गृह » ‘म विकासप्रेमी उम्मेदवार हुँ’
अन्तर्वार्ता

‘म विकासप्रेमी उम्मेदवार हुँ’

खैरहनी नगरपालिका वडा नं १ चैनपुर ज्यामिरेका ६४ वर्षीय एकराज डल्लाकोटी नेकपा माओवादी केन्द्रका तर्फबाट खैरहनी नगरपालिकाको मेयर पदका उम्मेदवार हुन् । उनको राजनीतिक जीवन विसं २०३२ मा चौथो महाधिवेशन पार्टीको भातृ संगठन अखिल नेपाल किसान संघ २००७ को इलाका अध्यक्षबाट सुरु भएको
थियो । विसं २०४२ मा कम्युनिष्ट पार्टीको सदस्यता लिई विसं २०४८ सालमा माडीमा भएको पार्टीको एकता महाधिवेशन प्रतिनिधि, २०५१ को पार्टी एकताको महाधिवेशन प्रतिनिधि, हेटौँडा महाधिवेशन प्रतिनिधि, विराटनगर महाधिवेशन प्रतिनिधि हँुदै हाल माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधि रही हालसम्म निरन्तर कम्युनिष्ट पार्टीका अत्यन्त सक्रिय सदस्यको रुपमा कार्य गर्दैै आइरहेका उनी सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । बहुदलपछिको पहिलो स्थानीय चुनाव २०४८ मा जनमोर्चा नेपालबाट साविक चैनपुर २ वडाध्यक्ष विजयी भएका डल्लाकोटी विभिन्न सामाजिक संघसंस्थामा सक्रिय भई कार्य गर्दै आइरहेका छन् । ०५८ सालमा १८ महिना जेल जीवन बिताएका उनीसँग चितवन पोष्ट दैनिकले गरेको कुराकानी –
१. निर्वाचनको प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो कार्यक्रम कसरी अगाडि बढाइरहनु भएको छ ?
–नेकपा माओवादी केन्द्रले ७ वटा वडामा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको छ । हामीले हाम्रो समृद्धि र विकासका नारासहित जनताका बीचमा गएका छौँ ।
२. घरदैलोको क्रममा जनताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
–सर्वहारा वर्ग सबै प्रकारका वर्गीय उत्पीडनको विरुद्ध लड्ने पार्टी सामन्ती समाजको उदयसँगै दलित समुदाय अस्तित्वमा आएकाले सामन्तविरुद्ध संघर्षका क्रममा भएका सीमित राजनीतिक परिवर्तनपछि निश्चय नै दलितहरुले केही अधिकार पाएका छन् । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको फ्युजनबाट हासिल संविधानसभामा दलितहरुको उल्लेखनीय प्रतिनिधित्व भएको छ । त्यतिमात्रै नभएर स्थानीय तहसम्म आइपुग्दा उत्पीडित जातिको अधिकार स्थापित गर्न सफल भएको छ हाम्रो पार्टी । आज सिंहदरवारको अधिकार जनताको घरघर पु¥याइएको छ । केन्द्रीकृत एकात्मक राज्यसत्ताबाट जनताको अधिकारसहितको स्वायत्त राज्य बनाउने ऐतिहासिक तथा विकासको प्रतिनिधि पार्टीको रुपमा रहेको माओवादी केन्द्रका टिमलाई विजय गराउन आफूहरु आतुर रहेको प्रतिक्रिया दिएका छन् । के कांग्रेस के एमाले, के राप्रपा सबैले माओवादी केन्द्रका उम्मेदवार एकराज डल्लाकोटीको टिमलाई विजय गराएरमात्र खैरहनी नगरपालिकाको विकास सम्भव रहने प्रतिक्रिया पाएको छु ।
३. घरदैलोमा जाँदा तपाईंको लोकप्रियता कस्तो पाउनु भएको छ?
मलाई लाग्छ मचाहिँ माओवादी केन्द्रको नेताको रुपमा सबैले चिने पनि मलाई विकास निर्माणले गर्दा खेरी यो माओवादीमात्र नभई विकासप्रेमी पनि हो भनेर चिन्छन् ।
४. ए… भनेपछि तपाईं विकासप्रेमी ?
–हजुर म विकासप्रेमी । माओवादी केन्द्रका उम्मेदवार म एकराज डल्लाकोटी निरन्तर जनताको समस्या समाधानका लागि जनताको झोला बोकेर जनताको बीचमा रहँदै आएको छु । मैले उत्तराखण्डको सर्वदलीय समितिको अध्यक्ष भई पिच निर्माण, यस्तै कयर खोला तटबन्ध समितिको अध्यक्ष, लदरी तटबन्ध समितिको अध्यक्ष, निर्माणाधीन रहेको चौधवटा पिचको अध्यक्ष , नवप्रभात तथा जल उपभोक्ता समितिको अध्यक्ष बनी हाम्रो पार्टीको पहलमा राष्ट्रिय योजना आयोगबाट प्राप्त भएको रकम सक्रियतापूर्वक बाटो निर्माण तथा सिंचाईका लागि डिप ट्युबेल निर्माण कार्यमा लागिरहेको छु । त्यतिमात्रै होइन, मैले कंकाली माविको व्यवस्थापन समिति तथा निर्माण समितिमा रही विद्यालय निर्माण गरेको छु । चैनपुर स्वास्थ्य चौकीलगायत थुप्रै सामाजिक विकासको काममा लागिपरेको हुनाले सायद मलाई जनताले विकासप्रेमी उपनाम दिएका होलान् ।
५. तपाईं अनि तपाईंको पार्टीलाई जनताले किन भोट हाल्ने ?
–खैरहनी नगरपालिकामा हाम्रो पार्टीको पहलमा राष्ट्रिय योजना आयोगबाट विनियोजित विकास निर्माणका बजेटलाई अक्षरशः जनताको बीचमा लैजान, अझ प्रष्टभन्दा नवोदय विद्यालयमार्गबाट गोरख काठमिलसम्म पिच निर्माणका लागि विनियोजित ५५ लाख हाल रोकिएको छ , चुनावपछि तत्काल सुरु गर्न सुन्दर खानेपानी निस्कने बाटो विनियोजित ५५ लाख यस्तै हाम्रो पार्टीको पहल कदमीमा सुन्दर खानेपानी हुदै रावल टोल निस्कने १ करोड १० लाखको पिच, जनकपुरबाट घोघ्रेलासम्म ५५ लाखको पिच, वासु स्मृति
व्रिगेडबाट सिद्धिपुर निस्कने बाटोका लागि १ करोड १० लाख, साथै ५ वर्षभित्र हाम्रै पार्टीको नेतृत्वमा खैरहनी नगरपालिका सबैतिर वृक्षरोपणसहितको पिच निर्माण गर्न हाम्रै पार्टीको पहलमा खैरहनी नगरपालिकामा रिङ रोडका लागि बजेट परिसकेको छ । त्यसलाई पूरा गर्न, सुन्दर र समृद्ध खैरहनी बनाउन सक्षम पार्टी माओवादी केन्द्र भएकाले भोट हालेर जिताउनुपर्छ ।
६. मान्नुस्, जनताले तपाईंलाई मेयरमा निर्वाचित गरिदिए । तपाईंले खैरहनी नगरपालिकालाई कस्तो बनाउने सपना देख्नु भएको छ ?
यदि म मेयर पदमा निर्वाचित भएँ भने विगतदेखि टड्कारो रुपमा रहेको सुकुमबासी समस्यालाई हल गर्न प्रत्येक वडामा भूमिहीनलाई भूमि प्रदान गरी टहरो निर्माण गरिदिने छु । बेरोजगारी युवाहरुलाई रोजगारी व्यवस्था गराउने, वडावडामा १००/१०० शैयाको अस्पताल निर्माण गर्ने, सुत्केरी महिलालाई सुत्केरी भत्ता, वृद्धहरुलाई रु ५००० वृद्धाभत्ता व्यवस्था गर्नेलगायत पर्यटन विकासलाई जोड दिने साथै निकुञ्जबाट कंकालीपार्कसम्म केवलकार निर्माण गर्ने,
प्रविधियुक्त नगरपालिका बनाउने, अधिकारसम्पन्न नेपालकै सुन्दर र समृद्ध नगरपालिका बनाउने प्रयास गर्नेछु ।
नगरपालिकाभित्र औद्योगिक क्षेत्र घोषणा गरी लगानीलाई आकर्षित गर्ने, नगरको कम्तीमा पाँच स्थानमा व्यवस्थित कृषि बजार निर्माण गरी तरकारी तथा अन्य वालीको उचित दररेटमा खरिदको व्यवस्था मिलाउने, नगरपालिकामा एउटा बहुप्राविधिक शिक्षालय संचालन गर्न पहल गर्ने, पर्सा बजारको चोकमा आकाशे पुल निर्माण गर्ने, नगरस्तरीय बसपार्क निर्माण गर्ने, पशु प्रजनन्लाई निःशुल्क गर्ने, कुमरोज, कठारलगायत जनजातिको बाहुल्य बस्तीमा १०० वटा होमस्टे संचालन गर्ने, दक्षिण बेल्टका जनताहरु यतिखेर जंगली जनावरको आंतकबाट पीडित छन् त्यसलाई ध्यानमा राखी राप्ती नगरपालिकाबाट रत्ननगरको सीमासम्म क्रंक्रिट पर्खाल निर्माण गर्ने, नगरभित्र निःशुल्क वाईफाई सेवा दिने, थारु संग्रहालय निर्माण गर्ने, प्रत्येक वर्डामा प्रहरी चौकी निर्माण गर्ने, बालश्रममुक्त बलमैत्री नगर घोषणा गर्नेलगायतका काम गर्ने गर्नेछु ।
७. अन्त्यमा जनतालाई…?
विकास निर्माणका कार्यअगाडि बढिरहेका र बाँकी रहेका सबै विकासे कामहरु पूरा गर्न खैरहनीवासीलाई गोलाकारभित्रको हँसिया हथौडा चिन्हमा मतदान गरी माओवादी केन्द्रका उम्मेदवार म एकराज डल्लाकोटीलगायत सबै साथीहरुलाई विजयी गराई समृद्ध र सुन्दर नगर निर्माणमा सहयोग गर्नु हुनेछ भन्ने आशा गरेको छु ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment