गृह » २६ हजारभन्दा बढी पशुमा कृतिम गर्भाधान 
प्रविधि समाचार समाज

२६ हजारभन्दा बढी पशुमा कृतिम गर्भाधान 

तुलमान गुरूङ
भरतपुर । जिल्ला पशु सेवा कार्यालय चितवनले जिल्लालाई दूध र मासुमा आत्मनिर्भर बनाउनका लागि कृतिम गर्भाधानलाई प्राथमिकता दिएर कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
उन्नत जातका पशु उत्पादन गर्ने उद्देश्यले प्राकृतिकभन्दा कृतिम गर्भाधानलाई महत्व दिइएको जिल्ला पशु सेवा कार्यालय चितवनले जनाएको छ । विशेषगरी दुग्ध उत्पादनका लागि गाई र मासु उत्पादनका लागि भैँसी, बाख्रा र बंगुरमा कृतिम गर्भाधानलाई प्राथमिकता दिइएको वरिष्ठ पशु चिकित्सक डा.डिल्लीराम सेढाईंले बताए ।
जिल्ला पशु सेवा कार्यालय चितवनले दिएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा गाई, भैँसी, बाख्रा र बंगुर गरी २६ हजार ६०२ वटा पशुहरुमा कृतिम गर्भाधान गराइएको छ । पशु सेवा कार्यालयले यस आर्थिक वर्षमा कृतिम गर्भाधानबाट १५ हजारसहित ४५ हजार पशुहरुमा कृतिम गर्भाधान गराउने वार्षिक लक्ष्य लिएको छ ।
जसमध्ये पुस महिनामा मात्रै तीन हजार ७७१ वटा पशुहरुमा कृतिम गर्भाधान गराइएको वरिष्ठ पशु चिकित्सक डा.सेढाईँले बताए । गत आर्थिक वर्षको पुस महिनामा दुई हजार ७०४ वटा पशुहरुमा कृतिम गर्भाधान गराइएको थियो ।
तर, चालु आर्थिक वर्षको गएको महिनासम्ममा जम्मा आठ हजार ७५४ वटा पशुहरुमा मात्रै प्राकृतिक गर्भाधान गराइएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । उन्नत जातका पशु उत्पादन गर्नको लागि प्राकृतिकभन्दा कृतिमलाई बढी प्राथमिकतामा राखिएकोले कृतिम गर्भाधान बढी भएको डा.सेढाईँले बताए । उनकाअनुसार चालु आर्थिक वर्षमा जम्मा १२ हजार पशुहरुमा मात्रै प्राकृतिक गर्भाधानको वार्षिक लक्ष्य लिएको छ ।
यस्तै चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २२ हजार ३६६ वटा पशुहरुमा उपचार सेवा प्रदान गरिएको कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारीअनुसार आलु आर्थिक वर्षमा दुई हजार २१२ वटा पशुहरुको बिमा गराइएको छ । साथै पाँच हजार पंछीहरुको पनि बिमा गराइएको कार्यालयले जनाएको छ ।
जिल्ला पशु सेवा कार्यालय चितवनले यो आर्थिक वर्षको पुस मसान्तसम्ममा ८ पटक पशु स्वास्थ्य शिविर, ९ पटक सेवा केन्द्रस्तर तालिम, ५ पटक सेवा केन्द्रस्तर योजना तर्जुमा गोष्ठी र बाँझोपन निवारण शिविर दुई पटक सञ्चालन गरिसकेको छ । व्यवसायिक पशुपालनमा हुने समस्या समाधानका लागि यस्ता तालिम तथा गोष्ठीहरुको आवश्यकता रहने हुँदा सबैलाई समेटेर विभिन्न स्थानहरुमा कार्यक्रम गर्दै आएको कार्यालयले जनाएको छ । तर, उन्नत जातको पशु वितरण भने आर्थिक वर्षको दोस्रो चौमासिकबाट सेवा केन्द्रमार्फत गरिने कार्यालयका वरिष्ठ पशु चिकित्सक डा.सेढाईंले बताए । जिल्ला पशुसेवा कार्यालयको कामलाई जिल्लाका विभिन्न सहकारी संस्थाहरुले पनि सहयोग गरिरहेकोले अझ सजिलो भएको डा.सेढाईंले बताए ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment