गृह » उडायो सपना सबै…………………
अन्तर्वार्ता प्रवासको खबर समाचार समाज

उडायो सपना सबै…………………

रामकुमार श्रेष्ठ
नवलपरासी । गाउँका दाजुभाइ विदेश हिँड्दा रहरैरहरमा विदेश जान मन लाग्यो, नवलपरासी हुप्सेकोट–२ का इन्द्रबहादुर सिंह ठकुरीलाई । अनि उनलाई धेरै कमाउने सपना देखाए गोर्खा घर बताउने दुर्गाबहादुर थापाले ।
महिनामा लाख कमाउने सपना एजेन्टले बाँडेपछि लिबियामा इलेक्ट्रिसियनको कामको लागि ४ लाख दिने निर्णय गरे इन्द्रबहादुरले । तर अहिले उनको पैसा कमाउने सपना सपनामामात्रै सीमित भएको छ । अहिले त्यतिमात्रै होइन, उनलाई अहिले विदेश जान भनेर लिएको ऋण निल्नु न ओकल्नु भएको छ ।
पैसा दिएको तीन महिनापछि एजेन्टको अत्तोपत्तो हुन छाड्यो । अहिले भने धेरै कमाउने सपना बुन्दै लिबिया जान तयारीमा बसेका इन्द्रबहादुर एजेन्टलाई बुझाएको पैसाको व्याज बुझाउँदा बुझाउँदै हैरान भएका छन् ।
विदेश जान भनेर ४ लाख दिएको २ वर्ष पूरा भएको छ, तर विदेश लैजाने सपना देखाउन एजेन्टको भने अत्तोपत्तो छैन । पैसा दिएको ४ महिनासम्म सम्पर्कमा रहेपनि त्यसपछि एजेन्ट सम्पर्कविहीन भएको इन्द्रबहादुरले बताए ।
एजेन्टको नाममात्र थाहा भएको इन्द्रबहादुरलाई त्यही नाम पनि सही हो या होइन भन्नेसम्म पनि जानकारी छैन ।
उनले भने, ‘घर गोर्खा हो भनेर साथीले भनेका थिए, तर गोर्खा कुन ठाउँ हो अथवा गोर्खा हो होइन केही थाहा छैन । साथीको माध्यामबाट एजेन्टलाई चिनेको बताउने इन्द्रबाहादुरले साथी र आफू दुबैको पैसा खाएर एजेन्ट सम्पर्कविहीन भएको बताए ।
‘एजेन्टलाई दिएको पैसा सम्झदा पनि मुटु पोल्छ । त्यही मन भुलाउन अहिले भाडाको पोखरीमा माछापालन गरिरहेको छु । गाउँको दुःख अनि साथीभाई विदेश गएर केही कमाएर फर्किएपछि मलाई पनि जाऊ जाऊजस्तो लाग्यो, तर मलाई ऋणमा डुब्न लेखेको रहेछ’ उनले भने, ‘भयो अब त कहिल्यै पनि विदेशको नाम पनि उच्चारण गर्दिनँ ।
हिमालयन सामुदायिक विकाश मञ्च हिकोडेफद्वारा सञ्चालित सुरक्षित आप्रवाशन सूचना तथा परामर्श केन्द्र कावासोती नवलपरासीमा सहयोगको लागि आएका इन्द्रबाहादुरको साथमा एजेन्टलाई पैसा दिँदा आईएमईमार्फत दिएको रसिद छ । एजेन्टले आईएमई गर्दा अरु व्यक्तिको नाममा पैसा राख्न पठाएको उनले बताए ।
ठगी गर्ने उद्देश्यले नै अरु व्यक्तिको नाममा पैसा राख्न पठाएर उसले पैसा लिएर भागेको हुन सक्ने सूचना तथा परामर्श केन्द्रले जनाएको छ । यस्ता केशमा पीडकको सम्पर्क ठेगाना केही पनि नहुने भएकाले पीडितले न्याय पाउन मुस्किल हुने केन्द्रका संयोजक खगराज गौतमले बताए ।
उनले यस्ता खालका ठगी गाउँघरमा धेरै रहेकाले सूचना तथा परामर्श केन्द्रबाट अरुको लहैलहैमा विदेश जानको लागि पैसा नदिन र चिनेजानेको आधारमा पैसा नफसाउन गाउँघरमा विभिन्न कार्यक्रममार्फत जानकारी दिने काम भइरहेको बताए ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment