गृह » ‘भरतपुर महानगरपालिका वडा नं ३ को मुहार फेरिने छ’ : खोमकान्त रेग्मी
अन्तर्वार्ता

‘भरतपुर महानगरपालिका वडा नं ३ को मुहार फेरिने छ’ : खोमकान्त रेग्मी

— तुलमान गुरूङ
विसं २०३५ सालबाट राजनीतिमा सक्रिय व्यक्ति खोमकान्त रेग्मी यही वैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको वडा नं ३ को वडाअध्यक्ष पदका उम्मेदवार हुन् । २०२० सालमा असार २० गते स्याङ्जाको चिलाउनेखर्क भन्ने गाउँमा बुबा खेमलाल रेग्मी र आमा यमकुमारी रेग्मीको कोखबाट तेस्र्रो सन्तानका रुपमा जन्मिएका उनी ११ वर्षको उमेरमा परिवारसहित चितवनको मेघौली गाविसको बुद्धनगर गाउँमा बसाइँ सरी आएका हुन् । हाल भरतपुर–३, प्रेसमार्गका स्थायी बासिन्दा रेग्मीले नेकपा एमालेबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । विसं २०३५ सालमा विद्यार्थीकालदेखि राजनीति गर्दै आएका उनले २०३७ सालबाट २०४१ सालसम्म शिक्षक संगठन डोल्पा, २०४२÷२०४३ सालमा ट्रेड युनियन महासंघ, २०४३÷२०४४ सालमा नेकपा मालेसँग सम्बन्धित रहेर काम गरेको र २०४५ देखि २०४९ सम्म विद्यार्थी राजनीति÷ट्रेड युनियन महासंघअन्तर्गत प्रेस मजदुर युनियनमा रहेर काम गरेको अनुभव लिइसकेका छन् । अध्यक्षका उम्मेदवार रेग्मी हाल नेकपा एमाले पार्टी जिल्ला कमिटी चितवनका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुखका रुपमा कार्यरत छन् । साथै, विगत २१ वर्षदेखि उनले भरतपुर–३ स्थित प्रेसमार्गमा बहुमुखी छापाखानासमेत सञ्चालन गर्दै आइरहेका छन् । चितवन पोष्ट दैनिकका लागि आज हामीले चितवनको सफल व्यवसायीसमेत रहेका रेग्मीसँग राजनीतिक विषयमा केन्द्रित रहेर छोटो कुराकानी गरेका छौँ । प्रस्तुत छ उनीसँग गरेको कुराकानी ः
१. भरतपुर महानगरपालिका वडा नं ३ को अध्यक्षका लागि तपाईंको उम्मेदवारी नै किन ?
— नगरपालिका हुँदा यो वडा वडा नं ४ मा गणना हुन्थ्यो । त्यतिबेलादेखि नै यस वडामा सधैँ नेपाली कांग्रेसले चुनाव जित्दै आएको वडा हो । तर, नगरपालिकाबाट महानगर भइसक्दासमेत वडाले अहिलेसम्म मुहार फेर्न सकेको छैन, जुन वडावासीलाई जानकारी भएकै कुरा हो । अहिले पनि यो वडा कुनै गाउँपालिकाको वडाजस्तो अव्यवस्थित छ । विकास निर्माणले गति लिन सकेको छैन । नारायणी नदीकिनार, नगर वन, तरकारी बजार, ट्रक पार्क, ट्राफिक व्यवस्थापनलगायतका समस्याको समाधान अझै पनि हुन सकेको छैन । बाटोघाटो हिँड्नै नसक्ने गरी खाल्डाखुल्डी बनेका छन् । टोल विकास संस्थालाई समन्वय गरेर काम गर्न सकेको छैन । बजारी क्षेत्रभित्रै पर्ने वडामा एउटा पनि स्वास्थ्यचौकी छैन । मनोरम दृष्टिकोणको कुनै पनि पार्क तथा बालउद्यान छैन । उद्योग व्यवसायीको पीरमर्का जस्ताको त्यस्तै छ । शिक्षा, स्वास्थ्यजस्ता अत्यावश्यक पूर्वाधारको अवस्था नाजुक छ । विकास निर्माणमा आर्थिक समृद्धि गर्नका लागि भरतपुरमा रहेको आर्मी ब्यारेकको पश्चिमपट्टिको नहरभन्दा तल भएको सार्वजनिक जग्गाभित्रको भाग व्यवस्थित छैन । यस्ता विविध समस्याको समाधान गर्नका लागि यसपटकको स्थानीय तह निर्वाचनमा आफ्नो वडा आफैँ बनाऊँ भन्ने भनाइलाई आत्मसात् गर्दै मैले उम्मेदवारी दिएको हुँ ।
२. तपाईंले नै जित्ने सम्भावना कत्तिको देख्नुभएको छ ?
— यो त भनिरहनै पर्दैन, जित सुनिश्चित छ नि । अहिलेसम्म यहाँको वडाको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो । पार्टीले मात्र नभई नेतृत्व गर्ने पार्टीका व्यक्तिले समुचित व्यवस्थापन गर्न नसकेको कुरा सर्वविदितै छ, जुन कुरा मैले माथि नै भनिसकेको छु । यस्तो अवस्थामा यहाँका वडावासीहरुले विकास निर्माण गर्न सक्ने, भ्रष्टाचारमुक्त प्रशासन चलाउन सक्ने र क्षमतावान व्यक्तिको आवश्यकता महसुस गरेका छन् । विकास निर्माणको प्रक्रियालाई स्थानीय जनतासम्म पहुँच पु¥याउन, स्थानीय तहको अहिलेको अधिकारलाई व्यवस्थित तरिकाले चलाउन सक्ने प्रशासनिक यन्त्र र सामाजिक संरचनालाई बदल्न सक्ने जागरूक र पार्टीमा प्रत्यक्ष पहुँच भएको व्यक्तिको खाँचो छ । त्यसैले, यी कार्यहरुलाई पूरा गर्न सक्ने र वडाको मुहार फेर्नको लागि दृढ संकल्प र विश्वासका साथ मलाई मतदान गरेर वडाबासीले जिताउने कुरामा म विश्वस्त छु ।
३. वडा विकासका लागि तपाईंको भावी योजना तथा अवधारणाहरु के–के छन् ?
— गर्नुपर्ने कामहरु धेरै छन् । तीमध्ये पनि सबैभन्दा मह¤वपूर्ण कुरा भनेको शिक्षा र स्वास्थ्य नै हो । त्यसैले, यो अधिकार सुनिश्चित गर्नका लागि मेरो भूमिका मह¤वपूर्ण रहने छ, जसका लागि वडाभित्रै स्तरीय स्वास्थ्यचौकीको स्थापना गरिने छ । वडाभित्र रहेका विद्यालयहरुको स्तरोन्नति गरी भौतिक सम्पत्तिको समुचित व्यवस्थापन गर्ने र विद्यालयबाहिर रहेका र पिछडिएका बालबालिकाहरुका लागि निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गर्ने मेरो योजना हो । यस्तै, समाजमा मौलाएको भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न, विद्युत्, खानेपानी, ढल र सरसफाइको व्यवस्थापन गर्न, वडाभित्रका उद्योग व्यवसायीलाई उचित सहयोग र संरक्षण गरी रोजगारीको अवस्था सिर्जना गर्न, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्ग, दलित, आदिवासी, महिला, जनजाति मुस्लिमलगायत पछाडि पारिएका वर्गको उत्थान र समानताको आधारमा न्याय दिलाउने, सरकारी काम चुस्तदुरूस्त रुपमा व्यवस्थित गरी जनमुखी प्रशासन लागू गर्ने, वडामा रहेका सम्पूर्ण टोलविकास संस्थालाई संस्थागत रुपमा विकास गरी परिचालन गर्ने, आमा सुरक्षा कार्यक्रम लागू गर्ने, वधशालाको लागि छुट्टै स्थानको व्यवस्थापन गर्ने, तरकारी बजारलाई समुचित तरिकाले व्यवस्थापन गर्ने, वडामा राजनीतिक बिचारका आधारमा विकास निर्माणको कामलाई पक्षपात नगर्ने र अटोल्यान्डको व्यवस्थापन गर्नेलगायतका काम गर्ने योजना बनाएको छु । यसबाहेक महानगरपालिकामा हाम्रो जित भएमा आगामी ५ वर्षभित्र वृद्ध र असहाय भत्ता वृद्धि गरी पाँच हजार पु¥याइने छ । यीबाहेक समस्याहरु धेरै नै छन् । ती सबै समस्याको उचित समाधान गर्नमा म र मेरो टिम हरदम तत्पर रहने छ ।
४. वडाभित्र भएका सार्वजनिक जग्गाको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
— सर्वप्रथम यस वडाभित्र भएको सार्वजनिक जग्गासम्बन्धी गहन अध्ययन गरेर सार्वजनिक जग्गाको क्षेत्रफल पत्ता लगाउने काम हुनेछ । त्यसपछि महानगरपालिकाअन्तर्गत यस वडाभित्र पर्ने सार्वजनिक जग्गा वडाले नै संरक्षण गर्ने र यस वडाभित्रका जाति, समुदाय, बुद्धिजीवी, पत्रकार, व्यवसायीसँगको परामर्शमा आवश्यकताअनुसार विभिन्न पार्क, खेल मैदान र त्यसलाई उचित संरक्षणसहित संवद्र्धन गरिने छ ।
५. तपाईं त नेपाल पत्रकार महासंघ चितवनको सदस्य पनि हुनुहुन्छ । पत्रकारले राजनीति ग¥यो भनेर भनिरहेका छन्, यसलाई कसरी लिनुभएको छ ?
— म पत्रकारिता क्षेत्रमा अति नै रूचि राख्छु । मैले २०४९ सालमा वीरेन्द्र बहुमुखी क्याम्पसमा ‘प्रेरणा’ नामक साहित्यिक पत्रिका प्रकाशन गरेर पत्रकारिता सुरूवात गरेको हुँ । तत्कालीन अवस्थामा मैले उक्त क्याम्पसबाट १०० पूर्णाङ्कको पत्रकारिता विषयमा स्नातक तह उत्तीर्ण गरेँ । त्यसपछि मैले पत्रकारिता विषयसँग सम्बन्धित रहेर पत्रपत्रिकाहरुमा आफ्ना बिचारहरुलाई लेखरचनामार्फत प्रकाशित गर्दै आएँ । २०५६ सालमा मैले पत्रकार महासंघ चितवनको सदस्यता प्राप्त गरेँ । उक्त दिनदेखि अहिलेसम्म म सदस्यमै रहेको छु । म नेकपा एमालेको सचिवालय सदस्य एवम् जिल्लाको प्रचार विभाग प्रमुखको रुपमा पनि काम गरिरहेको छु । यसर्थ पनि चितवनको पत्रकार जगत् मसँग नजिक छ । मलाई सबै पत्रकार साथीहरुको मह¤वपूर्ण सहयोग र सद्भाव छ, जसको कारण मेरो उम्मेदवारीले एउटा पत्रकारिता क्षेत्रको पनि प्रतिनिधित्व गर्ने हुँदा सबै पत्रकार साथीहरुबाट सहयोगको अपेक्षा गरेको छु ।
६. पत्रकार महासंघको सदस्यता त्याग्नुपर्ने अवस्था आउँदैन ?
— राजनीति गर्ने मान्छेले पत्रकारिता गर्न हुँदैन भने विगत दुई दशकदेखि नै म व्यवसायी हुँ । २०५६ सालमा पत्रकार महासंघको सदस्यता लिँदा किन आवाज उठाइएन ? त्यतिबेलै भन्न सकिन्थ्यो नि त व्यवसायीले पत्रकार महासंघको सदस्यता लिन पाइँदैन भनेर । अहिले आएर म राजनीतिमा देखिएपछि मात्रै कुरा उठाएर हुन्छ र ? त्यसैले मलाई लाग्छ, सबै पत्रकार साथीहरु र पत्रकारिता क्षेत्रमा मेरो सदस्यताले अप्ठेरो पारेको महसुस यहाँहरुलाई भयो भने चितवनको पत्रकारिता जगत्ले गरेको निर्णय नै मेरा लागि मान्य हुनेछ । म एउटा छापाखानासँग सम्बन्धित प्रेस व्यवसायी भएकोले पनि मैले करिब चितवनमा १० वटाभन्दा बढी पत्रिका दर्ता गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा बहुमुखी छापाखानाको नामबाट पत्राचारसमेत गरेको छु । त्यसैले, पत्रिका र पत्रकारलाई समाजमा पर्ने अप्ठ्यारो परिस्थितिसँग म नजिकबाटै परिचित छु, जसको कारणले म पत्रकार महासँघको सदस्य हुन अयोग्य छैन ।
७. अन्त्यमा ?
— अन्त्यमा, चितवन पोष्ट दैनिक पत्रिका जुन मैले छापाखाना सुरू गरेको समयदेखि नै सञ्चालित छ । यो पत्रिकामा पाठकहरुमार्फत म यस भरतपुर महानगरपालिकाको वडा नं ३ को वडाध्यक्षको उम्मेदवार बनिरहेको अवस्थामा मेरा विचारहरु वडावासीसमक्ष लगिदिनुभएकोमा धन्यवाद दिन चाहन्छु । समग्र वडावासीलाई यो निर्वाचनमा मलाई र मेरो टिमलाई अत्यधिक मतले विजयी गराइदिनु हुनेछ भनी आशा गर्दछु । म तपाईंहरुसँग सदैव साथमा रहने छु । यहाँका समस्याहरुलाई सदैव साथमा लिएर अगाडि बढ्ने प्रण गर्दछु । जस्तोसुकै चुनौती आइपरे पनि सामना गर्न तयार छु ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment