गृह » ‘लेख्नका लागि चितवन शान्त छ, तर ग्ल्यामर र प्रोपोगान्डा राजधानीमा छ’
अन्तर्वार्ता साहित्य

‘लेख्नका लागि चितवन शान्त छ, तर ग्ल्यामर र प्रोपोगान्डा राजधानीमा छ’

— अमृता उदासी
udashia732@gmail.com
विसं २००७ मङ्सिर २६ मा स्याङ्जामा जन्मिएका एलबी क्षेत्री हाल भरतपुर महानगरपालिका–५, कैलाशनगर (कविडाँडा) का स्थायी बासिन्दा हुन् । विशेषगरी साहित्यकार, प्राध्यापक र समाजसेवीका रुपमा लामो समयदेखि सक्रिय रहेका एलबीले पछिल्लो समयमा धेरै स्रष्टाहरुको थलो मानिएको कविडाँडाको उत्थानका लागि विभिन्न योजनाहरुमाथि कामसमेत गरिरहेका छन् । साहित्य र शैक्षिक क्षेत्रमात्र होइन, केही समयदेखि समाजसेवामा पनि सक्रियता देखाउने क्षेत्रीको साहित्यिक कृतिका रुपमा पहिलो कथाकृति ‘त्रिशङ्कुको देशमा’ हो भने अघिल्लो वर्ष उनका ‘इन्द्रमायाको देशमा (कथासंग्रह) र भीडमा हराएको मान्छे (कवितासंग्रह) प्रकाशित भएका छन् । फुटकर रुपमा अलग अलग विधाका दर्जनौँ रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित भए पनि उनलाई खासगरी साहित्यमा कथाकारकै रुपमा लिइने गरिन्छ । वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्वप्रमुखसमेत रहेका उनी हाल मोफसलमा अङ्ग्रेजी लेखनलाई अघि बढाउनका लागिसमेत विशेष भूमिका खेलिरहेका छन् । प्रस्तुत छ, ‘चरैवेति’ साहित्यिक त्रैमासिकका प्रधानसम्पादक तथा कविडाँडा साहित्य समाजका अध्यक्षसमेत रहेका एलबी क्षेत्रीसँग गरिएको स्रष्टासँग संवाद :
१. सर्वप्रथम तपाईंबाटै सुरू गरौँ, आफ्नोबारेमा केही भन्नुहोस् न ?
— आफूलाई अंग्रेजीमा धेरैजसो म एलबी लेख्छु । ध्यान दिनुस्, अंग्रेजीको सानो एल र सानो बी, अर्थात् सानो एलबी । आफूलाई ठूलो भनाउन चाहन्नँ । भारतमा एसएलसीपछि चितवनमा आई प्राविमा पढाउन थालेँ । सन्तुष्ट थिइनँ । उच्च शिक्षाको भोक लिएर पुनः भारत प्रवेश गरेँ । सेनामा गएँ । प्राइवेट पढ्दै गरेँ र स्नातकोत्तरपछि घरै फर्कें अनि त्रिविमा कार्यरत भएँ ।
२. तपाईं अहिले आफ्ना थुप्रै परिचय बनाउन सफल हुनुहुन्छ । लेखक, प्राध्यापक, सम्पादक, समाजसेवीमध्ये तपाईंलाई सबैभन्दा बढी आफ्नो कुन रुप मन पर्छ ।
— भारतमा छँदै एसएलसीपछि आइएस्सी पढ्न थालेको हो, तर निरन्तरता दिन सकिनँ । कारण विभिन्न छन् । नेपाल आएर प्रावि शिक्षक भएँ । यसर्थ, परिचयको क्रममा मेरो चिनारी शिक्षण पेसाबाट नै प्रारम्भ भएको हो । विक्रम सम्वत् २०२४÷२५ सालमा म धनौनी माध्यमिक विद्यालयमा प्राविको शिक्षक भएर चिनिएको हो । मह¤वाकांक्षी थिएँ । धेरै पढ्न चाहन्थेँ । मह¤वाकांक्षाको झोला बोकेर पुनः भारततिर लागेँ । केही समयका लागि भारतीय सेनामा कार्यरत रहेँ । सेनामा भए पनि उद्देश्य उच्च शिक्षा हासिल गर्नु नै थियो । उद्देश्य पूरा हुन केही समय लाग्यो, तर उद्देश्य पूरा हुनासाथ नेपाल फर्कें र २०४४ सालदेखि त्रिभुवन विश्वविद्यालयमा जीवन–संघर्षको दोस्रो इनिङ प्रारम्भ गरेँ । अर्थात्, मेरो जेहनमा रहेको सबैभन्दा प्रिय पेसा ‘शिक्षण’ नै रहेकोले पुनः शिक्षक भएँ । पहिला प्राविको र यसपटक विश्वविद्यालयको । त्यो मेरो मह¤वाकांक्षा र केही गर्ने, केही बन्ने योजना विस्तारको क्रम पनि थियो । अतः मेरो चिनारीका लागि प्रयोग गर्न ‘एलबी सर’ नै राम्रो होला ।
३. तपाईंलाई नजिकैबाट चिन्नेहरु ओखरजस्तै बाहिर कडा र भित्र नरम भनेर चिन्छन् । आफूले आफैँलाई हेर्दा कस्तो लाग्छ ?
— म प्रशासनमा कडा थिएँ र छु पनि । शिष्टाचारसँग सम्झौता छैन । अशिष्टहरु मन पर्दैनन् । ठगी र बेइमानी मन पर्दैन । म चाहन्छु– सबैले जानेको भन्दा बढी प्रदर्शन नगरुन्, बरू अग्रजहरुबाट सिकून् र आफ्नो छमता वृद्धि गरुन्, अग्रजलाई सम्मान गरुन् । म समयमा पुग्छु र चाहन्छु, सबैले समयलाई सम्मान गरुन् । धेरैले भन्छन्, यो आर्मीले गर्दा हो तर होइन । यो मेरो चरित्र हो जुन मैले साहित्य र साहित्यिक कृतिका पात्रहरुबाट सिकेको पाठ हो ।
तर म कठोर हुन सक्दिनँ, सबैसँग प्रेमभावसहित रहन चाहन्छु । माया गरौँ, माया बाडौँ तर मायाको सम्मान पनि गरौँ । मायालाई बदनाम न गरौँ भन्ने मेरो सोच हो । फेरि पनि मानिस हो, गल्ती हुन सक्छ । गल्ती भयो भन्दैमा कठोर सजायको पक्षमा छैन म । म इन्ट्रोवर्ट छैन, अलि चर्कै बोल्छु । चर्को बोले हुन्छ तर मीठो बोलौँ, म भन्छु । भन्नुको अर्थ अरुले बुझ्नै नसक्ने गरी सुस्त बोलेर नरम हुनुको अर्थ छैन । पाखण्ड मलाई मन पर्दैन, अरुलाई नझुक्याऊँ । म महिला हिंसाविरूद्ध छु, महिला समानताको पक्षधर हुँ । तर महिला होस् वा पुरूष, सीमा उलंघनलाई समर्थन दिन्नँ ।
४. तपाईं पहिला भारतीय सेनामा र पछि वीरेन्द्र क्याम्पसको प्रमुख हुनुभयो । सेनाको जागिर र त्रिविविको जागिरमा कुन बढी मह¤वपूर्ण ठान्नुहुन्छ ?
— काम र कर्तव्यको दृष्टिकोणले कुनै पनि देशका यी दुवै संस्था मह¤वपूर्ण छन् । तर म भारतीय सेनामा सोखले होइन, बाध्यताले गएको थिएँ । मैले अघि भनेको छु– उच्च शिक्षाको मह¤वाकांक्षाको पोको बोकेर भारत पुगेको थिएँ । मात्र ३५ वर्षको उमेरमा म भारतबाट नेपाल फर्की त्रिविलाई मेरो कार्यक्षेत्र बनाएको थिएँ । म मह¤वाकांक्षी थिएँ, प्रजातान्त्रिक सोचको समाजसेवी थिएँ । यसर्थ, संघसंगठन मन पराउँछु । वीरेन्द्र क्याम्पस प्रध्यापक संघको सभापति पनि भएँ । प्रशासनमा काम गर्न मन पर्छ, यसर्थ क्याम्पसप्रमुख पनि भएँ । अब कुन बढी मह¤वपूर्ण ? मेरो लागि त त्रिविको सेवा नै धेरै मह¤वपूर्ण छ । शिक्षा जीवन ज्योति हो । तर, नेपाली सेनामा कार्यरत हाम्रा सैनिकहरुले पनि देश सेवा गरेका छन् र आवश्यकताअनुरुप उहाँहरु समाजसेवामा प्रतिबद्ध हुनुहुन्छ । उहाँहरुको यो प्रतिबद्धतालाई सलाम गर्छु ।
५. साहित्यप्रति रूचि तपाईंलाई कहिलेबाट भएको हो ? तपाईंले अवकाशपछिको जीवन पूर्ण रुपमा साहित्यलाई समर्पित गरेजस्तो देखिन्छ । यो ऊर्जा कसरी पाउनुहुन्छ ?
— म साहित्यको विद्यार्थी हो । साहित्यप्रतिको रूचि सानैबाट हो । आईए, बीए, एमए सबै साहित्यमा नै गरेँ । तीस वर्षजति साहित्य नै पढाएँ । म त्रिविको जागिरमा रहँदा नै मेरो पहिलो कथासंग्रह ‘त्रिशंकुको देशमा’ विक्रम सम्वत् २०६२ मा प्रकाशित भएको हो ।
साहित्यको साधना विभिन्न तरिकाले गर्न सकिन्छ । साहित्यले सेवा, साधना र निरन्तरता माग्छ । साहित्यको सेवा आफैँले पुस्तकका ठेली उत्पादन गरेर मात्र हुन्छ भन्ने मेरो मान्यता छैन । साहित्य लेख्नेहरुलाई सम्मान तथा पुरष्कृत गर्ने, प्लेटफार्म उपलब्ध गराउने, विभिन्न कार्यक्रम आयोजना गरी साहित्यमाथि छलफल र विमर्श गर्ने÷गराउने आदिलाई पनि साहित्य साधना वा सेवा भन्न सकिन्छ । कविडाँडा साहित्य समाजले विभिन्न कार्यक्रम गर्छ, यसको मुख्य उद्देश्य पनि त्यही नै हो ।
साहित्य सेवामा उमेरको हद हुँदैन र यसले कुनै बाधा पु¥याउँदैन । यसले युवा लेखकहरुसँग सामीप्य बढ्छ । सँगै गृहकार्य हुन्छ, विमर्श हुन्छ र साथै आफ्नो विचार पस्कने अनि नयाँ विचार लिने कार्य हुन्छ । यसरी साहित्यमार्फत विचारको खेती गर्नेहरुका लागि विचारलाई निरन्तरता दिन सहयोग पु¥याउँछ ।
६. कविडाँडा साहित्य समाजको अध्यक्षको हैसियतले काम गर्दा तपाईंभित्र लुकेर बसेको साहित्यिक प्यास छताछुल्ल भएको छ । थकाइ लागेको त छैन नि ?
— आफूले चाहेजतिको गर्न सकिरहेको छैन, थाक्ने त कुरै आएन । धेरै गर्ने इच्छा छ तर विवश छु, चाहेर पनि गर्न सकिरहेको छैन किनकि मैले साथ पाइरहेको छैन । साहित्य लेखन एकल हुन सक्छ तर कार्यक्रम गर्नु, पत्रिका निकाल्नु एकल होइन सामूहिक प्रयासबाट हुन्छ । कसै कसैले मबारे कुरा गर्दा आवश्यकताभन्दा बढी मह¤वकांक्षा राखेको ठहर गर्छन् । मह¤वाकांक्षा त छ, सहि हो तर बढी होइन । नेपालमा अवसरको पनि कमी छैन, गर्नुपर्ने काम धेरै छन् । जाँगर, सीप र योजनाको खाँचो छ । सँगै मिलेर जाने भावनाको खाँचो छ । यहाँ साहित्य अतिरिक्त क्रियाकलापमा पर्छ । यसैले हामी साहित्य त दिन्छौँ, तर उत्कृष्ट दिन सक्षम छैनौँ । म स्वीकार गर्छु– गर्न सके मसँग धेरै काम छ, मैले धेरै गर्नुछ, मसँग काम धेरै छ तर समय कम ।
७. तपाईं युरोप, अमेरिका, अस्ट्रेलियालगायतका ठाउँहरुमा पुग्नुभएको छ । प्रवासी नेपालीहरुले नेपाली भाषासाहित्यलाई कत्तिको माया गरेको पाउनुभएको छ ?
— संस्कृति, कला र साहित्यले दसगजाका पर्खालहरुले भन्दा धेरै माथि उठेर देशको पहिचान बोलिरहेका हुन्छन् । जहाँ जहाँ नेपालीहरु पुगेका छन्, पहिचानका यी सम्पत्ति लिएरै पुगेका छन् । कसरी भन्न सकिन्छ, विदेश पुग्ने नेपालीहरुले आफ्नो भाषा र साहित्यको माया गर्दैनन् ? वा उनीहरुको साहित्य सिर्जनामा योगदान छैन भनेर ? धेरै माया गर्छन्, साहित्य सिर्जनामा पनि उनीहरुको योगदान छ । प्रत्येक देशमा नेपालीहरुले नेपाली साहित्यिक संस्थाहरु गठन गरेका छन् र विभिन्न अवसरमा कार्यक्रम गर्छन् ।
नेपाली साहित्यमा उनीहरुको योगदानबारे अझ फराकिलो तरिकाले हेर्न सकिन्छ । यस वर्ष प्रकाशित आख्यानहरु हेरौँ । चितवनबाट प्रकाशित ‘मौनता’ र ‘मुदिर’ दुवैले विदेशमा बस्ने नेपालीहरुको कथा र व्यथा नै भनिरहेछन् । हालै बजारमा आएका आख्यानहरुमा पनि विदेशमा बस्ने नेपालीहरुले भोगेका पीडाहरु नै बृहद् रुपमा वर्णित छन् । नेपाली डायस्पोरा साहित्य बन्न सकेको छैन होला, तर विदेशमा बस्ने नेपाली जीवनको सुन्दर प्रस्तुति पाइन्छ ती आख्यानहरुमा ।
८. तपाईं नेपाली साहित्यको कुन विधामा लेख्न बढी मन पराउनुहुन्छ ? तपाईंका कृतिबारे पनि केही भन्नुहोस् ।
— आफूलाई कवि भन्ने हैसियत बनाउन सकेको छैन । तैपनि, कविता कोर्ने गर्छु र आफूलाई कविता कोर्ने मान्छे नै भन्छु । मेरा प्रकाशित कृतिहरुमा एउटा कवितासंग्रह ‘भीडमा हराएको मान्छे’ र दुईवटा कथासंग्रह ‘त्रिशंकुको देशमा’ अनि ‘इन्द्रमायाको देशमा’ छन् । म कथा लेखनमा बढी समय दिन्छु । कथा एलबी स्टायलका नै हुन्छन् । ओ हेनरी, समरसेट माम, चेखब, भारतका जयशंकर प्रसाद, प्रेमचन्द, आचार्य चतुर्सें आदिबाट म प्रभावित छु ।
हाल आएर म अरुका कृतिमा धेरै समय दिइरहेको छैन, कारण एकैपटक धेरै पुस्तक लेखन तथा त्यसलाई पूर्णता दिनमा तल्लीन छु । एउटा उपन्यासमा काम गरिरहेको छु, अप्रकाशित कथाहरुलाई जम्मा गर्दैछु, अप्रकाशित कविताहरु पनि जम्मा गर्दैछु, मैले लेखेका निबन्धहरु पनि संकलन गर्दैछु । मेरो युरोप भ्रमणको नियात्रा र संस्मरणमा पनि काम भइरहेको छ । अमेरिकाको एउटा जर्नलले निकट भविष्यमा मेरो अंग्रेजीमा एउटा कथासंग्रह र एउटा कवितासंग्रह प्रकाशित गर्ने भएको छ । म अहिले त्यसका लागि तयारी गर्दैछु ।
९. नेपाली साहित्य विश्वसाहित्यको दाँजोमा किन पुग्न सकिरहेको छैन ?
— अंग्रेजी साहित्यको तुलनामा नेपाली साहित्य त के, विश्वका धेरै साहित्यहरु पछि छन् । विश्वका अन्य साहित्यभन्दा नेपाली साहित्य नराम्रो पनि होइन, तर उत्कृष्ट कृतिहरुको कुरा गर्दा हाम्रा कृति संख्यामा निकै कम छन् । यसका विभिन्न कारण छन् । कुनै पनि देशको साहित्य निर्माणका लागि समाज निर्माण पहिलो आवश्यकता हो कि ? ग्रीक साहित्यको वा अंग्रेजी साहित्यको इतिहास धेरै पुरानो छ, किनकि यी देशहरुको समाज निर्माणको इतिहास पनि धेरै पुरानो छ । एउटा अर्को उदाहरण, अस्ट्रेलिया धेरै सम्पन्न देश हो तर यसको समाज निर्माणको इतिहास धेरै पुरानो छैन । यसर्थ, अस्ट्रेलियाको आफ्नो साहित्य पनि धेरै पुरानो छैन । यसरी नै नेपाली साहित्य लेख्न सक्ने नेपाली समाज निर्माणको इतिहास पनि निकै छोटो रहेकाले नेपाली साहित्यको इतिहास पनि छोटो छ ।
साहित्य समाजको दर्पण भएकाले समाज जस्तो हुन्छ, साहित्य उस्तै उत्पादन हुन्छ । नेपाली साहित्य उत्कृष्ट नबनेको एउटा कारण हाम्रो समाज नै उत्कृष्ट बन्नबाट सधैं वञ्चित रहेजस्तो छ । राणाकालका कलमधारीहरुलाई डराइडराई बाँच्नुपथ्र्यो । पञ्चायतकालीन परिवेशमा नेपाली जीवन हराइहराई बाँच्न बाध्य थिए भने प्रशासकहरु स्वार्थपूर्ण तरिकाले लुट्नु लुट्थे । ४६ सालको आन्दोलनपछि देशले शान्ति प्राप्त गर्छ कि भनेको जनयुद्ध प्रारम्भ भयो । त्यहीक्रममा युवाहरुमा सुनिश्चित भविष्यको खोजीमा पलायनवादको रोग पलायो र योक्रम अझै पनि जारी छ । त्यसपछिबाट हालसम्म आन्दोलन, भ्रष्टाचार, राजनीतिक कुरीति, कोतपर्व, भागबन्डा, कुण्ठा, आक्रोश, बन्दुक, रगतको बहाव आदि आदिमा नै व्यस्त छ नेपाली जीवन र त्यसरी नै प्रतिबिम्बित छ नेपाली साहित्य मस्तिष्कमा, कागतमा अनि छापामा । पश्चिमेली जगत्मा जस्तै आगस्टन वा एलिजावेथन वा स्वर्णिम युग नै आएन नेपालमा । नेपालले लामो सास फेरेर शान्तिसँग केही लेख्न पाएकै छैन । कसरी जन्मोस् यहाँ उत्कृष्ट साहित्य ? फेरि पनि रामायण, मुनामदन, माधवी, सुम्निमा, अलिखितजस्ता केही अमर कृति जीवित छन् ।
१०. नेपाली साहित्यलाई विश्वसाहित्यको दाँजोमा पु¥याउन के गर्नुपर्छ त ? अंग्रेजी भाषामा अनुवाद कत्तिको आवश्यक छ ?
— विगत एक दशकमा नेपाली साहित्यमा केही हलचल भएकै हो । राम्रा राम्रा कृतिहरुले नेपाली साहित्य बजार तातेकै हो । धेरै लेखक जन्मे, धेरै प्रकाशन संस्था खुले । नेपाली साहित्यको बजारमा प्रकाशक, लेखक र पाठकको भागदौड सुरू भएकै हो । साहित्य लेखिएका छन्, तर विश्वसाहित्यको दाँजोमा पुग्ने स्तर कायम हुन सकेको छैन । केही लेखकद्वारा राम्रा कृति आए र आउने दिनहरुमा झनै उत्कृष्ट कृति आउनेछन् भनेर आश पनि जाग्यो । तर दुःखको कुरा, तिनै लेखकका अन्य कृतिले पहिलाको स्तरलाई पनि निरन्तरता दिन सकेनन् । कसै कसैले एक–दुई मध्यमस्तरका कृति निकालेर सेलाए । कोहीले भने ठूला ठूला स्वाङ रचे, चर्को स्वरमा आफ्नो परिचय दिए, पुस्तकको भव्य आवरणसहित हुँकार लगाए, तर भित्र हेर्दा टायँ–टायँ फिस्स…, दम छैन ।
सर्वप्रथम नेपाली साहित्यलाई विश्वस्तरमा पु¥याउन स्तरीय रचना आउनुप¥यो । ती स्तरीय रचना अंग्रेजीमा अनुवाद हुनुप¥यो । अनि, विश्व बजारमा लानुप¥यो । विश्व बजारमा लानका लागि अनुवादमा स्तरीयताको पनि खाँचो पर्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भनेर पनि विदेशमा साहित्यिक संस्थाहरु गठित छन्, तर नेपाली साहित्यलाई विश्व बजारमा लान कुनै प्रयास र कुनै पहल छैन । लक्ष्मी जयन्ती, लेखनाथ जयन्ती, सरस्वतीपूजा, कविता वाचन आदिमा सीमित छन् विदेशका यी संस्थाहरु । एक–दुई अपवादबाहेक नेपालबाट पलायन भएर गएकाहरु आफ्नो रोजीरोटी, घरजम, सम्पत्ति जोड्ने, मौजमस्ती गर्दै केही छिटफूट कविता, नियात्रा, संस्मरण आदि पनि लेखिरहेछन् । यतिले मात्र नेपाली साहित्य विश्व बजारमा पुग्दैन । नेपाल प्रज्ञाप्रतिष्ठानले यसमा राम्रो भूमिका खेल्न सक्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजजस्ता साहित्यिक संस्थाहरुमा आफैँले हस्तक्षेप गरेर वा सहकार्य गरेर नेपाली साहित्यका उत्कृष्ट रचनाहरुलाई अनुवाद गराउने अनि अक्फोर्ड, क्याम्ब्रिजजस्ता विश्वविद्यालयहरुमा आफ्ना प्रतिनिधि पठाएर उनका पाठ्यक्रममा हाम्रा पुस्तक राख्न लगाउने हो भने आगामी केही वर्षमा नेपाली साहित्य पनि पश्चिमी साहित्यअन्तर्गत सामेल हुन सक्छ ।
११. चितवनको साहित्यिक गतिविधि अत्यन्त उर्जावान् देखिन्छ । यो उपस्थितिलाई राजधानीसम्म पु¥याउन स्रष्टाहरुहरुले कस्तो भूमिका खेल्नुपर्ला ?
— चितवनको साहित्यिक गतिविधि प्रबल नभए पनि उर्जावान् भने छ । यहाँ कविता वाचन, पुस्तक समीक्षा आदि सिर्जनात्मक काम भइरहेछन् । यस वर्ष चितवनबाटै दुईवटा आख्यान निस्के, यसलाई राम्रो पाइला मान्नुपर्छ । चितवनका दुई जना स्रष्टाले पद्मश्री पुरस्कार प्राप्त गरिसकेका छन् । ती दुईमध्ये एक जना काठमान्डूमा बिलाए भने अर्का स्रष्टा कता हराए कता हराए ! हाम्रा केही कविहरु चितवनबाहिर सुनिएका पनि छन् । केही स्तरीय कथासंग्रह, कवितासंग्रहहरुको विमोचन, एकल वाचन र अन्तरक्रिया पनि भयो, तर अहिले गुमनाम छन् । चितवनका कृतिहरुले जसरी राष्ट्रियस्तरमा स्थान पाउनुपर्ने हो, पाइरहेका छैनन् । राजधानीले पनि मोफसललाई खासै मह¤व नदिएको हो कि ? त्यसैले गर्दा चितवनका लेखक अहिले राजधानीमा बसेर लेख्न रूचाइरहेछन् । त्यहाँको माहोल अलिक भिन्न, अलिक उच्च नै छ जस्तो लाग्छ । लेख्नका लागि त राजधानीभन्दा चितवन धेरै शान्त छ, तर ग्ल्यामर र प्रोपोगान्डाका लागि राजधानी नै उत्तम देखियो ! यहाँ प्रेरणा छ, त्यहाँ ग्ल्यामर छ । अहिलेको बजारले शान्तिभन्दा प्रोपोगान्डा र प्रेरणाभन्दा ग्ल्यामर खोजेकाले पनि हामी अलिक पछाडि परेको हुन सक्छ ।
१२. साहित्य र जीवनलाई कसरी हेर्नुहुन्छ ?
— साहित्य र जीवन म नङ र मासुको सम्बन्धजस्तो देख्छु । नङ जीवन हो, किनकि साह्रो छ । जीवन साह्रो हुन्छ, कठोरभन्दा कठोर परीक्षणबाट गुज्रिनुपर्छ मानवजीवनलाई । नङमुनिको मासु साहित्य हो, किनकि कमलो छ । साहित्य कमलो हुन्छ, कस्ता कस्ता कठोरभन्दा कठोरलाई साहित्यले पगालिदिन्छ, हँसाइदिन्छ र रूवाइदिन्छ ।
सेनामा जानु मेरो बाध्यता थियो वा भनौँ, एउटा संयोग थियो । विश्वविद्यालयमा प्राध्यापन मेरो सपनाको पेसा, साहित्य मेरो रूचि र अन्ततः म साहित्यकै शिक्षक हुन सफल भएँ । भाषा फरक हो, तर साहित्य नै पढाउँथे । म सानैदेखि रामायण, माहाभारत, स्वस्थानी पढ्थेँ वा पिताजीले पढेको सुन्थेँ । यी सबै धार्मिक साहित्य हुन् । यिनमा मेरो रूचि थियो र यसै रूचिले गर्दा म सानै कक्षामा पढ्दै गर्दादेखि नै सामाजिक साहित्यप्रति आकर्षित भएँ । सानै उमेरमा नाटक हेर्न जान्थेँ । केटाकेटी छँदा आफूले हेरेका नाटकहरुलाई अनुसरण गर्दै हामी आफैँ नाटक लेख्थ्यौँ र खेल्थ्यौँ पनि । मैले धेरै नाटक सानोमा खेलेको हो । वीर अभिमन्यु, सुल्ताना डाँकु, राजा भर्तृहरि कयौँपटक मुख्य भूमिकामा अनि अन्य भूमिकामा पनि खेलेँ । कक्षा चारमा पढ्दा जिल्लास्तरीय नाटकमा भाग लिएको थिएँ, अनि कक्षा ७ मा पढ्दा जिल्लास्तरीय लोकनृत्यमा । प्रारम्भमा कविता, कथाहरु पढ्न थालेँ र क्रमशः नाटक अनि उपन्यासहरु पनि पढ्न थालेँ । मेरो विचारमा त साहित्य प्रत्येक मान्छेमा हुन्छ । कसैले थाहा पाउँछ त कसैले पाउँदैन । कसैले थाहा पाएर पनि वास्ता गर्दैन भने कसैले थाहा पाउनासाथ त्यसको साधना गर्न थाल्छ । कसैमा साहित्य नैसर्गिक गुण भएर हुर्केको हुन्छ भने कसैको पछि गएर मानवजीवनप्रति आस्था जाग्छ र स्वतः साहित्यप्रति रूझान बढ्छ । यो सबै म किन भनिरहेको छु भने, हो म पहिला भारतीय सेनामा थिएँ । सेनामा जाने पनि मानव नै हुन् । तीमाथि पनि साहित्य बन्छ र लेखिन्छ, किनकि तिनीहरुको जीवन घटना पनि आख्यानको परिभाषाभित्रै पर्छ । म १९७१ को भारत–पाकिस्तान युद्धको प्रत्यक्षदर्शी हुँ । भारतीय सेनाका धेरै ब्रिगेडहरु युद्धमा सामेल भएका थिए । नेपाली पल्टनहरु पनि थिए । मैले मेरै आँखाले देखेको हो, सयकडौँ नेपालीहरु बंगलादेशको युद्धमा सामेल भएको र खुसीको पलमा गीत गाएको, मादल बजाएको, सालैजो भाकामा नाचेको । अनि साथै मेरै आँखाले देखेको हुँ, सयकडौँ नेपाली सैनिकहरु मारिएको र उनका आफन्त तथा सहकर्मीहरु रोएको । तर, युद्ध रोकिएन र रोकिँदैन पनि । रोएर बस्ने समय न त्यसबेला थियो, न आज छ । समय गतिशील हुन्छ । कोही युद्धमा म¥यो भन्दैमा न समय रोकिन्छ, न युद्ध । आज ४५ वर्षपछि पनि युद्ध कहाँ रोकिएको छ र ? युद्धले निरन्तरता पाइरहेछ र घटनाहरु जीवित छन्– समाजशास्त्रका पानामा युद्धको सिद्धान्त बनेर, इतिहासका पानामा घटनाको लिपिबद्ध अभिलेख वृत्तान्त भएर र साहित्यका पानामा मानवजीवनको आख्यान र वेदना भएर ।
हेमिङ्वेको विश्वप्रसिद्ध उपन्यास ‘फेयरवेल टू आर्म्स’ सबै साहित्यप्रेमीले पढ्नुपर्छ । सैनिक जीवन, युद्ध र प्रेम कसरी सँगसँगै यात्रा गर्छन्, यसको अनौठो उदाहरण हो यो कृति । युद्ध सैनिकको घृणित पेसा हो, किनकि ऊ युद्धप्रेमी होइन । तर, ऊ युद्धमा सामेल हुन्छ र एउटी नर्ससँग प्रेम गर्छ । युद्ध र प्रेम सँगसँगै हुर्कने आयाम होइनन् र नायक युद्ध त्यागेर आफ्नो प्रेमलाई पछ्याउँदै सैन्य जेलबाट भाग्न सफल हुन्छ । यसरी हेमिङ्वेले यस कृतिमा एकातर्फ युद्धको भीषण विनाशकारी भूमिकामाथि आख्यानमार्फत बहस गर्छन् भने अर्कोतर्फ अन्तमा दुई प्रेमीहरुको कथालाई नै उत्कृष्ट प्रसंग बनाउँछन् । मेरो १९७१ को युद्ध अनुभव र हेमिङ्वेको ‘फेयरवेल टू आर्म्स’लाई जोडेर हेर्ने हो भने पनि मानवजीवन र साहित्यको सम्बन्धबारे बुझ्न सकिन्छ ।
‘इन्द्रमायाको देशमा’ कृतिभित्र मेरो एउटा कथा छ– ‘उसले फेरि एउटा सपना बुन्नुछ’ । यस कथाकी मुख्य पात्र जेठी अर्थात् संगीता कुखुराको खोरमा वा अर्काको घरमा काम गर्ने महिला हो । तर, ऊ सपना पनि देख्छे किनकि गरिब हुँदैमा उसको सपना देख्ने अधिकार कसैले खोस्न सक्दैन । यो कुरा साहित्यले भन्छ । अर्थात्, सपना राजामहाराजादेखि भूमिपुत्र सबैले देख्ने अधिकार छ । जेठीले पनि सपना देख्ने अधिकार छ र देख्छे पनि । जेठीको सपना त्यति ठूलो पनि होइन, मात्र सुनको एउटा टप बनाएर लगाउने हो । हेमिङ्वेले आफ्नो उपन्यासमा नायक र नायिका दुवैलाई युद्धको घृणित विभीशिकाबाट बाहिर तान्छन, नायिका गर्भिणी पनि छ तर युद्धले आफ्नो विनाशकारी भूमिका खेल्छ र नायिकाको मृत्यु हुन्छ. नायक एक्लै होटेल तिर लाग्छ. उपन्यासको अन्त हुन्छ. ‘उसले फेरि एउटा सपना बुन्नु छ’ कथामा पनि नायिकाको सपना पुरा हुँदैन. उसले जम्मा गरको पैसा अन्य प्रयोजनमा खर्च गर्ने बाध्यताको सृजना हुन्छ. जेठी पुनः म्याडमकोमा जान थाल्छे किन कि फेरी उसले एउटा सपना बुन्नु छ. ‘उसले फेरि एउटा सपना बुन्नु छ’ एउटा कथा हो तर कथाका पात्र हाम्रै वरिपरिका, सामाजिक पीडा बोकेका मानव जीवन हुन. यसरि सहित्य र जीवनको प्रासंगिकता स्थापित हुन्छ.

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment