गृह » चट्टान नफुट्ने ठाउँमा क्यान्टिलिभर पुल
अर्थ प्रमुख समाचार प्रविधि

चट्टान नफुट्ने ठाउँमा क्यान्टिलिभर पुल

दिपेन्द्र अधिकारी
भरतपुर । सडक विस्तारको क्रममा पहाड फोर्न असमर्थ भएपछि नारायणगढ–मुग्लिन सडक खण्डमा क्यान्टिलिभर पुलको आवश्यकता देखिएको छ । यस सडकको मुग्लिन सिमलताल क्षेत्रमा क्यान्टिलिभर पुल (घरको बार्दली वा पाली जस्तो संरचना ) उपयुक्त हुने देखिएको छ ।
हाल जबरजस्ती चट्टान काट्दा बाँकी पहाडी क्षेत्रसँग संरचना नमिली खाल्डो जस्तो देखिने र भविष्यमा थप जटिलता हुन सक्ने भन्दै नयाँ अवधारणा अघि सारिएको हो । हाम्रो निर्माण खण्डमा मात्रै तीन खतरा क्षेत्र छन्, ‘जहाँ पहाड फोर्न निकै गाह्रो भइरहेको छ’, सुप्रिम रौताहाका कन्ट्याक्ट म्यानेजर शिशिर कन्दङवाले भने, ‘चट्टान फोर्न नै गाह्रो भएकाले कतै भनेको समयमा पनि काम नसकिने हो कि भन्ने लागिरहेको छ ।’ म्यानेजर कन्दङवाले तीन महिनासम्म बे्रकर हान्दा पनि चट्टान फोर्ने काम जम्मा २५ प्रतिशत भएको बताए । पाँच किलो नजिकको चेपाङ डाँडा फोर्न गाह्रो भएको उनले बताए ।
नारायणगढ–मुग्लिन सडक सुधार आयोजनाका इन्जिनियर शिव खनालले करिब डेढ मिटर (पाँच फिट) जति क्यान्टिलिभर पुल बनाउन सकिनेबारे आफूहरुले सोचेको बताए । साथै यस पुलको सम्भाव्यताबारे भारतीय विशेषज्ञहरुले अध्ययन गरी सम्भव रहेको प्रतिक्रिया दिइसकेको समेत उनले बताए । ‘चट्टानै काट्न थाल्दा पाँच वर्षसम्म पनि लाग्ला जस्तो भयो, खनालले भने, ‘चट्टान काट्दा लाग्ने जम्मा खर्चको आधा खर्चमै यो पुल निर्माण सम्भव छ ।’ पुलको लागि आवश्यक प्रविधि भने बाहिर देशबाट मगाउनुपर्ने उनले बताए ।
निर्माण कम्पनी बुड हिल लामाका रविन्द्र मानन्धरले क्यान्टिलिभर पुल सडक निर्माणको क्षेत्रमा नौलो नभएको बताए । उनले भने, ‘मुग्लिन नौबिसे सडकखण्डमा दर्जनौं स्थानमा क्यान्टिलिभर पुल निर्माण गरी सडक फराकिलो पारिएको छ ।’ पूर्वगृहमन्त्री माघव घिमिरे सवार गाडी खसेको पुल पनि क्यान्टिलिभर पुलको एउटा नमूना हो ।
यस सडकको सुधार योजनामा कहिँकतै पनि क्यान्टिलिभर पुल निर्माण गर्ने भन्ने बारेको प्रावधान भने उल्लेख छैन । तर, निर्माण कम्पनीहरुले हाल आएर चट्टान फोर्न गाह्रो भएपछि यसको आवश्यकता बताइरहेका छन् । हाल यस सडकखण्डको केराबारी, घुमाउने, १५ किलो र मुग्लिन नजिकको पहाड काट्ने काम भइरहेको छ ।
पिचको काम सुरू
नारायणगढ–मुग्लिन सडक क्षेत्रमा चट्टाने पहाड फोर्नुको कठिनाइको बाबजुद पनि सडक पिचको काम सुरू भएको छ । आँपटारीदेखि भोर्ले ओरालोसम्मको क्षेत्रमा पिचको काम सुरू भएको हो । पहिलो खण्डको निर्माण कम्पनी बीएलएएससीसीका म्यानेजर प्रभु जोशीले सडक पिचको काम सुरू भइसकेको जानकारी दिएका छन् । पहिलो चरणमा ४.५ किमि सडक पिच गरिने उनले बताए ।
सडक पिच गर्नका लागि बेस र सब बेस तयार पारिसकिएको भन्दै जोशीले मौसमले साथ दिए केही दिनमै सडक पिचको केही भागको काम सकिनेछ । सुप्रिम रौताहाले पनि तीन किमि सम्मको सडक पिच गर्ने तयारीमा रहेको जानकारी दिएको छ । त्यस्तै बुडहिल लामाले पनि आगामी जेठ महिनासम्ममा चार किमि सडक पीच गर्ने बताएको छ । यसरी हेर्दा तीन भागको एक भाग सडक खण्ड आगामी वर्षाअघि नै पिच हुने देखिन्छ ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment