गृह » दुई नेपाली साउदीको जेलमा, उद्धारको आग्रह
प्रवासको खबर

दुई नेपाली साउदीको जेलमा, उद्धारको आग्रह

साउदी अरब । विगत दुई वर्षदेखि साउदी अरबमा जेलजीवन बिताइरहेका दुई नेपालीले उद्धारका लागि आग्रह गरेका छन् ।
अदालतले तोकेको जेल सजाय पूरा भएको महिनौँ बितिसक्दा पनि जेलमुक्त नगरेको भन्दै रोल्पा जिनावांग–३ का २४ वर्षीय गणेश ओली र सोही स्थानका २९ वर्षीय रमेश गुरूङले उद्धारका लागि सहयोग गर्न आग्रह गरेका हुन् । काठमाडौँमा रहेको सोसियल मेनपावरमार्फत चार वर्षअघि रोजगारीका लागि साउदी अरब आएका उनीहरु चोरी मुद्दामा जेल परेका हुन् ।
औषधि आपूर्ति गर्ने एक कम्पनीमा लोडिङ कामदारका रुपमा कार्यरत उनीहरुलाई औषधि चोरी गरेको आरोपमा कम्पनीले जेल हालेको हो । २७ महिनाअघि जेल परेका उनीहरु हाल जेद्धास्थित आम जेलमा रहेका छन् ।
“हामीले दैनिकजसो औषधि लोड–अनलोड गथ्र्यौं, एक दिन औषधि अनलोड गर्ने क्रममा औषधिको परिमाणमा तल–माथि देखिएपछि हामीलाई चोरी गरेको आरोपमा जेल हालियो, हामी निर्दोष छौँ, हामीसँगै काम गर्ने एक साउदी नागरिकले हामीलाई फसाएको हो”, पीडित गणेश ओलीले भने ।
पीडित ओलीका अनुसार अदालतले डेढ वर्षको जेल सजाय सुनाएको भए पनि जेल परेको २७ महिना बितिसक्दासम्म पनि जेलमुक्त गरिएको छैन । जेल सजाय पूरा भएपछि घर जाने आशामा रहेका उनी जेलमुक्त नगरेपछि चिन्तित बनेका छन् ।
जेलजीवन विताइरहेका अर्का पीडित रमेश गुरूङले आपूmहरुले विनाकसुर जेल सजाय भोग्नु परेको दुःखेसो गरे । हामीले त कम्पनीले दिएको परिमाणअनुसार सामान चढाउने र झार्ने काम गरेका हौँ, हामीलाई सँगै कार्यरत साउदी नागरिक र सुडानी ड्राइभरले फसाएको हो । अदालतले तोकेको जेल सजाय नौ महिनाअघि नै पूरा भइसक्यो, तर हामीलाई जेलमुक्त गरिएको छैन– पीडित गुरूङले भने, दूतावासमा सम्पर्क गर्दा फोन उठ्दैन, हाम्रो मुद्दा के भइरहेको छ बुझिदिने कोही भएन, हामी त जेलमै सड्ने भयौँ, हामीलाई यहाँबाट कसले उद्धार गर्ला ?
यता जेद्धास्थित महावाणिज्य दूतावासका वाणिज्यदूत मनहरि दङ्गालले भने कार्यव्यस्तताका कारण सो मामिला जानकारीमा आए पनि बुझ्न नसकिएको प्रतिक्रिया दिए । “जेलबाट उहाँहरुले फोन गर्नुभएको थियो, तर कार्यालयमा म एक्लै भएका कारण सो विषयमा केही बुझ्न र प्रक्रिया अगाडि बढाउन मौका मिलेको छैन”, दङ्गालले भने ।
घर बिदामा स्वदेश गएका कार्यवाहक महावाणिज्यदूत सुधिर भट्टराई फर्केपछि मात्र सो विषयमा जेल र अदालतबाट जानकारी लिई आवश्यक प्रक्रिया अगाडि बढाइने दङ्गालले बताए । रासस

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment