अथवा विजय मल्ल जो महान स्रष्टाहरु हुनुहुन्थ्यो, उहाँहरु सबै विज्ञानका विद्यार्थी । सबैले त्यो बेला आईएस्सी पास गर्नुभएको थियो । विज्ञानले पनि मानवजीवनकै विकासका निम्ति काम गर्ने हो । विज्ञानका आविष्कारले हामीलाई एक्काइसौँ शताब्दीमा पु¥याएको छ र साहित्यले मान्छेको मस्तिष्कभित्र खेलिरहेका कुराहरुको व्याख्या गर्ने हो । दुईवटा क्षेत्रबीचमा पनि अन्तरसम्बन्ध छ । विज्ञानलाई साहित्यमा ल्याउनुपर्छ भन्ने मेरो मान्यता हो । मैले केही विज्ञानका कथाहरु पनि लेखेको छु । ती कथाहरुमा पनि विज्ञानलाई साहित्यमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने पनि देख्न सकिन्छ । र यसबाहेक हाम्रो जीवन जुन छ, साहित्यको पनि र विज्ञानको पनि, उत्तिकै मह¤वपूर्ण छ । विज्ञानकै आविष्कारले आज हामी यो अवस्थामा आइपुगेका हौँ भन्ने मलाई लाग्दछ ।
७. चितवनको साहित्यिक गतिविधिलाई तपाईंले कसरी नियालिरहनु भएको छ ?
— चितवनको साहित्यिक गतिविधिहरु अहिले निकै तीव्र भएको छ । तीन दशकअगाडिको समय पनि सम्झन चाहन्छु, जुन समय महिनामा एउटा साहित्यिक कार्यक्रमहरु हुँदा पनि हामी निकै खुसी हुन्थ्यौँ । त्यहाँ धेरै मानिसहरुको सहभागिता हुन्थ्यो । अहिले यी कार्यक्रमहरुको संख्या बिस्तारै बढ्दै गएको छ । आजकल प्रत्येक शनिबार कार्यक्रम भइरहेको छ । त्यतिमात्र नभएर एउटै शनिबार बिहान कार्यक्रम, दिउँसो कार्यक्रम, साँझ कार्यक्रम र त्योबाहेक हप्तामा कुनै दिन बिदा प¥यो भने पनि कार्यक्रम भएको देखिन्छ । साहित्यिक गतिविधि र जागरूकता अत्यन्तै वृद्धि भएको छ र योसँगै हामीले के पनि सोच्नुपर्छ भने यसले साँच्चै कत्तिको गुणस्तरीय कार्यक्रमहरु गर्न सकियो, त्यो मह¤वपूर्ण छ । होइन भने, अहिलेको समयमा लामो कार्यक्रमभन्दा छोटो समयमा अत्यन्तै गहन कार्यक्रम गर्न सकियो भने मलाई लाग्छ कार्यक्रम आकर्षण हुन्छ । म आफूचाहिँ त्यति धेरै कार्यक्रमहरुमा सहभागी हुन्नँ, किनकि त्यति धेरै समय मसँग पनि हुँदैन । म अत्यन्तै कम कार्यक्रमहरुमा सहभागी हुन्छु र ती सहभागी कार्यक्रमहरुबाट म आफूलाई अत्यन्तै सन्तुष्ट पाएको अनुभव गरेको छु ।
८. साहित्यमा राजधानीवाद हावी भएर मोफसलका प्रतिभाहरु ओझेलमा परेका हुन् ? तपाइंलाईं कस्तो लाग्छ ?
— दुई–तीन दशकअगाडि भएको भए यो प्रश्नले खोजेको कुरा सही पनि थियो, तर अहिले मलाई लाग्दछ– यो विश्व नै एउटा सानो गाउँजस्तो भएको छ । सञ्चारले हामीलाई एकै ठाउँमा पु¥याइसकेको छ । हामीले कम्प्युटरमा आफ्नो मनमा उब्जेको एउटा वाक्य लेख्नेबित्तिकै विश्वका हरेक मानिसहरु भएको ठाउँमा पहुँच हुन्छ । त्यसैले, काठमाडौँ अथवा राजधानीमा भएर मात्र कोही व्यक्ति साहित्यिक रुपमा अगाडि बढेको र राजधानीबाहिर भएर ओझेलमा परेका वा पछि परेको हो भन्ने मलाई लाग्दैन । प्रतिभा भएका वा प्रतिभावान् व्यक्तिहरु राजधानीबाहिर बसेर पनि विगतमा पनि राम्रो लेखिरहेका थिए र अहिले पनि लेखिरहेका छन् । अहिले मलाई के लाग्छ भने इन्टरनेटजस्ता साधनहरु आएका छन् सञ्चारका । आफूले देखेको राम्रो साहित्य, राम्रो कृति ठूलो संख्यामा पाठकसमक्ष पु¥याउन सकिन्छ, त्यसकारण कुनै खर्च पनि लाग्दैन । यस्तो अवस्थामा पनि कोही साहित्यकार राजधानीबाहिर भएर ओझेलमा प¥यो भन्नु त्यति उचित हुँदैन भन्ने मलाई लाग्दछ ।
९. नेपाली कथा साहित्य आधुनिकता र प्रगतितर्फ उन्मुख छ कि छैन ? कुनै उदाहरण छन् भने बताउनुहोला ।
— मलाई के लाग्छ भने मानवजीवन पनि सधैँ प्रगतितर्फ उन्मुख रहन्छ । त्यस्तै गरेर साहित्य पनि प्रगतितर्फ सधैँ उन्मुख छ । हामीले सात दशक अगाडि हे¥यौँ भने विसं २००० सालमा त्यसवरिपरि नेपाली कथा विकासको चरणमा थियो । १९९२ सालबाट विकासको चरणले बिस्तारै गति लिँदै थियो । त्यो बेला लेखिएका कथा र अहिले लेखिएका कथाहरु हे¥यौँ भने धेरै कुरा फरक छन् । त्यतिखेरका कथाहरु अधिकांश सामाजिक वा मनोवैज्ञानिक कथाहरु हुन्थे । अहिले अत्यन्त मानवजीवनमा भएका नयाँ आविष्कारहरु, विज्ञानले गरेका आविष्कारहरु, त्यसले पु¥याएका फाइदा अथवा बेफाइदाहरु यी सबै कुराहरु कथाहरुमा आएका छन् । कुनै समयमा मलाई के लाग्थ्यो भने, कुनै नारी, कुनै विवाहित महिला माइत जान पनि टाढा हुन्थ्यो । आफ्नो माइतीसँग सम्पर्क गन पनि चिठी लेख्नुपर्ने जमाना थियो । अहिले ती सबै कुराहरु हराएर गएका छन् । अब हातमा मोबाइल छ, सञ्चारको साधन छ, मानिसहरु सम्पर्कमा छन्, ती सबै चीजको समिश्रण अहिले साहित्यमा आएको छ । विभिन्न व्यक्तिले विभिन्न किसिमका प्रयोगहरु गरेका छन् । यसले गर्दा नेपाली साहित्य अगाडि त बढिरहेको छ, हामीले हेर्नुपर्ने के छ भने विश्वसाहित्यको दृष्टिकोणमा नेपाली साहित्य कहाँ छ ? मलाई के लाग्छ भने, नेपाली साहित्य विश्वसाहित्यको दृष्टिकोणमा केही पछाडि त छ, तर त्यति धेरै पछाडि छ भन्ने मलाई लाग्दैन ।
१०. कवितामा एउटै कृति लेखेर भूपी शेरचन चर्चाको शिखरमा पुगेका थिए, तर अहिले गुणस्तरयुक्त कविको अभाव भएजस्तो लाग्छ । यो विषयमा तपाईंको अनुभव कस्तो छ ?
— अवश्य पनि यो प्रश्नले मलाई धेरै सोच्न बाध्य बनाएको हो, किनभने तीन दशक, चार दशक, पाँच दशकपहिले लेखिएका कृतिहरु, कविताहरु, कथाहरु, उपन्यास नै किन नहून् नेपाली साहित्यमा लेखिएका, हामीले अहिले पनि बिर्सन सक्दैनौँ । जब ती पढियो त्यसको प्रभाव अहिलेसम्म रहेको छ, तर अहिले यति ठूलो संख्यामा कृतिहरु लेखिएका छन् र यति धेरै संख्यामा लेखरचनाहरु प्रकाशित भएका छन् कि ती लेखरचना वा कृतिहरुमध्ये एक प्रतिशत पनि सम्झन योग्य छैनन्, योचाहिँ दुःखको कुरा हो । अहिले संख्यात्मक रुपमा वृद्धि भएको अवश्य पनि छ, तर गुणात्मक रुपमा वृद्धि भएको मलाई त्यस्तो लाग्दैन । पहिलेका लेखकका कृतिहरु, कविताका पंक्तिहरु पनि याद हुन्थ्यो मान्छेहरुलाई । मान्छेको नाम छोपेर कविता पढ्दा पनि यो फलानोको कविता हो भन्ने अवस्था थियो, तर अहिले त्यस्तो अवस्था छैन । अहिलेचाहिँ संख्यामा वृद्धि भएको तर गुणस्तरचाहिँ अभाव भएको मैले पनि अनुभव गरेको छु । यो नेपाली साहित्यमा एउटा खड्किँदो प्रश्न छ, किनभने प्रकाशन गर्नका निम्ति ठूलो रकम, समय, लगानी भएको छ, तर त्यसबाट पाउनुपर्ने प्रतिफलचाहिँ धेरै कम देखिएको छ ।
११. नेपाली साहित्यका कृतिहरु अंग्रेजीमा अनुवाद हुन नसकेको कारण अन्तर्राष्ट्रिय जगत्मा प्रवेश पाएको छैन । नेपाल प्रज्ञाप्रतिष्ठानले यस विषयमा केही गर्नुपर्ने होइन र ?
— अवश्य पनि अंग्रेजी भाषा बोल्नेहरुको संख्या विश्वमा ठूलो छ । विकसित राष्ट्रहरुले अंग्रेजी भाषाको प्रयोग गरेका छन् । यसबाहेक पनि धेरै भाषाहरु छन्, जुन भाषामा लेखिएका साहित्यहरु पर्छ । अंग्रेजी भाषामा प्रकाशित भएर ती लेखकहरु अन्तर्राष्ट्रियस्तरमा चर्चामा आएका छन् । यस अर्थमा नेपाली साहित्यका एक सय किताब पनि अहिलेसम्म अंग्रेजी भाषामा अनुवाद भएको मलाई लाग्दैन । केही कथासंग्रहहरु, कवितासंग्रहहरु, संयुक्त कथासंग्रहहरु, संयुक्त कवितासंग्रहहरु केही उपन्यासहरु अनुवाद भएर प्रकाशित भएका पनि छन् । ती प्रकाशित भएर कहाँ पुगे, ती सही पाठक भएका ठाउँमा पुगे कि पुगेनन् ? भन्ने अर्को प्रश्न पनि रहेको छ । यसलाई एउटा व्यक्तिले भन्दा पनि वास्तवमा राज्यले नै गर्नुपर्ने काम हो यो । त्यसैले, राज्यको त्यससम्बन्धी निकाय भनेकै नेपाल प्रज्ञाप्रतिष्ठान नै हो । यस निकायले कविताका केही अंकहरु अंग्रेजीमा छापेको छ । देवकोटाका केही कविताहरु अंग्रेजीमा छापेको छ । बालकृष्ण समका कृतिहरु, कविताहरु अंग्रेजीमा छ । र, यो क्रमलाई तीव्रता दिइयो भनेमात्रै ठूलो पाठक भएको ठाउँमा पुगिन्छ । यसबाहेक मलाई के लाग्छ भने, यो अंग्रेजी भाषाबाहेक अरु भाषामा पनि छ । जस्तो, नेपाली साहित्यबाट हिन्दीमा अथवा उर्दूमा अथवा जापनिजमा अथवा जर्मनी भाषामा, रसियन भाषामा अनुवाद गरेर ठूलो पाठकहरु भएको ठाउँमा हामीले पु¥याउन सकिन्छ । त्यो काम अत्यन्तै कम भएको छ । योचाहिँ नेपाली साहित्यमा हुनुपर्ने एउटा अत्यन्तै मह¤वपूर्ण काम हो ।
१२. तपाईं भूकम्पविद् पनि हुनुहुन्छ । नेपालको माटो भूकम्पीय दृष्टिले कति जोखिमपूर्ण छ ?
— भूकम्पको कुरा गर्दाखेरि नेपाल किन भूकम्पीय जोखिम उच्च भएको ठाउँमा छ ? भन्ने कुरा बुझ्न जरूरी छ । नेपाल यस्तो ठाउँमा, यस्तो बोर्डरमा उभिएको छ जहाँ एकातर्फ तिब्बतको ठूलो प्लेट, ठूलो भूभाग रहेको छ भने अर्कोतर्फ दक्षिणतर्फ भारतीय भूभाग रहेको छ । यो दुईवटा प्लेट जमिनको बीच २०÷३० किमी तल निरन्तर चलायमान अवस्थामा छन् र भारतीय भूभाग प्लेट निरन्तर उत्तरतर्फ गतिमान छ । प्रत्येक वर्ष ५ सेमी दरले गतिमान छ भने तिब्बततर्फको प्लेट भने आफ्नो ठाउँमा स्थिर रहेको छ । यी दुईवटा प्लेटहरु ठोकिँदाखेरि नेपाल रहेको भूभागमा जमिनको मुनि धेरै ठाउँहरुमा धाँजाहरु फाटेका छन्, जसलाई हामीले भूगर्भको भाषामा फल्ट भन्छौँ । ती कमजोर भूभागहरु हुन्, जहाँ जमिनमुनि आएको शक्तिचाहिँ बाहिर आउँछ । दुईवटा प्लेटको निरन्तर टकरावको कारणले ठूलो मात्रामा ऊर्जा र शक्ति उत्पन्न भएको छ, जुन जमिनमुनि सञ्चित भएर बसेको छ र ती सञ्चित शक्ति नै जमिनमुनिबाट बाहिर आउँदा नै भूकम्प आउने हो । भूकम्पको दृष्टिले नेपालका सम्पूर्ण भूभागहरु अत्यन्त जोखिमपूर्ण रहेका छन् । विसं १९९० सालमा आएको महाभूकम्पले ठूलो क्षति गरायो । त्यसपछि २०४५ सालमा आएको भूकम्पले पूर्वी नेपालमा क्षति गरायो भने, दुई वर्षअगाडि २०७२ साल वैशाखमा आएको भूकम्पले नेपालको करिब करिब ९ हजार व्यक्तिको ज्यान गयो र ठूलो संख्यामा भवनहरु विनाश भए, जुन पुनःनिर्माण वा निर्माण गर्नका निमित्त पनि दशकौँ समय लाग्छ भने अहिलेसम्मको निर्माणको क्रम हेर्दाखेरि भन्न सकिन्छ । यसमा गर्न सक्ने हामीले एउटा कुरा मात्र छ, भूकम्पीय जोखिमलाई केही मात्रामा घटाउन सक्छौँ । त्यो घटाउने भनेको भूकम्पीय जोखिम अलिकति कम भएको ठाउँमा बसोबासयुक्त बस्ती विस्तार गर्नु र अब बन्ने घर र भवनहरु भूकम्पीय दृष्टिकोणले अलि बलियो र भूकम्प आउँदाखेरि नढल्ने प्रकारको बनाउनु नै हो । त्यसैले, त्यही कुरालाई अवलम्बन गरियो भने भूकम्पबाट हुने धनजनको क्षति घटाउन सकिन्छ । विकसित देशमा त्यत्रो भूकम्प जाँदा जम्मा २÷४ जना मानिसहरु मर्ने तर यहाँ हजारौँ मान्छेहरु मर्ने भनेको वास्तवमा भवन नै कमजोर भएको अवस्था हो र त्यसबाहेक पहाडी मुलुक भएको हुनाले यहाँ भूकम्पसँगसँगै पहिरो जाने, हिउँ स्खलन दुवै कारणले पनि ठूलो क्षति भएको छ ।
१३. भूकम्पीय जोखिम कम भएको ठाउँ हामीले कसरी पहिचान गर्न सकिन्छ ?
— भूकम्पीय जोखिम कम भएको ठाउँ भन्नाले हामीले त्यसलाई माइक्रो जोनिङ भन्छौँ । माइक्रो जोनिङ गरियो भने मलाई लाग्छ, पहाडी ठाउँहरु, भिरालो ठाउँहरुभन्दा सम्म ठाउँमा चाहिँ भूकम्पीय जोखिम अलि कम देखिन्छ । त्यसबाहेक, जमिनमुनिको फल्टको अवस्थामा जहाँ सक्रिय फल्ट छ, नेपालमा कति ठाउँहरुमा सक्रिय फल्टहरु छन् भन्ने कुरा पत्ता लगाइसकिएको छ । एक्टिभ फल्टहरु भएको ठाउँमा बस्ती बसाल्नु भनेको भूकम्पीय अत्यन्तै जोखिम भएको ठाउँमा बस्ती बसाल्नु हो । यस्तो ठाउँलाई छलेर अरु ठाउँमा जहाँ एक्टिभ फल्टहरु छैनन्, जहाँ यसको मात्राहरु कम छ, त्यो ठाउँमा बस्ती बसाल्न सकियो भने राम्रो हुन्छ । पुनःनिर्माणको क्रममा पनि नयाँ बस्ती बसाल्नका लागि ती ठाउँहरु उपयुक्त हुन्छ ।
१४. युवापुस्ताका कथाकारलाई तपाईंको के सुझाव रहन सक्छ ?
— म तीन दशकदेखि कथा लेखन, प्रकाशनमा निरन्तर संलग्न छु । तीनवटा कथासंग्रह पनि प्रकाशन भएको छ । लेखकको सबैभन्दा ठूलो कुरो भनेको अनुभव र ज्ञान नै रहेछ । अनुभव त उमेरसँगसँगै बिस्तारै बढ्दै जाने हो । ज्ञानको महासागर यति ठूलो छ, त्यो जति प्राप्त गरे पनि कम नै हुन्छ । राम्रा कथाकारहरुका कृतिहरु बढ्नु, आफूले लेखेको कृति, कुनै कृति लेखिँदै छ भने त्यसको बारेमा, त्यसको विषयवस्तुको बारेमा गहिराइमा पुगेर सोध तथा अनुसन्धान गर्नु र तथ्यहरुलाई लिएर लेख्नु । योबाहेक विदेशी साहित्यमा पनि लेखेका पुस्तकहरु पढ्नु र एउटा विषय मात्र नभई विविध विषयका पुस्तकहरु पढ्यौँ भने सबैले दिने समग्र ज्ञानबाट लेखिने साहित्य उत्कृष्ट हुन्छ र त्यही कुरा आजको युवापुस्ताले गर्नुपर्ने छ । अर्को कुरा धैर्यता सबैभन्दा ठूलो कुरा हो । लेख्नेबित्तिकै प्रकाशन गर्नुमा त्यति परिपक्व नभइसकेको अवस्था हुन्छ । एकपटक प्रकाशन भइसकेको कुरालाई पुनः परिमार्जन गरेर प्रकाशन गर्ने भन्ने कुरा मेरो अनुभवमा धेरै कम हुन्छ । त्यसैले, हामीले लेखिएको कुरालाई कथा, कविता वा उपन्यास होस्, त्यो कृतिले पूर्णता प्राप्त गरेको छ भन्ने अनुभव गरेपछि र प्रकाशन गर्नुभन्दा अगाडि सम्बन्धित व्यक्तिहरुलाई दिएर अझ उनीहरुका धारणाहरु पनि बुझेर समालोचक र प्रकाशकहरुका विभिन्न धारणाहरु बुझेर अझ त्यसलाई परिष्कृत गर्न सकियो भने भविष्यमा आउने कृति राम्रो हुन्छ ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment