गृह » विश्वविद्यालयमा बिउ परीक्षण प्रयोगशाला स्थापना
अर्थ प्रविधि समाचार समाज

विश्वविद्यालयमा बिउ परीक्षण प्रयोगशाला स्थापना

यतिराज सापकोटा
भरतपुर । कृषि तथा वनविज्ञान विश्वद्यिालय रामपुरमा बिउ प्रशोधन तथा परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ ।
प्रतिघण्टा एक टन क्षमतामा बिउ प्रशोधन गर्न सक्ने क्षमता भएको केन्द्र तथा प्रयोगशालाको राष्ट्रिय योजना आयोगका सदस्य डा. गीताभक्त जोशीले सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । नेपालमा बिज व्यवस्थापनलाई दिगो प्रभावकारी र गुणस्तरीय बनाउन करिब एक करोड ३० लाखको लगानीमा प्रशोधन केन्द्र स्थापना गरिएको हो ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय बिल एण्ड मेलिन्दा गेट्स फाउण्डेशनको आर्थिक सहयोग कर्नेल विश्वविद्यालय बेलायतको नेतृत्व तथा सतगुरू म्यानजमेन्ट कन्सल्ट्यान हैदरावादले यसको व्यवस्थापन गर्नेछन् । किसानको प्रत्यक्ष सहभागितामा गुणस्तरीय बिउबिजन उत्पादन, प्रशोधन र वितरण गर्ने तथा त्यसबाट किसानहरुलाई प्रत्यक्षरुपमा फाइदा दिने उद्देश्य राखिएको परियोजना संयोजक प्रा डा शारदा थपलियाले जानकारी दिइन् ।
गहँु, धान, मकैको बिउलाई प्रशोधन तथा गुणस्तरीय जाँच गरिने केन्द्रमा बीउलाई प्रिक्लिनर ,फाइनल क्लिनर, ग्राभिटी सेप्रेटरमार्फत बिउहरुको गुणस्तरियता छुट्टाउने काम गरिने परियोजना सहसंयोजक उपप्रध्यापक उदितप्रकाश सिग्देलले जानकारी दिए ।
गुणस्तरीय बिउ उत्पादनका लागि विश्वविद्यालयले दक्ष प्राविधिकहरुको सहभागितामा एक सय भन्दा बढी किसानहरुलाई तालिम दिइसकेको छ । अब थप २०० किसानहरुलाई गुणस्तरीय बिउ उत्पादन तथा प्रशोधनको प्रकृयाका बारेमा जानकारीमूलक तालिम गराउने योजना रहेको विश्वविद्यालयका रजिष्ट्रार प्रा डा मनराज कोलाक्षपतिले बताए । बिउको प्रशोधनपछि त्यसको परीक्षण प्रयोगशालामा गरिने छ । प्रयोगशाला परीक्षण गरेपछि मात्रै विश्वविद्यालयको लोगो लगाएर प्याकेजिङ गरिने छ ।
विश्वविद्यालयले प्रशोधन केन्द्रको दिगो व्यवस्थापनका लागि यसलाई स्वायत्त केन्द्रका रुपमा सञ्चालनमा ल्याउने योजना बनाएको परियोजना संयोजक प्रा डा शारदा थपलियाले बताइन् । ‘धेरै परियोजना तथा कार्यक्रमहरु दिगो व्यवस्थापनको अभावमा लथालिङ्ग हुने गरेका छन् । दाताहरुको पनि चिन्ता यसैमा छन्’, प्रा डा थपलियाले भनिन् , ‘त्यही कुरालाई मध्यनजर गरेर किसानहरुसँगै सहकार्यमा मूल्य निर्धारण र आत्मनिर्भर बनाउछौ’

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment